लकडाउनको सय दिन पुरा, नेपालमा कोरोना परीक्षण दक्षिण एसियाकै बढी – स्वास्थ्य मन्त्रालय

नेपालखोज २०७७ असार १७ गते २०:२२

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा गरिएको लकडाउनको आज सय दिन पुरा भएको छ । नेपालमा दोस्रो कोरोना संक्रमित देखिएलगत्तै यसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत्र ११ गते देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको थियो । असार १ गतेदेखि लकडाउनलाई केही खुकुलो बनाइएको थियो । यो मोडालिटीलाई पुनः साउन ७ गतेसम्म कायम राख्ने निर्णय सरकारले गरेको छ ।

आज लकडाउनको सय दिन पुगिरहँदा स्वास्थ्य मन्त्रालयले यो अवधिमा कोरोना रोकथाम तथा नियन्त्रणका निम्ति गरेका प्रयासहरु र भविष्यमा कोरोना संक्रमितहरु बढ्दै गएको खण्डमा गर्ने कार्यबारे मन्त्रालयले तयारी गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले १५ असारपछि दैनिक १० हजारको हाराहारीमा कोरोना परीक्षण गरिने बताएका थिए । हाल मुलुकमा दैनिक ७ हजारको हाराहारीमा कोरोना परीक्षण भइरहेको र अबको केहि दिनमा नै १० हजार पुर्याउने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

पहिलो पटक कोनोरा परीक्षणका लागि हङकङ पठाएको नेपालले हाल २ लाख १७ हजार बढी पिसिआर परीक्षण गरिसकेको छ । एउटा पनि परीक्षण नहुने देशमा हाल ७ हजारको हाराहारीमा परीक्षण भइरहेको छ । दक्षिण एसियाली देशमा सबैभन्दा बढी नेपालमा कोरोना परीक्षण भइरहेको पनि प्रवक्ता डा. गौतमले दावी गरेका छन् ।

त्यस्तै, सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा हालसम्म १० हजार १ सय ३० जनाको कोरोना परीक्षण भइसकेको छ र ती मध्ये ८ सय ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोरोना परीक्षणको रिपोर्ट ढिलो आएको भन्दै परीक्षण रिपोर्ट नआउँदै गइसकेका व्यक्तिमा पुनः कोरोना पोजेटिभ देखिएको गुनासो आइरहेको छ । सेती अञ्चल अस्पतालको परीक्षण क्षमता नै कम भएकाले रिपोर्ट ढिलो आउने गरेको सेती प्रादेशिक अस्पातालका प्रवक्ता डा. दिलिप श्रेष्ठले बताएका छन् ।

२ जना मात्रै कोरोना संक्रमित देखिँदा त्रसित बनेका नागरिक अहिले भने कोरोनालाई सामान्य रुपमा लिन थालेका छन् । कोरोना मानिसबाट मानिसमा सर्ने भएकाले सामाजिक दुरी कायम गर्न अवश्यक हुन्छ । तर, यतिबेला नागरिकले सामान्य दुरी कायम गर्नेदेखि मास्क लगाएकोसम्म पाइँदैन । विश्व स्वास्थ्य संगठनले नै नेपालमा कोरोनाको महामारी फैलिन सक्ने जोखिम रहेको बताउँदै आएको छ । यो अवस्थामा सरकारले अझै परीक्षण दायरा बढाउँदै लैजानु पर्छ भने आम नागरिले पनि सरकारको मात्रै भर नपरेर आफँैमा सजकता अपनाउन जरुरी छ ।

प्रतिक्रिया