बिहीबार, चैत १५, २०८०

ऊ मेरा लागि बाटोमा भेटेको बटुवा जस्तै भयो

नेपालखोज २०७७ फागुन ८ गते ११:००

बसका साथीसँग हाँसेर बोलेको रमाइलो गरेको मैले हेरेको थिए । अनि मुख बंग्याउँदै भने, अनि हेर्नु चाहीँ किन नि ? तिम्रो डिम्पल मन पर्यो । अझ धेरै तिम्रो नाक मन पर्यो । खुब थाहा छ तपाईलाई । उमेरले गर्दा पनि होला, म मख्ख पर्न लागे । मनमनै अरु पनि प्रसंशा गरे हुन्थ्यो जस्तो लाग्यो । तर, उनले गरेनन् ।

थानकोटमा हावाको वेग बढ्न लाग्यो । हावासँगै वेमौसमी फुलका पातहरु मज्जाले हल्लिरहेका थिए । पातमात्र हैन फुलहरु पनि एक अर्कालाई धक्का दिँदै थिए । बोटमा हुन्जेल राम्रा देखिएका फुलहरु भुइँमा झरेपछि हावाको माध्यमबाट पर पर पुग्दै थिए । त्यो मनमोहक दृश्यमा म हराएको थिएँ ।

अलि पर गुलाबका फुलहरु ढकमक्क फुलेका थिए । मेरो सानो उचाईका कारण मैले टिप्न सकिरहेकी थिइन । हावा मन्द हुँदै थियो । गुलाबको बोटले आफ्नो कम्मर मर्काउँदै थियो । मैले ती गुलाबका फुललाई एकोहोरो हेरिरहेको समीरले याद गरेछ क्यारे, उ फुल टिप्न गयो । पख्नुस् भन्न नपाउँदै फुल टिपिहाल्यो । एक मन खुसी थियो फुल पाएकोमा, अर्को मन दुखी थियो बोटमा फुलको अस्तित्व नरहेकोमा ।

फेरी समीरले अर्को तरिफ गर्न लाग्यो, तिम्रो सुन्दरताको अघि यसले पनि आफ्नो लाज लुकाउनुपर्छ । यो तारिफले म मख्ख परें । केही क्षणमै उसको हातबाट रगत झरेको देखें । म डराएँ । तपाईको हातबाट रगत आइरहेको छ । उसले छोड्देउ केही होइन भन्यो । मैले हतारहतार रुमाल झिकें र दिएँ ।

स्कुल फर्किनको लागि माइकबाट ठूलो अनाउन्स हुन लाग्यो । उ त्यहीँ बस्यो । म भने पिकनिक स्पटतर्फ लागे । सबै विद्यार्थीहरुलाई बसमा जानका लागि भनियो । हामी लाइन बसेर बसभित्र छिर्यौं । त्यसपछि समीर र मेरो बोलचाल त भएन तर आँखाबाट इसाराले कुरा हुन थाल्यो । करिब एक डेढ घण्टासम्म यसरी नै हेराहेर भयो । मलाई यो समय कहिले पनि नसकिए हुन्थ्यो जस्तो भयो । अन्त्यमा स्कुल आइपुग्यो । सबैजना बसबाट झरे । समीरलाई देखेपछि मेरो हात आफैं उठ्यो र बाई भनें । उसले पनि हात हल्लाउँदै बाई भन्यो । गाडी बनेपा तिर हुँइकियो । उसको हातमा मेरो रुमाल फररर उडिरहेको थियो । रुमाल दिएको व्यक्तिसँग पुनः भेट हुन्न भन्थे । कतै हाम्रो भेट हुन्छ कि हुन्न । मनमा शंकाको ठूलो ढुंगाले थिचेको थियो । समीरले दिएको फुल किताबको बीचमा राखेको थिए । उ मेरा लागि बाटोमा हिँड्दा भेटेको बटुवा जस्तै भयो । एक छिन सहयात्री भयौं । थोरै थोरै घटनाले दिमागमा ठाउँ पाउँदा उसले पनि मेरो ठाउँ पायो । कहिले फोन नगर्ने मान्छेको नम्बर फोनमा सेभ भएजसरी उ पनि मेरो मनमा सेभ भइरह्यो ।

एसइई नजिकै आउँदै गरेकाले दिनरात नभनी पढ्नमा नै आफूलाई केन्द्रित गर्न लागें । यदि रातो रंगको गाडी आयो भने सबैभन्दा पहिला मेरो ध्यान खलाँसीमा जान्थ्यो । उ मेरो लागि बाटोमा भेटिएको पैसा जस्तो थियो । भेटिहाले उत्पात खुसी । तर, भेट्ने सम्भावना निकै दुर्लभ । उ इन्द्रेणी जस्तो थियो । कुन बेला सप्तरंगीले आकाश रंगीन बनाउँछ त्यो थाहा नहुने ।

१६÷१७ वर्षको उमेर, हरेक कुरा मन पराउने । आफैं सरल सम्पन्न छु भन्ने विश्वास गर्ने । सौन्दर्यमा बढी रुचि राख्ने । विपरित लिंग प्रति आकर्षित हुने । हरेक कुरामा हाँस्नुपर्ने । यो मेरो उमेरको माग थियो । यही उमेर स्तरको सोच । त्यसमाथि हामी केटीहरुको कुरा नै त्यस्तै हुन्थ्यो । हुल भेट्नै नहुने, केटाकै कुरा बढी हुने । हेर हेर त्यो केटा कस्तो ट्यापे जस्तो देखिएको । उ हाम्रो कक्षाको सुमन हेरन कति सोझो छ । पढाइमा पनि उत्तिकै ट्यालेन्ट छ । फेरी अर्कीले कुरा आउँथ्यो । उ त्यो राम जस्तो केटा पाए पो । कति धेरै माया गर्छ सितालाई । सिताले मतलब गर्ने हैन । त्यो राम अनि माया, गर्छ खुब माया गर्छ । त्यसले सब नाटक देखाको हो । बरु त्यो भन्दा सुमन नै ठिक छ, कति हँसिलो र ह्यान्ड्सम छ । बीचमा सीमा कराउँछे । छ तेरो सुमन सोझो एक नम्बरको स्याल छ त्यो । मलाई नि प्रपोज गर्थ्यो । अनि त्यो ९ कक्षाको बहिनीलाई पनि प्रपोज गर्या रैछ ।
क्रमशः……

प्रतिक्रिया