शनिबार, वैशाख १३, २०८२

केन्द्रीय कार्यालय भवन निर्माणका लागि राष्ट्रिय सहकारी बैंकले बनायो कार्यदल

नेपालखोज २०७७ चैत १० गते २१:२१

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले केन्द्रीय कार्यालय भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ । बैंकको १७ औं वार्षिक साधारणसभाले जग्गा खरिद गरी भवन निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरे लगत्तै जग्गा खरिद गरेको बैंकले केन्द्रीय कार्यालय भवन निर्माणका लागि कार्यदल गठन गरेको हो ।

बैंकका सञ्चालक रामहरि बजगाईको संयोजकत्वमा गठित भवन निर्माण कार्यदलमा सञ्चालकहरु ज्ञानबहादुर तामाङ, पार्वती थापा र केदार मानन्धर सदस्य रहेकाछन । सञ्चालक समितिको बैठकले गठन गरेको कार्यदलको सदस्य सचिवमा वैंकका प्रवन्धक मोहनबहादुर कार्की रहेकाछन । बैंकले काठमाडौंको टेकुमा २ रोपनी १ आना २ पैसा क्षेत्रफलको जग्गा २० करोड ६० लाख २५ हजार रुपैयामा खरिद गरेको थियो ।

आफ्नो केन्द्रीय कार्यालयको भवन निर्माण गरेर बैंकका सेवालाई थप प्रभावकारी रुपमा अगाडि बढाउनका लागि धेरै पहिलेदेखि पहल गर्दै आएका थियौ, यसपटक जग्गा खरिद गरी भवन निर्माण कार्य अगाडि बढाउने निर्णय गरिएको छ, बैंकका अध्यक्ष के.बी.उप्रेतीले भने–‘अब छिटै बैंकको आफ्नै केन्द्रीय कार्यालयको भवन निर्माण गरेर त्यहिबाट सेवा सञ्चालन गर्नेछौ ।’

६८ शाखामार्फत देशभरका सहकारी संघ संस्थाहरुलाई सेवा प्रदान गर्दै आएको बैंकमा हाल करिव १३ हजार सहकारी संघ संस्था शेयर सदस्य रहेका छन् । बैंकमा २ अर्ब ८५ करोड शेयर पूँजि, ६० अर्ब निक्षेप र ३३ अर्ब कर्जा लगानी रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।

बैंकले वित्तीय सेवासंगै सहकारी संघ संस्थाहरुको संस्थागत विकास, सहकारी शिक्षा सहकारीकर्मीहरुको क्षमता विकास, नेतृत्व विकास लगायत सहकारीको सुशासनलाई व्यवस्थित गराउने उद्देश्यसहित तालिम तथा स्तरीकरण कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया