बिहीबार, चैत १५, २०८०

योग दर्शन र यसको विवेचना

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ चैत १४ गते १४:००


योग शब्दको सामान्य अर्थ जोड्नु भन्ने हो । योगदर्शनको भाषामा भने (योगश्चित्तवृत्ति निरोधः) चित्तलाई निरोध वा नियन्त्रण गरी आत्मातर्फ लैजाने मार्ग हो । त्यो सिकाउने दर्शन योग दर्शन हो । यस दर्शनको सुरुवातको स्वरुप र पछिल्ला स्वरुपमा केही भिन्नता देखिए तापनि मूलतः योग अभ्यासद्वारा चित्तवृत्तिलाई सफा गरेर मुक्तितर्फ उन्मुख हुने कुरामा भने सबैतिर एकै मत रहेको पाइन्छ । खैर, आजको दिनमा मुक्तिसम्म योगाभ्यासद्वारा पुगिएला नपुगिएला तर शारीरिक तन्दुरुस्ता एवं स्वस्थ रहन योगले मद्धत गर्ने कुरामा भने कुनै पनि विवाद रहेको छैन । निरन्तर अभ्यासबाट चित्त एकाग्र हुन गएमा मुक्तिसम्मको मार्ग पनि योग मार्फत् पहिल्याउन सकिन्छ भन्ने मत योगदर्शनको रहेको छ ।


योगदर्शनले सांख्य सिद्धान्तमीमांसा दर्शनका पच्चीस तत्वहरुलाई पच्छ्याएको छ । अतः सांख्य दर्शन , मीमांसा दर्शन र योग दर्शनलाई हामीले एक अर्काका पूरकको रुपमा हेर्नुपर्दछ । सांख्य दर्शन सिद्धान्तको प्रयोगात्मक दर्शन नै योगदर्शन हो । सांख्य दर्शनले हामीलाई सिद्धान्तको जानकारी दिन्छ भने त्यसको व्यावहारिक पक्षको उद्घाटन योगदर्शनले गराउँछ तर सांख्य अनीश्वरवादी दर्शन हो भने हाल प्रचलित योग दर्शन भने ईश्वरवादी दर्शन हो । सिद्धान्ततः योग र सांख्यमा भिन्न मत नहुनाले हामीले यो अनुमान गर्न सक्छौं कि सुरुवातका दिनमा योग पनि अनीश्वरवादी दर्शन थियो , कालान्तरमा भने यसले ईश्वरलाई पच्छ्याउन पुग्यो । त्यसै कारण आज प्राप्त योग दर्शनमा सांख्यभिन्न ईश्वरवादी मत प्राप्त भएको हो ।


वस्तुतः योग शारीरिक क्रियाहरुमार्फत् असाधारण शक्ति आर्जन गर्न सकिने दर्शन हो । सिन्धु सभ्यताका प्राचीन अवशेषहरुमा योग मुद्राहरु अङ्कित हुनू ,उपनिषद्हरुमा पनि योगको चर्चा हुनुले ईशापूर्व तीन शताब्दी अघिदेखि नै हाम्रा पूर्वजहरु योगक्रियाहरुमा अभ्यस्त एवं पारङ्गत रहेको सजिलै अनुमान गर्न सकिन्छ । योगलाई सनातन मान्यताका पूर्वजले मात्र अँगालेका थिएनन् अपितु बुद्ध र महावीरहरुले पनि योग साधना गरेको कुरा बौद्ध ग्रन्थ एवं जैन ग्रन्थहरुबाट पत्ता लगाउन सकिन्छ । वादरायणको ‘ब्रह्मसूत्र’, कणादको ‘वैषेषिकसूत्र’, एवं गौतमको ‘न्यायसूत्र’मा पनि योगको चर्चा हुनुले योग दर्शन भिन्न बिचार बोक्ने सबैको साझा चौतारी रहेको प्रष्टै देखिन आउँछ । कुनै जाति धर्म र पक्षको पक्षपोषण नगर्ने हुँदा योगदर्शन सबैको साझा सिद्ध हुन गएको हुनसक्छ ।


वर्तमान समयमा पनि योगको गरिमा र महत्व त्यही सझापनले मौलाएको हो । नभए केही सीमित व्यक्ति वा समाजसँग मात्र त्यसको निकटता हुनाले अन्य दर्शन जस्तै सीमाङ्कित हुन पुग्थ्यो भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ । धेरै समुदायले अपनाउन सक्ने बिचारको नाश कुनै पनि समयमा नहराउने कुरा हामीले योग दर्शनको व्यापकताबाट सिक्नुपर्दछ । प्राचीन समयमा दक्षिण एसियामा मात्र सीमित भए तापनि आज योग विश्वकै एक सम्पदाको रुपमा परिचित छ । यसको लागि हामीले हाम्रा पूर्वजलाई धन्यवाद दिनुपर्ने हुन्छ ।


चारैतिर छरिएर रहेको योग दर्शनलाई पहिलो ग्रन्थको रुप दिने व्यक्ति महर्षी पतञ्जली हुन् । उनको ग्रन्थ ‘पातञ्जल योगसूत्र’ को नामले प्रचलित छ । वर्तमानमा योगका बारे जति पनि किताबहरु लेखिएका छन् त्यसको आधारशीला भने पातञ्जल योगसूत्र नै हो । योगका प्रवर्तक को हुन् भन्ने कुरा विवादको विषय भए तापनि पहिलो ग्रन्थकारका रुपमा पतञ्जली देखा पर्नुले धेरै विद्वान्हरुले पतञ्जलीलाई नै योगदर्शनको प्रवर्तक मान्ने गर्दछन् । उनको समयका विषयमा पनि सबैको एक मत त छैन तर ईशापूर्व पाँचौ शताब्दीदेखि तेस्रो शताब्दी बीचमा उनको समय रहेकोमा भने विवाद छैन । योगसूत्रको व्याख्या ‘व्यास भाष्य’ वेद व्यासकै हो वा व्यास कुनै पदवी थियो भन्ने प्रश्नहरु खडा भए तापनि यी विवादमा अल्झिएर समय खेर फाल्नु आवश्यक ठानिएन । बरु बर्तमानमा योगको व्यापकता हुनुमा पतञ्जली र व्यास दुबैलाई धन्यवाद दिएर अघि बढ्नुमा अगाडिका बाटोहरु प्रशस्त होला ।


योग दर्शनले प्रमाणहरुलाई तीन रुपमा हेर्दछ १.इन्द्रिय प्रत्यक्ष प्रमाण ( पाँच ज्ञानेन्द्रियद्वारा प्राप्त हुने ज्ञान )। २. अनुमान प्रमाण ( अनुमानद्वारा हुने ज्ञान ) ३.आगम प्रमाण या आप्तवचन प्रमाण (वस्तुगत साक्ष) ।


योगमा ज्ञान प्राप्तिको आठ चरणहरु हुन्छन् । ती यम, नियम , आसन , प्राणायाम , प्रत्याहार ,धारणा ध्यान र समाधि नामले परिचित छन् । यम भन्नाले सत्य बोल्नू , हिंसा नगर्नू , चोरी नगर्नू ,ब्रह्मचर्यमा रहनू र आवश्यकता भन्दा बढी धन सञ्चय नगर्नू भन्ने बुझिन्छ । नियम भन्नाले शौच स्नान तप आदि नित्यकर्महरु पर्दछन् । आसनमा विभिन्न योगका शारीरिक व्यायाम र बस्ने तरिकाहरु पर्दछन् । प्राणायाम भन्नाले श्वास प्रश्वासलाई नियन्त्रयण गर्नूलाई बुझिन्छ । प्रत्याहार भन्नाले इन्द्रियहरुलाई वासनाहरुबाट टाढा राख्ने कार्यलाई बुझ्नुपर्दछ । धारणा भन्नाले मनलाई चञ्चल हुनबाट रोक्ने कार्यलाई बुझ्नुपर्दछ । ध्यान भनेको स्वयंले चाहेको ईश्वरमा चित्त एकाग्र गर्नु हो । समाधिको अर्थ चित्त एकाग्र भई बाह्य वस्तुबाट टाढा रही मुक्त हुनु वा आत्मसाक्षात्कार गर्नू हो ।


योग दर्शनले ईश्वर प्राप्तिलाई आत्मोपलब्धिको सर्वोच्च वस्तु माने तापनि वर्तमानमा योग गुरुहरुले शारीरिक व्यायाम ,आसन र प्रणायामलाई मात्र सिकाउने गर्दछन् । शरीरलाई सुख दिन र स्वस्थ रहन मात्र योग गर्ने रुपमा भए पनि योगको प्रचार प्रसार हुनु गौरवको विषय हो । आउने वर्षहरुमा ईश्वर प्राप्तिका अन्य चरणहरुको पनि अभ्यास एवं चर्चा अवश्य नै हुनेछ भन्ने आशा राखौं ।

प्रतिक्रिया