मैनबत्ती
युवराज गौतम
२०७८ असार २६ गते ८:००

बुद्धजस्तो ध्यानमग्न
निःशब्द, शान्त, मनोहर
अन्धकारको साम्राज्यमा एक्लो
म जस्तै जलिरहेको छ मैनबत्ती
ज्योतिर्मय छ ऊ देदीप्यमान प्रदीप्त
आलोक छर्छ ऊ सन्तुष्ट छ शायद
म किन जल्दैछु थाहा छैन ।
एउटा मैनबत्तीको अन्त्यपछि
सजिलै बिर्सिन्छु म त्यो पुरानो कथा
अन्धकारमा साथी थियो मैनबत्ती
पुनः बाल्छु म अर्को मैनबत्ती
र, उज्यालोमा रमाउँछु ।
थाहा छैन म जलिसकेपछि
कसले बाल्छ
मेरो सम्झनामा एउटा मैनबत्ती
सम्बन्धित
प्रतिक्रिया