बिहीबार, वैशाख १३, २०८१

‘आमा खाँन्डो’ बन्यो बेस्ट फिचर फिल्म

नेपालखोज २०७८ साउन १७ गते २०:१९

काठमाडाैं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार भएको उक्त कार्यक्रममा सात वटा राष्ट्रिय पुरस्कार तथा नेपालले जीतेको एउटा अन्तर्राष्ट्रिय पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दहालले वियजी चलचित्र तथा चलचित्रकर्मीहरुलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

नेपाली फिचर फिल्म प्रतियोगिता अन्तर्गत बेस्ट फिचर फिल्म अवार्ड ‘आमा खाँन्डो’ले नगद पुरस्कार एक लाखसहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै वेष्ट पेन्डेमिक फिल्म अन्तर्राष्ट्रिय प्रतिस्प्रर्धामा पुरस्कृत ‘सिभिल सोल्जर’को लागि गणेश पाण्डेले नगद पचास हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।

यसैगरी नेपाली सर्ट फिल्म प्रतियोगिता अन्तर्गत राजेशप्रसाद खत्रीको अ स्केयरक्रोले बेस्ट सर्ट फिल्म अवार्डमा नगद पचास हजार र ट्रफी प्राप्त गरेको छ । पुरस्कार वितरण कार्यक्रममा वेष्ट सिनेमाटोग्राफि नेशनल फिचर फिल्म – शिरिस गुरुङ (लाटो कोसेरो), वेष्ट स्क्रिन प्ले नेशलन फिचर फिल्ममा – सेर्गियो बासो (सरिता – टेल मि हु एम आई ), वेष्ट एक्ट्रेस नेशनल फिचर फिल्ममा सरिता गिरी ( लाटो कोसेरो), वेष्ट एक्टर नेशनल फिचर फिल्ममा नविन सिल्पकार (लाटो कोसेरो) ले ट्रफी तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

अवार्ड वितरण कार्यक्रमा बोल्दै प्रमुख अतिथि दयाराम दहालले कोरोनाको कारण नेपाली चलचित्र गम्भिर अवस्था रहेको भन्दै यस क्षेत्र पुनः स्थापित गर्न सम्पुर्ण रुपले आफू लागि परेको बताएका छन् । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव नेपालको एक मात्र प्रतिनिधिमुलक अन्तर्राष्ट्रिय अवार्ड भएकोले सबै नेपाली चलचित्रकर्मी साथ दिनुपर्ने उनले बताए ।

त्यस्तै कार्यक्रम निफका संयोजक केपी पाठकले चौंथो संस्करण विजयी चलचित्रकर्मीहरुलाई बधाई दिंदै आफ्ना केही तिता अनुभव पनि सयर गरे । विशेष गरेर नेपाली चलचित्रकर्मीले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन उदासिनता देखाएको भन्दै उनले दुखेसो पोखेका छन् ।

पाठकले पाँचौ निफमा चौथोमा जस्तो फिचर फिल्म प्राप्त गर्न दुस्ख नहुने आशा व्यक्त गर्दै अन्तर्राष्ट्रियरुपमा ख्याती कमाई रहेको यो महोत्सव नेपाली चलचित्रकर्मिको लागि पनि महत्वपूर्ण प्लेटफोर्म भएको र अन्तर्राष्ट्रिय बजारिकरणका लागि पनि महत्वपूर्ण रहेको हुँदा यस महोत्सवमा सम्पूर्ण नेपाली चलचित्रकर्मी र क्षेत्रले सक्रिय सहभागीता जनाउनु पर्ने बताए ।

साथै उनले यो महोत्सवलाई आफ्नो महसुस गर्दै उक्त अबसरको सदुपयोग गर्न पनि आग्रह गरेका छन् । यसैगरि जुरी सदस्यको तर्फबाट राजभाइ सुवालले यो महोत्सवका अन्य अन्तर्राष्ट्रिय जुरीहरुसँगको सहकार्यको अनुभव साटेका थिए । कोरोना महामारीका कारण भर्चुअल रुपमा गत बैशाख २३ देखि २७ सम्म सम्पन्न भई अवार्ड घोषणा भएको थियो ।

भर्चुअलरुपमा भएको कारण पुरस्कार वितरण हुन सकेको थिएन । तर कोरोना केही कम भई सरकारले पनि केही गतिविधि खुला गरेको कारण चौंथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) पुरस्कार वितरण समारोह सरकारी पोर्टोकलको पालना गर्दै सिमित व्यक्तिहरुको उपस्थितिमा गरिएको होे ।

त्यस्तै, विश्वका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ आयोजना हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौं संस्करणको आवेदन खुल्ला गरिएको औपचारिक रुपमा घोषणा पनि गरिएको छ ।www.niff.org.np or filmfreeway.com/niff2022 बाट गत असार १७ (जुलाई १, २०२१) गतेदेखि नै आवेदन खुल्ला गरिएको हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्रकर्मीहरुले २०७८ पौष १० (डिसेम्बेर २५ , २०२१) गतेसम्म आफ्ना चलचित्र तथा वृत्तचित्र आवेदन दिन सक्ने छन् ।

त्यस्तै २०७८ माघ ११ (जनवरी २५, २०२२) गते छनौट भएका चलचित्रहरुको घोषणा गरिनेछ । निफको पाँचौ संस्करण २०७८ चैत्र १० देखि १४ (२०२२ मार्च १० देखि १४ मार्च) गतेसम्म हुनेछ ।

प्रतिक्रिया