बिहीबार, वैशाख १३, २०८१

एसईईको नतिजापछि उठेका प्रश्न

नेपालखोज २०७८ साउन २४ गते १०:००

विश्वव्यापी महामारी कोभिडबाट दुस्प्रभावित क्षेत्रमा उद्योग-व्यवसायका अतिरिक्त शैक्षिक क्षेत्र पनि प्रमुख हो । मुलुकको भावी पुस्ता र समग्र मुलुककै भविष्यसँग गासिएको यो क्षेत्र अहिले लथालिंग र अन्योलग्रस्त छ । बितेका दुई शैक्षिकसत्रदेखि नियमित पठनपाठन हुननसक्नु तथा परीक्षाहरुसमेत नियमित नहुनुले भविष्यको कर्णधार मानिने पुस्ता क्रमश: अन्धकारतर्फ धकेलिँदै गएको मात्र छैन यो पुस्ताको शैक्षिक गुणस्तरमा समेत प्रश्न उठ्ने ठाउँ बन्दै गएको छ भने यो क्षेत्रलाई धान्ने तमाम प्रयासहरु कमजोर साबित हुँदै गएका छन् ।

शैक्षिक क्षेत्रमा बढ्दै गएको अराजकता, अन्योल, दुर्भाग्य आदिको सानो उदाहरण एसईईको नतिजा पनि हो जसले हाम्रो भावीपुस्ताको गुणस्तरलाई नराम्रोसँग दुस्प्रभावित तुल्याउने स्पष्ट संकेत दिएको छ । कोरोना महामारीका कारण आन्तरिक मूल्यांकनमा भर पर्नुपरेको वर्तमान परिस्थितिमा त्यस्तो मूल्यांकन बढी पारदर्शी र विश्वसनीय हुन जरुरी छ ।

शिक्षाको उद्देश्य योग्य, दक्ष र सक्षम नागरिक उत्पादन हो, सर्टिफिकेटधारी अयोग्य जमातको भिड खडा गर्नु पक्कै होइन । यद्यपि कोभिड महामारीको वर्तमान परिस्थितिमा एकातिर नियमित पठनपाठन नहुनाले विद्यार्थीहरुको स्तर उन्नतिमा प्रश्न चिह्‍न त लागेकै छ । त्यसमाथि परीक्षामा समेत अस्वभाविक नम्बर दिएर प्रणालीकै खिल्ली उडाउने काम मात्र भएको छैन यसबाट हामीले कस्ता कर्णधार तयार गरिरहेका छौं गम्भीरतापूर्वक चिन्तन गर्नुपर्ने पनि भएको छ ।

यस्तो परिस्थितिमा हातमा नम्बरको भारी भएको सर्टिफिकेट बोकेको अदक्ष र अयोग्यपुस्ता तयार हुने खतरा मात्र छैन स्वयं यो कालखण्डको पुस्ताको भविष्यसमेत खतरामा पर्ने निश्चित छ । भोलि यो कालखण्डको पुस्ताकै योग्यतामाथि प्रश्न खडा हुने परिस्थिति सिर्जना हुनु निश्चय पनि दुर्भाग्यपूर्ण हुनेछ । सीप, सिकाइ र व्यवहारको साटो अस्वभाविक नम्बरका साथ कक्षा मात्र चढाउने कामले प्रतिस्पर्धी संसारमा पौडन नसक्ने जमात मात्र वृद्धि गर्छ भन्ने हेक्का सम्बद्ध सबैले राख्नैपर्छ ।

कुरा एसईईको नतिजा र त्यसले उठाएको प्रश्नको मात्र होइन, हामीले यतिबेला शैक्षिक क्षेत्रमा अवलम्बन गरेको नीति, मूल्यांकन पद्धति, नियमन र अनुगमन आदिको पुनरावलोकन गर्दै यसलाई अझ परिस्कृत अनि परिमार्जित गर्दै जाने आवश्यकताको कुरा पनि हो । यदि शैक्षिक क्षेत्रको मूल्यांकन प्रणालीमै अराजकता र अव्यवस्था व्याप्त हुने हो भने राम-राम मात्र भन्न सकिन्छ ।

प्रतिक्रिया