मंगलबार, वैशाख ११, २०८१

राप्रपाको नेतृत्व परिवर्तनले दिएको सन्देश

नेपालखोज २०७८ मंसिर १९ गते १४:१९

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन गरी एउटा नयाँ नेतृत्व छनोट गरेको छ । यसले नेतृत्वमा पुस्ता हस्तान्तरणको सन्देशसमेत दिएको छ । धेरैका लागि राप्रपाको यो निर्वाचन परिणाम अप्रत्याशित रुपमा पनि आएको छ । यद्यपि पार्टीको सर्वोच्च निकायले दिएको विधि सम्मत निर्णय सबैका लागि स्वीकार्य हुनुपर्छ र सबैले कार्यकर्ताहरुको यही आदेश पालन गर्दै अघि बढ्नुको विकल्प पनि छैन ।

राप्रपाको यो अधिवेशन र यसले देखाएको बाटो ऐतिहासिक त छँदै छ यसले राष्ट्रिय राजनीतिमा समेत दूरगामी प्रभाव पार्नेछ । यसले अरु राजनीतिक दल र नेतृत्वलाई समेत केही शिक्षा दिएको छ । राप्रपाको यो अधिवेशनले कमल थापालाई अध्यक्षमा अस्वीकार गरेर केही गहन सन्देश पनि दिएको छ ।

प्रमुख कुरा त राप्रपाले आफूलाई नयाँ ढंगले अघि बढ्न तयार गरेको छ । केन्द्रीय नेतृत्वमा देखिएका नयाँ अनुहारले के स्पष्ट सन्देश दिन्छ भने समयसँगै परिवर्तन अवश्यम्भावी छ । राप्रपाले पाएको यो नयाँ नेतृत्वबाट पार्टीले नयाँ जीवन प्राप्त गर्दै राष्ट्रिय राजनीतिमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सकोस् भन्ने शुभकामना ।

राप्रपाले लिएको यो नयाँ बाटो को भविष्य के होला वा पार्टी एकता कतिसम्म कायम रहला भन्ने विषयमा अहिले नै प्रश्न नउठेको भने होइन । यद्यपि यो राजनीतिक दलले हालका लागि कमल थापाजस्ता अवसरवादी प्रवृत्तिबाट मुक्ति पाएको छ तर आफ्नो स्वार्थका लागि जेसुकै गर्ने थापाको विगत हेर्दा उनले यो पार्टीको एकता कति टिक्न दिन्छन् भन्ने कुरामा पनि संशय छ ।

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएपछि परम्परागत रुपमा राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्दै आएको यो पार्टीको भविष्य के हुन्छ वा यसका नीतिहरुमा के-कस्ता परिवर्तन हुनेछन् भन्ने विषयमा पनि धेरैको चासो छ । सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर जबरा, कमल थापाजस्ता पञ्चायती व्यवस्था ताकाकै नेताहरुको नेतृत्वबाट पहिलोपटक राप्रपाको नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको छ । झापाबाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले संसद्‌मा निर्वाह गरेको भूमिका र उनको विगत हेर्दा राप्रपाको आगामी चार वर्ष कस्तो रहनेछ भन्ने अनुमान लगाउन गाह्रो पर्दैन । लिङ्देनले सांसदका रुपमा प्रखर भूमिका निर्वाह गरेको सम्झनेहरुले राप्रपाले जनजाति समुदाय यी युवाको नेतृत्वमा थप बल पाउनेछ भन्ने कुरामा सन्देह गरेका छैनन् ।

उनको नेतृत्वमा राप्रपा राजसंस्था र हिन्दुवादका पक्षमा अझ बलियोसँग अगाडि आयो भने आश्चर्य नमाने हुन्छ किनभने उनको पक्षमा देखिएको कार्यकर्ताहरुको पंक्तिले नै त्यो बाटो तय गरिसकेको छ । कमल थापाले आफू पराजित भएपछि पुराना राजाविरुद्ध विष-वमन गरेर पनि त्यसको संकेत दिइसकेका छन् ।

लिङ्देनका अगाडि थुप्रै चुनौती छन् । पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउने चुनौती त छँदै छ महामन्त्री धवलशमशेर राणाबाहेक आफ्नो प्यानलका सबै पराजित भएको आवस्थामा केन्द्रीय कार्यसमितिलाई नै नियमित रुपमा अघि बढाउन त्यति सहज छैन । लिङ्देनको नेतृत्वमा राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको विषयलाई कसरी अगाडि बढाउँछ हेर्न रोचक नै हुनेछ । अहिलेका लागि भने पुरानो खियापरेको र बदनामी बढी कमाएको परम्परागत नेतृत्वलाई परिवर्तन गरी युवापुस्तामा नेतृत्व ल्याउन राप्रपाका प्रतिनिधिहरुले देखाएको सक्रियता एवं विवेकले अन्य दलहरुमाथि समेत दबाब सिर्जना गरेको छ भने यसले देशले नयाँ नेतृत्व खोजिरहेको स्पष्ट संकेतसमेत दिएको छ भन्नु अत्युक्ति हुँदैन ।

प्रतिक्रिया