शुक्रबार, वैशाख १४, २०८१

‘प्रशासन भनेको आशाको धरोहर हो’

नेपालखोज २०७८ साउन २५ गते ९:५५

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेलधुरा । डडेलधुराको प्रशासनिक नेतृत्व अहिले उमाकुण्ड ३, रामेछापका हरिप्रसाद घिमिरेको काँधमा छ । २०७७ मंसिर २२ गतेदेखि डडेलधुरा जिल्लाको नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घिमिरे कुशल प्रशासकका रूपमा परिचित छन् । जिल्लाको शान्ति–सुरक्षा, वस्तुअवस्थिति, कोरोना संक्रमितको अवस्थालगायत विषयमा प्रजिअ घिमिरेलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । घिमिरेले निजामती सेवामा ३३ वर्ष बिताइसकेका छन् । डडेलधुराका प्रजिअ घिमिरे यसअघि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरणमा कार्यरत थिए । निजामती सेवाप्रति अहिलेको पुस्ता आकर्षित भए पनि अधिकांश प्रविधि क्षेत्रतर्फ गएको प्रजिअ घिमिरेको अनुभव छ । उनले अहिलेको युवापुस्ता निजी क्षेत्रतर्फ झनै आकर्षित रहेको पनि बताए । ‘अहिलेको पुस्तामा निजामती सेवामा आकर्षण त छ । तर यताभन्दा पनि बढी निजी क्षेत्रतिर आकर्षण बढेको छ,’ प्रजिअ घिमिरेको भनाइ छ ।

हाइलाइट्स :

–डडेलधुरामा कोरोनाको अवस्था विगतको भन्दा केही कम भएको छ । निषेधाज्ञा खुकुलो भएकाले, पसलहरू सबै खुलेकाले केही बढेको अवस्था भने छ ।
–हिजो (साउन २३ गते शनिबार) को रेकर्डअनुसार सक्रिय कोरोना संक्रमितको संख्या ६६ छ । अस्पतालमा आठजना उपचाररत हुनुहुन्छ भने बाँकी होम आइसोलेसनमा हुनुहुन्छ । जनस्वास्थ्य र स्थानीयतहसँग को–अर्डिनेसन गरेर परीक्षणको दायरा बढाउन खोजिरहेका छौं ।
–अहिले डडेलधुरामा केन्द्रबाट लक्षित वर्गलाई आएको खोप लगाउने कार्य पनि भइरहेको छ ।
–सुरुवाती दिनमा कोरोना संक्रमितलाई बिरामीलाई अस्पताल पुर्‍याउन समस्या भयो । अस्पताल लान लैजान हामीले पालिकहरूसँग समन्वय गर्‍यौं ।
–जिल्ला प्रशासन कार्यालयमा विभिन्न समस्या लिएर सेवाग्राहीहरू आउनुहुन्छ । बाहिरबाट हेर्दा नागरिकता र पासपोर्ट दिने अफिस मात्र भनिन्छ । त्योभन्दा कैयौं समस्या र गुनासो लिएर सेवाग्राहीहरू आउनुहुन्छ ।
–हामीलाई के अधिकार छ कानुनले नियमले के भन्छ त्यसको परिधि भित्र रहेर सेवाग्राहीको गुनासो सुनेर फर्स्योट गर्ने हरसम्भव प्रयास गर्छौं ।
–जिल्ला प्रशासन कार्यालय भनेकोे आशाको धरोहर हो । जनताले अत्यन्तै विश्वास गर्नुहुन्छ । अदालत जानुपर्ने मुद्दामा पनि पहिला हाम्रोमा आउनुहुन्छ ।
–कुनै बेला कसैले यस्तो गरिदिए हुन्थ्यो भन्ने कुरा हुन्छ तर कामका दौरान त्यस्तो दबाब नै भने आएको छैन । रिक्वेस्ट गर्नुहुन्छ यस्तो गर्दा के होला भन्नुहुन्छ । सुझाव दिनुहुन्छ ।
–डकुमेन्ट र कानुनी प्रक्रिया नमिलेर केही काम रोकिएका हुन्छन् । त्यसलाई नियमित प्रक्रिया ठान्छु मैले ।
–प्राइमरी स्कुलबाट हाईस्कुलमा जाँदा शिक्षकहरूलाई देखेर शिक्षक नै बन्नुपर्छ भन्ने थियो । काठमाडौंमा कलेज पढ्न आइसकेपछि शिक्षकको भन्दा लोकसेवाको परीक्षा दिन सजिलो भयो त्यो अवस्थामा ।
–अहिलेको पुस्तामा निजामती सेवामा आकर्षण त छ । तर यताभन्दा पनि बढी निजी क्षेत्रतिर आकर्षण बढी छ ।
–म आफ्नो प्रेसाप्रति पूर्ण सन्तुष्ट छु । सन्तुष्ट नभएको भए म अन्तै जान सक्थें बीचमै छोडेर ।
– यो सरकारी सेवा हो इमानदारी भएर जहाँ बसेर काम गर्दा नि हुन्छ ।
– डडेलधुरा ठूलो जिल्ला होइन । सुदूरपश्चिमाञ्चलमा तराईका दुई जिल्लाबाहेक बाँकी सातवटा जिल्लाको केन्द्र हो । शान्ति–सुरक्षाका हिसाबले शान्त छ ।
–जिल्लामा कोभिड संक्रमण अलि बढ्दै गएको छ । सोही कारण यसबाट बच्न सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न पनि सबैमा आग्रह गर्दछु ।

डडेलधुरा जिल्लामा कोभिड संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?
यहाँ कोरोनाको अवस्था सुरुवातको भन्दा केही कम भएको छ । निषेधाज्ञा खुकुलो भएकाले, पसलहरू सबै खुलेकाले केही बढेको अवस्था छ । हिजो (साउन २३ गते शनिबार) को रेकर्डअनुसार सक्रिय कोरोना संक्रमितको संख्या ६६ छ । अस्पतालमा आठजना उपचाररत हुनुहुन्छ भने बाँकी होम आइसोलेसनमा हुनुहुन्छ । जनस्वास्थ्य र स्थानीय तहसँग को–अर्डिनेसन गरेर परीक्षणको दायरा बढाउन खोजिरहेका छौं । केन्द्रबाट लक्षित वर्गलाई आएको खोप लगाउने कार्य भइरहेको छ ।

कोरोना संक्रमितको व्यवस्थापनका क्रममा कस्ता–कस्ता चुनौती आइलागे ?
सुरुको अवस्थामा कोरोना संक्रमितलाई बिरामीलाई अस्पताल पुर्‍याउन समस्या भयो । अस्पताल लान–लैजान हामीले पालिकहरूसँग समन्वय गर्‍यौं । सक्रमित निको भएपछि सामान्य जीवनमा फर्कनुभयो त्यसपछि कुनै समस्या छैन ।

जिल्लामा प्राकृतिक प्रकोप अर्थात् बाढी–पहिरोको प्रभाव कत्तिको छ ?
हाम्रो पहाडी जिल्ला हो । सानोतिनो घटनाबाहेक त्यस्तो ठूलो केही भएको छैन । गत वर्षको पहिरोका कारण आलिताल गाउँपालिकाको दुईवटा वडामा ६०–७० घर करिब–करिब विस्थापित हुने अवस्था छ । यो बर्खामा सामान्यबाहेक ठूलो क्षति छैन ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
जिल्ला प्रशासन कार्यालयमा विभिन्न समस्या लिएर सेवाग्राहीहरू आउनुहुन्छ । बाहिरबाट हेर्दा नागरिकता र पासपोर्ट दिने अफिस मात्र भनिन्छ । त्योभन्दा कैयौं समस्या र गुनासो लिएर सेवाग्राहीहरू आउनुहुन्छ । हामीलाई के अधिकार छ कानुनले नियमले के भन्छ त्यसको परिधिभित्र रहेर गुनासो सुनेर फर्स्योट गर्ने हरसम्भव प्रयास गर्छौं । आफ्नो अधिकारभित्र नपर्ने एक–दुई कुराहरूमा हामीले यो हाम्रो अधिकारभित्र पर्दैन, यो हाम्रो कार्यक्षेत्रमा पर्दैन, यो ठाउँमा जानू भनेर पठाउँछौं । प्रशासन भनेको आशाको धरोहर हो । मान्छेहरूले अतयन्तै विश्वास गर्नुहुन्छ । अदालतमा जाने केसमा पनि सुरुमै हाम्रोमा आउनुहुन्छ । सय प्रतिशत त भन्न सकिन्नँ अधिकांश सेवाग्राही खुसी भएर जानुहुन्छ ।

कामका दौरान कस्ता–कस्ता दबाब आउँछन् ?
कुनै बेला कसैले यस्तो गरिदिए हुन्थ्यो भन्ने कुरा हुन्छ तर त्यस्तो दबाब नै भने आएको छैन । रिक्वेस्ट गर्नुहुन्छ यस्तो गर्दा के होला ? भन्नुहुन्छ । सुझाव दिनुहुन्छ ।

निजामती सेवामा कार्यसम्पादनका दौरान कुनै सेवाग्राहीको काम लामो समयदेखि नसुल्झिएर रहेको जसलाई तपाईंकै पहलमा निकास निकाल्ने गरी गरिदिएको कुनै काम अथवा घटना छ कि ?
त्यस्तो काम त धेरै गरिएको छ । अहिले ठ्याक्कै यही भनेर भन्न सकिन्नँ । कुनै कामहरू डकुमेन्ट र कानुनी प्रक्रिया नपुगेर अड्किरहेका हुन्छन् । म धेरैजसो केन्द्रतिर बसें जिल्लामा धेरै बसेको छैन । डकुमेन्ट र कानुनी प्रक्रिया नमिलेर केही काम रोकिएका हुन्छन् । त्यसलाई नियमित प्रक्रिया ठान्छु मैले । मेरो पहलमा गर्ने त म गरिहाल्छु ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
मेरो घर रामेछाप हो । म प्राइमरी स्कुलबाट हाइस्कुलमा जाँदा शिक्षकहरूलाई देखेर शिक्षक बन्नुपर्छ भन्ने थियो । काठमाडौंमा कलेज पढ्न आइसकेपछि शिक्षकभन्दा लोकसेवाको परीक्षा दिन सजिलो भयो त्यो अवस्थामा । लोकसेवा निष्पक्ष हुने मिहिनेत गरे नाम निस्कन्छ भन्ने भयो ।

निजामती सेवामा अहिलेको पुस्ताको आकर्षण कस्तो छ ?
निजामती सेवामा आकर्षण त छ । यताभन्दा पनि बढी निजी क्षेत्रतिर आकर्षण अलि बढी छ । बैंकिङ आईटी सेक्टरमा आकर्षण बढ्दो छ । समावेशी कोटाहरू भएको कारणले पनि यसमा आकर्षण छ ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म आफ्नो प्रेसाप्रति सन्तुष्ट छु । सन्तुष्ट नभएको भए म अन्तै जान सक्थें बीचमै छाडेर । नयाँ पुस्तालाई के भन्न चाहन्छु भने । यो सरकारी सेवा हो, इमानदारी भएर जहाँ बसेर काम गर्दा पनि हुन्छ ।

डडेलधुरा जिल्लाको शान्ति–सुरक्षाको अवस्था अहिले कस्तो छ ?
यो ठूलो जिल्ला होइन । सुदूरपश्चिमाञ्चलमा तराईका दुई जिल्लाबाहेक बाँकी सातवटा जिल्लाको केन्द्र हो । शान्ति–सुरक्षाका हिसाबले शान्त छ । लागुऔषध यहाँ उत्पादन हुँदैन । यहाँ राजमार्ग पर्ने भएकाले लुकिछिपी ओसारपसार भने हुनसक्छ । हामीले जाँच गरिरहेका हुन्छौं । कहिलेकाहीँ मानिसहरू पक्राउ पनि पर्छन् ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
यहाँले समय दिनुभयो धेरै–धेरै धन्यवाद । जिल्लाको शान्तिसुरक्षाको अवस्था ठीकै छ । कोभिड अलिकति बढ्दै छ । सोही कारण यसबाट बच्न सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सबैमा आग्रह गर्दछु ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि प्रदेश १ को पाँचथरका प्रजिअ पुण्यप्रसाद ढकालसँग कुराकानी गरेका थियौं । यसपटक हामीले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेलधुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।


ढुण्डीप्रसाद निरौला
, प्रजिअ,  ललितपुर – ‘कानुनसम्मत कामका लागि भनसुन गर्नै पर्दैन’

रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – ‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि !’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा – ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जति काम गरें इमानदारपूर्वक गरें’

जीवनप्रसाद दुलाल, प्रजिअ, नुवाकाेट – ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

प्रदीपराज कँणेल, प्रजिअ, सिरहा – ‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

उमेश पाण्डे, प्रजिअ, ताप्लेजुङ – ‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’

रामकुमार महतो, प्रजिअ, कञ्चनपुर – ‘सेवा प्रवाहमा व्यक्तिको स्वभावले पनि प्रभाव पार्छ’

छविलाल रिजाल, प्रजिअ, सुर्खेत – ‘धेरै विकल्प नसोची निजामती सेवामै आएँ’

प्रेमप्रसाद देवकोटा, प्रजिअ, जाजरकाेट – ‘जिल्ला प्रशासन कार्यालयप्रति जनताको एक्स्पेक्टेसन हाई हुन्छ’

चिरञ्जीवी राना, सहायक प्रजिअ, दाङ – ‘जनतालाई सेवा दिने उद्देश्यले निजामती सेवामा प्रवेश गरें’

सागर आचार्य, प्रजिअ, तनहुँ – ‘नियम-कानुन छाड्दैनौं, राजनीतिक दबाबले कार्यसम्पादनमा अप्ठ्यारो परेको छैन’

विष्णु लामिछाने, प्रजिअ, मनाङ – ‘दाजुको प्रेरणाले निजामतीतर्फ आएँ, जनताकै सेवामा रमाएको छु’

ईश्वरीप्रसाद ढकाल, प्रजिअ, रसुवा – ‘सेवाप्रवाह छिटो-छरितो र चुस्त बनाएको छु’

पुण्यप्रसाद ढकाल, प्रजिअ, पाँचथर – ‘निजामती सेवाप्रति सन्तुष्ट मात्र होइन गौरव पनि गर्छु’

प्रतिक्रिया