शनिबार, जेठ ५, २०८१

कोरोनाको जोखिम घट्यो ? डा. पुन भन्छन्- छैन

‘खोप लगाएकालाई पनि कोरोना हुन सक्छ तर खोप लगाएकालाई जोखिम भने कम हुन्छ ।’

प्रनिशा अधिकारी २०७८ भदौ २२ गते १५:०६

काठमाडौं । चार्डपर्व नजिकिँदै गइरहेको समयमा भिड बढ्ने र कोरोना भाइरस फैलन सक्ने चिकित्सकहरू बताउँछन् । यस्तो समयमा भिड धेरै हुने भएकाले कोरोना भाइसरको जोखिम उच्च हुने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

‘चार्डपर्व भन्नेबित्तिकै हामी सबैले एकै ठाउँमा भेला हुने तथा खानपानमा सबै एकैठाउँमा जम्मा हुने गर्छौं जसले कोरोना फैलाउन मद्दत गर्छ,’ डा. पुन भन्छन्, ‘तीजमा सबैजना एकैठाउँमा जम्मा भएर दर खाने, नाचगानमा जम्मा हुने रमाइलो गर्ने चलन छ । यसले थप जोखिम बढाउँछ ।’
उनका अनुसार दसैँमा आफूभन्दा ठूलाबडाको आशीर्वाद लिन एकैठाउँमा अथवा टाढा–टाढासम्म पुग्ने भएकाले पनि कोरोना संक्रमण फैलिने जोखिम हुन्छ । उनले वृद्धवृद्धा, बालबालिका तथा दीर्घरोगी सबैलाई जोखिम हुने पनि बताए ।

खोप लगाए पनि कोरोनाको जोखिम
चाडपर्वमा हुने जमघटले खोप नलगाएकालाई अझ जोखिम हुने उनको भनाइ छ । खोप लगाएका र एन्टिबडी देखिएकामा पनि जोखिम हुने उनी बताउँछन् । खोप लगाएका अथवा एकपटक कोरोना देखिएका मानिसमा तत्काल एन्टिबडी देखिए पनि ७/८ महिनापछि त्यो हट्दै जान थालेपछि जोखिम पनि बढ्ने उनको भनाइ छ ।

‘चाडपर्वमा हुने भिडले जोखिम बढ्ने हुँदा हामी आफैंले यसलाई कसरी कम गर्ने भन्ने ध्यान दिनुपर्छ,’ उनी भन्छन्, ‘दूरी कायम गरी चाडपर्व मनाउने, आफ्नो परिवारसँग बसेर मात्रै रमाइलो गर्ने, वृद्धवृद्धा, बालबालिका तथा दीर्घरोगीलाई जोखिम नहुने तरिकाबाट चाडपर्व मनाउनुपर्छ ।’

खोप लगाएकाबाट पनि सर्न सक्छ कोरोना

पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६८ प्रतिशत मानिसमा एन्टिबडी रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै विज्ञप्ति नै जारी गरेको छ । तर, ३२ प्रतिशतमा अझै संक्रमण पनि नभएको र खोप पनि नलगाएकामा झन जोखिम देखिने उनी बताउँछन् । लामो समयपछि एन्टिबडी पनि हट्दै जाने र नयाँ नयाँ भेरियन्ट पनि आयो भने जोखिम थपिने उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिपछि काठमाडौं उपत्यकालगायत प्रायः सबै प्रदेशमा निषेधाज्ञा हटिसकेको छ ।

स्थानीय सरकारलाई दिइएको अधिकार प्रयोग गर्दै कतिपय स्थानीय सरकारले जिल्ला प्रशासनको सहमतिमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न थालेका छन् । यस्तो समयमा स्वास्थ्य मन्त्रालयले केही समयअगाडि कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकामा उच्च जोखिममा पर्ने भन्दै सातै प्रदेशमा भेन्टिलेर तथा आईसीयूको व्यवस्था गर्न निर्देशन दिएको थियो । तर, अहिले विद्यालय नै सञ्चालन हुन थालेपछि अझ जोखिम बढ्छ कि भन्ने प्रश्नमा डा. पुन भन्छन्, ‘कोरोना भाइरस भेरियन्टमा परिवर्तन हुँदै गएकाले पहिलो लहरभन्दा दोस्रो लहरमा बालबालिकामा संक्रमण भएको र तेस्रो लहरमा बालबालिका थप जोखिममा पर्न सक्छ भन्ने प्रक्षेपण छ ।’

बालबालिकामा जोखिम कायमै
स्वास्थ्य हिसाबले अहिले पनि बालबालिकामा जोखिममै छन् । अहिलेसम्म कुनै पनि खोपको प्रयोग गर्न सक्ने स्थिति पनि नभएको र कोरोना भाइरस पनि नयाँ भेरिएन्टमा परिर्वतन भएका कारण पनि जोखिम बढेको उनको भनाइ छ ।

तर, अब विद्यालय सञ्चालन भएपछि बालबालिकालाई विद्यालय नै पठाउनुपर्‍यो भने अभिभावकलाई ढुक्क हुने वातावरण विद्यालयले सिर्जना गरिदनिुपर्ने डा. पुन बताउँछन् ।

बच्चालाई कोरोना संक्रमणबाट बचाउन आमाबुबाले खोप लगाउनुपर्छ

उनी भन्छन्, ‘विद्यालय सञ्चान गर्दा, बालबालिकालाई विद्यालयमा पठाउँदा सुरक्षाका मापदण्डमा ध्यान दिने, मास्क लगाउन सिकाउने तथा विद्यालय जाने/आउने बसमा पनि स्यानिटाइजर दैनिक प्रयोग गर्नुपर्छ ।’

पढाउने र सिकाउने तथा सामान्य समयमा जस्तै गर्ने अवस्था भने नरहेको उनी बताउँछन् । शिक्षकले ठुल्ठूलो आवाजले चिच्याउँदा थुक उछिट्टिने तथा शिक्षकले कराउँदा बालबालिकाले पनि कराएर पढ्ने बानीबाट पनि कोरोना फैलने सम्भावना रहने उनको भनाइ छ ।

विद्यालयमा हुने र खोप लगाउन मिल्नेसम्म सबैले लगाए/नलगाए तथा समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘अविभावकले पनि आफ्ना छोराछारीलाई कोरोना भाइरससँग मिल्ने खालका कुनै लक्षण छ भने विद्यालय नपठाउने तथा सामान्य रुघाखोकी लागे पनि अस्पताल लैजानुपर्छ ।’

विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा कटौती गर्नुपर्ने उनको भनाइ छ । अहिलेको अवस्थामा यस्ता क्रियाकलापले पनि कोरोना फैलाउने उनी बताउँछन् । ‘आजभोलि जुनसुकै विद्यालयमा अतिरिक्त क्रियाकलापलाई विशेष महत्त्व दिइन्छ तर अहिलेको यो कोरोनाको अवस्थामा भने यो कटौती गर्नैपर्छ जसले कोरोना फैलनबाट बचाउँछ ।’

यसैबीच, काठमाडौंमा असोज १ गतेबाट भौतिक उपस्थितिमै विद्यालय तथा कलेज सञ्चालन गर्न दिने जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायबीच सहमति गरेका छन् ।

‘कोरोनाको तेस्रो लहर बच्चालाई नै लक्षित गरेर आउँदैन’

सरुवा रोग विशेषज्ञ डा. पुन सबैले खोप लगाए पनि भाइरसले स्वरूप परिर्वतन गरिरहेकाले चुनौती रहेको बताउँछन् । पूर्ण रूपमा खोप लगाएका पनि संक्रमित हुन सक्ने भन्दै उनी भन्छन्, ‘खोप लगाउनु भनेको संक्रमित नहुनु होइन तर जटिल अवस्था वा मृत्यु हुने वा अस्पताल भर्ना हुने जुन संख्या छ त्यो कम हुने हो । खोप लगाएको छु अब मलाई केही हुँदैन भन्ने गलत बुझाइ हटाउनुपर्छ । खोप लगाएकालाई पनि कोरोना हुन सक्छ तर खोप लगाएकालाई जोखिम भने कम हुन्छ ।’

खोप लगाएकाबाट पनि सर्न सक्छ संक्रमण
तर, कोरोना खोप लगाएका व्यक्तिले नलगाएकालाई सार्ने सम्भावना धेरै भएको डा. पुनको भनाइ छ । उनी भन्छन्, ‘विभिन्न देशले गरेको प्रक्षेपण हेर्ने हो भने पनि खोप लगाएकाले नै कोरोना फैलाउन मद्दत गरेको देखिन्छ । ‘मैले खोप लगाएँ अब मलाई केही हुँदैन भनेर सुरक्षाका मापदण्ड नअपनाउँदा अझ फैलिएको छ,’ उनले भने, ‘खोप लगाएकाले पनि उत्तिकै संयमता अपनाउनुपर्छ जति नलगाएकाले अपनाउँछन् । खोप लगाएकालाई जटिल नभए पनि विभिन्न कारणले खोप लगाउन नपाएकालाई उनीहरूको माध्यमबाट सर्ने र जटिल अवस्था सिर्जना गरिदिने भएकाले सबैले यस्तो कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ ।’

प्रनिशा अधिकारी

अधिकारी नेपालखोजका संवाददाता हुन् ।

प्रतिक्रिया