बिहीबार, चैत १५, २०८०

जनआन्दोलनका घाइतेलाई छाक टार्नै गाह्रो !

गाडी देऊ, भात देऊ, चामल देऊ, घरजग्गा देऊ भनेका छैनौं ।

नेपालखोज २०७८ भदौ ३१ गते ११:५३

कोही अपांग छन्, कसैलाई शरीरमा गोली लागेको छ, अश्रुग्यास लागेकाहरू आँखा नदेख्ने अवस्थामा छन् ।

जनआन्दोलन ०६२/६३ को जगमा नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । जनआन्दोलनका क्रममा केहीले जीवनको बलिदानी गरे, केही घाइते भए । आफूहरुले लडेर गणतन्त्र ल्याए पनि नेताहरु आफ्नो स्वार्थ पूरा गर्न लागेको भन्दै जनआन्दोलनका घाइतेहरुले दुखेसो पोखेका छन् । ऐतिहासिक जनआन्दोलन घाइते पीडित समाजका केन्द्रीय अध्यक्ष आशिष नेपालसँग नेपालखोजका लागि केशव भट्टराईले कुराकानी गरेका छन् । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं ।

हाइलाइट्स :
–उकुस–मुकुसमय भएको राज्यको अवस्थालाई लोकतन्त्रमय बनाउन हामीले लडेका थियौं । सात दलको आह्वानमा जनआन्दोलन सुरु भएको थियो । चैत २८ का दिन धेरै दमन भएको थियो । मलाई पनि गोली लाग्यो । अश्रुग्यास लाग्यो । प्रहरीको अन्धाधुन्ध लाठी चार्जमा म पनि परें । म आजभोलि पनि घाइते अवस्थामै छु । टाढासम्म राम्ररी आँखा देख्न सक्दिनँ ।
–आजभोलि म जनआन्दोलनमा घाइते भएका परिवारका सदस्यका बालबालिकालाई पठनपाठनको व्यवस्था र हेरचाह गर्दै दिन बिताइरहेको छु । जनआन्दोलनका घाइतेहरूको अवस्था दर्दनाक छ । कोही अपांग छन्, कसैलाई शरीरमा गोली लागेको छ, अश्रुग्यास लागेकाहरू आँखा नदेख्ने अवस्थामा छन् । ‘अहिले के खाउँ भरे के खाउँ’ आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् ।
–जनआन्दोलन भएर लोकतन्त्रको अभ्यास हुन थालेको १६ वर्ष बितेको छ । धेरैजना प्रधानमन्त्री भए । तर, जनआन्दोलनका घाइते मर्माहत छन्, पीडामा छन्, साथीहरू शरीरमा गोली बोकेर हिँडिरहेका छन् । कसैको टाउकोमा चोट लागेको छ । गोजीमा औषधि खाने पैसो पनि छैन । बेरोजगार छन् । आफ्ना बालबच्चालाई पढाउन सकेका छैनन् । आर्थिक अवस्था कमजोर छ । दृष्टिविहीनहरू छन् । खुट्टामा गोली बोकेर हिँड्नु परेको अवस्था छ ।
–हरेक सरकार परिवर्तन भए तर जनआन्दोलनका घाइतेलाई कसैले पनि हेरेनन् । जसको शक्ति छ उसैको त हालीमुहाली हुने रहेछ नि यो देशमा । हामीले लोकतन्त्रको अनुभूति गर्न पाएका छैनौं ।
–घाइतेहरूको अहिलेको अवस्था भन्नुपर्दा मेरो आँखाबाट आँसु बहन्छ । हाम्रो एकजना जनआन्दोलनको अपांगता भएको घाइते हुनुहुन्छ । उहाँलाई हामीले लकडाउनमा घिसारेर थाल थापेर पेट भरिदिएका छौं । सबै जनाले घाँटीमा पचियपत्र झुन्ड्याएर उनको लागि सहयोग माग्दै हिँड्यौं । तर सरकारका तर्फबाट केही राहत पाइएको छैन ।
– राज्य त हामीले खोज्नै पर्छ । राज्य भन्ने कुरो हामीले अनुभूति कसरी गर्ने र ? मलाई राज्य छ जस्तो लाग्दैन । अझै मलाई पुरानै प्रतिगामी सरकार छ जस्तो लाग्छ । हामीले मुलुकमा परिवर्तन होस् र मुलुक गणतन्त्रमय होस् भनेर लडेका थियौं ।
–सरकारले राहत तथा पद दिन्छ भनेर लडेका थिएनौं । हाम्रो भावीपुस्ताले पनि लोकतन्त्रको आभास गर्न पाओस्, सिंहदरबार गाउँगाउँमा पुगोस् भनेर लडेका थियौं । तर जनआन्दोलनका घाइतेलाई दुःखसुख के छ ? खाए कि खाएनन् भनेर सरकार पक्षका कसैले पनि खोजेका छैनन् । सरकारमा पुगेकाहरू हरेक वर्ष जिउँदा सहिदलाई सम्मान गर्नुको साटो आफ्नै कार्यकर्तालाई मात्रै सम्मान गरिरहेका छन् । दुःख लाग्छ ।
–जीवन गुजारा गर्न एकदमै संघर्ष गर्नुपरेको छ । हाम्रो शरीरमा कुनै तागत छैन । जनआन्दोलनमा दृष्टिविहीन र पूर्ण रूपमा अपांगता भएकाहरूले श्रम गर्ने अवस्था नै हुँदैन । अपांगता भएका र दृष्टिविहीनहरूले छोराछोरी पढाउनभन्दा पनि श्रम गर्न पठाउनुपरेको अवस्था छ । विभिन्न व्यक्तिसँग सहयोग मागेर उनीहरूको पेट पाल्ने मेलो गरिरहेका छौं ।
–केही दिनअघि अर्थमन्त्रीले एक प्याकेज ल्याए । त्यसमा जनआन्दोलनमा ज्यान गुमाएका परिवारका सदस्यलाई तीन हजार रुपैयाँ दिइने उल्लेख छ । हामी पनि त मर्नै गएका थियौं, संयोगवश बाँच्यौं । घाइतेले योगदान गरेकै थिएनन् भन्ने हुँदैन । हामी मरेको भए पनि त्यो तीन हजारले सहिदको सपना साकार हुँदैनथ्यो । तीन हजार सहिदको रगतको मूल्य होइन ।
–सरकारले जनआन्दोलनका घाइतेका डेरा वा घरघरमा पुगेर बुझ्ने काम गरे केही हुन्थ्यो कि ! त्यो काम पनि गरेको छैन । १६ वर्ष भयो कुरेको । लोकतन्त्र प्राप्त भइसकेपछिका कुनै पनि प्रधानमन्त्रीले सोधखोज नै गरेका छैनन् । केही मन्त्रीलाई भेट्यौं, तर भेटघाटमै सीमित भएको छ ।
–जनआन्दोलनमा भएका घाइते र बलिदान गरेकाहरूको माध्यमबाट हामी सरकारको नेतृत्वमा पुगेका हौं भन्ने नेताहरूको सोचै भएन । यदि यस्तो सोच भइदिएको भए यसरी दुःख लुकाउने अवस्था हुँदैनथ्यो । सम्मान गर्ने सोच भएको भए हरेक समारोहमा हामीलाई बोलाइन्थ्यो होला । गुनासा धेरै छन् । तर सरकार पक्षकाले भेट्नै चाहँदैनन् ।
–सरकारको नेतृत्वमा रहनेहरू जनआन्दोलनका घाइतेहरूको मर्म एकपल्ट बुझने कोसिस गरिदिनोस् । यदि यी घाइतेहरूको पनि योगदान छ भन्ने लाग्छ भने टेबलमा वार्ता गर्ने मौका दिनुहोस् । गाडी देऊ, भात देऊ, चामल देऊ, घरजग्गा देऊ भनेका छैनौं ।

थप भिडियो वार्तामा :

प्रतिक्रिया