शुक्रबार, वैशाख १४, २०८१

‘विदेशी मोडेलको होइन, आफ्नै देशको हावापानी सुहाउँदो शिक्षा चाहिएको छ’

नेपालखोज २०७८ असोज १५ गते १५:२३

डा. राजेन्द्र केसी नेपाल पीएचडी एसोसिएसनका संस्थापक अध्यक्ष एवं साउथ वेस्टर्न इस्टेट कलेज काठमाडौंका क्याम्पस प्रमुख हुन् । अमेरिकाबाट विद्यावारिधि गरेका उनी विदेशी मोडेलको शिक्षाभन्दा नेपाली माटो सुहाउँदो शिक्षा हुनुपर्नेमा जोड दिन्छन् । नेपालखोजमा केशव भट्टराईले डा. केसीसँग नेपालको शिक्षा नीतिको कमजोरी र आवश्यक शैक्षिक शिक्षा नीति लगायतको विषयको सेरोफेरोमा रहेर कुराकानी गरेका छन् । प्रस्तुत छ केसीसँगको कुराकानी

हाइलाइट्स :
–शिक्षा तथा स्वास्थ्य स्वदेशी र विदेशी हुँदैन । साउथ वेस्टर्न इस्टेट कलेज वा देशको कुनै पनि कलेजमा यही देशको पाठ्यक्रममा पढेका विद्यार्थीहरूले संसारको कुनै पनि देशको विश्वविद्यालय र व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्न सक्छन् । यसका केही उदाहरणहरू छन् ।
–नेपाली विद्यार्थी अमेरिका, क्यानाडा र अस्ट्रेलिया गएर उनीहरूभन्दा अब्बल भएर बसेका उदाहरण छन् । नेपाली हुनसाथ नसक्ने भन्ने होइन ।
–हामीले एउटा कलेज खोलेका छौं । हामीबाट उत्पादन भएका विद्यार्थीहरू अरू देशमा पढ्न वा काम गर्न जाँदा, कुनै शैक्षिक सहकार्य गर्दा हाम्रो उत्पादन कमजोर नहोस् वा अब्बल होस् भन्ने सोचले कलेज स्थापना गरिएको हो ।
–हाम्रो र अरू कलेजको उद्देश्य विद्यार्थीलाई बाहिरी देश जानबाट रोक्छु भन्ने मानसिकता पनि होइन । मैले पनि बाहिर पढेर आएँ । नेपालमै काम गरिरहेको छु । मान्छे एक्स्पोजर हुन चाहन्छ । धेरै कुरो थाह पाउन र देख्न चाहन्छ । खोज–तलास गर्न चाहन्छ । यो स्वभाविक प्रक्रिया हो ।
–मानिसहरू एक–अर्का देशमा आउने–जाने प्रक्रिया भइरहन्छ । तर विशेष कुरोचाहिँ हामीले उत्पादन गरेका विद्यार्थीले अहिलेको बजारमा जे काम गर्न पनि चुनौती दिन सकून् भन्ने हो ।
–संसारमा सात अर्बको हाराहारीमा मानिस छन् । सबैको इच्छा फरक हुन्छ । मैले लगभग ४० वटा देश घुमिसकेँ । ती सबै देश घुमिसक्दा यो देश जतिको सुन्दर कुनै पनि देश संसारमा छैन । हामी गरिब छौं । धुलोधुवाँ छ । तर प्राकृतिक हिसाबले एकदम राम्रो छ ।

देशको विकास गर्न आफ्नै देशको हावापानी र स्रोत सुहाउँदो शिक्षा नीति बनाउन आवश्यक छ ।


–सिंगापुर, मकाउ, इजरायललगायत देशमा केही पनि कृषि उत्पादन हुने वातावरण नै छैन । पानीको स्रोत पनि छैन । यी देशहरू त व्यापार, कृषि र शिक्षाको हब बनाएर बसेका छन् भने हाम्रो देश यी देशभन्दा स्रोतको धनी भएकाले विकासका धेरै सम्भावना छन् ।
–नेपालीले यो देश बनाउनु छ । हामीले बाहिरी देशमा अध्ययन गरेर धेरै कुरा थाह पाउने हो । तर बाहिरी देशमा लिएको शिक्षाको उपयोग आफ्नै देशमा गर्नुपर्छ । शिक्षा आफैंमा नराम्रो होइन । तर शिक्षा चलाउने मान्छेको भूमिका राम्रो छैन ।
–सरकार गठन भएको लामो समय पुग्दा पनि देशले शिक्षामन्त्री पाउन सक्दैन । युनिभर्सिटीको बजेट नै पेन्डिङ हुने गर्छ । अनलाइन युनिभर्सिटीमा पदाधिकारी छैनन् ।
–देशमा शिक्षाको राम्रो व्यवस्थापन गर्नुपर्छ । देश विकासका लागि पहिलो स्टेप शिक्षा नै हो । प्रमाणपत्र लिइसकेपछि काम गर्ने खालको शिक्षा नीति हुन आवश्यक छ ।
–नेपालमा तीन करोड जनता छन् । तीन करोडमा एक करोड बाहिरी देशमा भएको तथ्यांकले देखाएको छ । ५० लाख उमेर पार गरेका र ५० लाख बालबालिका छन् । उचित शिक्षा नीति बनाइए बाँकी एक करोडलाई व्यवस्थापन गर्न गाह्रो छैन ।
–क्यानाडा, अमेरिका र अस्ट्रेलियाको शिक्षाको मोडलबाट तयार गरिएको पाठ्यक्रमले नेपालको विकास हुन सक्दैन । देशको विकास गर्न आफ्नै देशको हावापानी र स्रोत सुहाउँदो शिक्षा नीति बनाउन आवश्यक छ ।
–शिक्षाको नीति बनाउँदा आफ्ने देशको परिवेशअनुसार बनाउनुपर्छ । विदेशमा सरकारी विद्यालय र कलेजमा पढ्न नपाएपछि निजीमा जान्छन् । हाम्रो देशमा ठीक उल्टो छ । त्यस्तो नहुने गरी शिक्षा नीति बनाइनुपर्छ ।

प्रतिक्रिया