बिहीबार, चैत १५, २०८०

‘बजारका दक्ष जनशक्तिलाई निजामती सेवाले आकर्षित गर्न सकेको छैन’

नेपालखोज २०७९ असार २० गते १०:४९

लुम्बिनी प्रदेशको बाँके जिल्लाको प्रशासनिक नेतृत्व अहिले मालिका ६, गुल्मीका सूर्यबहादुर खत्रीको काँधमा छ । २०७८ असोज २५ गतेदेखि बाँकेको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खत्री कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ खत्रीलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा झन्डै २६ वर्ष बिताएका बाँकेका प्रजिअ खत्री यसअघि उद्योग विभागमा कार्यरत थिए ।
निजामती सेवामा दक्ष जनशक्तिको अभाव हुनुका साथै पछिलो पुस्ता तुलनात्मक कम आकर्षित भएको पाउन सकिने प्रजिअ खत्रीको बुझाइ छ । ‘निजामती क्षेत्रमा ‘गुड मेनपावर’ आकर्षण हुन सकेको छैन भनेर विभिन्न अध्ययन र विश्लेषणले देखाएको छ,’ प्रजिअ खत्रीले नेपालखोजसँग भने, ‘उत्कृष्ट म्यानपावर विदेशतिर जाने निजामती सेवा अथवा सरकारी सेवामा आकर्षित नहुने भन्ने कुरा विभिन्न अध्ययनले देखाएको छ ।’ उनले काम लिएर कार्यालयमा आएका सेवाग्राहीका गुनासा सकभर सम्बोधन गरेर पठाउने गरेको दाबीसमेत गरे । ‘सेवाग्राही गुनासो सकेसम्म सम्बोधन गरेर पठाउने नै मेरो उद्देश्य हुन्छ,’ उनले भने ।
बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सूर्यबहादुर खत्रीसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ६४औं शृंखला :

हाइलाइट्स :
-सेवाग्राहीमैत्री भएर काम गर्नुपर्छ र यो स्थानमा सेवा लिन आएका सेवाग्राहीले यहाँका कर्मचारी पनि राम्रा रहेछन्, राम्रा व्यवहार गर्दा रहेछन् भन्ने छवि (इमेज) बनाउनुपर्छ भनेर निर्देशन दिइरहेको हुन्छु ।
-कामलाई शीघ्र सम्पादन गरेर छिटोभन्दा छिटो सेवा दिने र छिटो न्याय सम्पादन गर्ने अभ्यास हामीले गरेका छौं । त्यसकारण म विगतमा रहेको ठाउँमा गरेको कार्यसम्पादनबाट सन्तुष्ट छु ।
-जतिसुकै दबाब भए पनि कानुनअनुसार काम गर्न सकिएन भने पीडिलाई न्याय दिन सकिँदैन । कानुनबमोजिम नै काम गर्ने हाम्रो प्रयत्न रहन्छ । प्रेसरबमोजिम काम गर्यो भने कुनै पनि पक्षले न्याय पाउँदैन ।
-काम सम्पादन गर्दा ढिलासुस्ती भयो भने त्यो काम सम्पादन हुन सकेन भने प्रमुख जिल्ला अधिकारीलाई गुनासो गर्न सकिन्छ । यो व्यवस्था जिल्लाभरका लागि छ ।
-समय-समयमा विपत् व्यवस्थापन समितिको बैठक बस्ने र त्यसका लागि आवश्यक तयारी गर्ने स्थानीयसँग समन्वय गर्ने र सबैलाई तयारी अवस्थामा बस्न पनि लगाएका छौं । विपत्‌बारे जनचेतनामूलक कार्यक्रम पनि गर्ने गरेका छौं । विपत् आइलागे सूचना तत्काल प्रवाह गर्ने संयन्त्र पनि बनाएका छौं ।
-हामी विभिन्न स्थानमा जागिरको खोजीमा हुन्छौं, अन्त्यमा जहाँ अवसर पायो त्यही सामेल हुन्छौं ।
-निजामती क्षेत्रमा ‘गुड मेनपावर’ आकर्षण हुन सकेको छैन भनेर विभिन्न अध्ययन र विश्लेषणले देखाएको छ । उत्कृष्ट म्यानपावर विदेशतिर जाने निजामती सेवा अथवा सरकारी सेवामा आकर्षित नहुने भन्ने कुरा विभिन्न अध्ययनले देखाएको छ ।
-सरुवाका लागि दुई वर्षको कार्य अवधि भनेर ऐनले नै तोकेको छ । यद्यपि यो कार्यान्वयन हुन सकेको छैन ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
मेरो व्यक्तिगत तर्फबाट सबैभरि अथवा स्टाफ मिटिङमा अथवा अन्य समयमा सेवाग्राहीको सन्तुष्टि नै प्राथामिकतामा रहन्छ । सधैभरि यही नै निर्देशन हुन्छ । सेवाग्राहीमैत्री भएर काम गर्नुपर्छ र यो स्थानमा सेवा लिन आएका सेवाग्राहीले यहाँका कर्मचारी पनि राम्रा रहेछन्, राम्रा व्यवहार गर्दा रहेछन् भन्ने छवि (इमेज) बनाउनुपर्छ भनेर निर्देशन दिइरहेको हुन्छु । म स्वयं पनि आउने सेवाग्राही गुनासो सकेसम्म सम्बोधन गरेर पठाउने नै मेरो उद्देश्य हुन्छ । यहाँ आउने प्रायः विषय विवादसम्बन्धी हुन्छ त्यो पनि सकेसम्म सम्बोधन नै होस् भन्ने हुन्छ । कामलाई शीघ्र सम्पादन गरेर छिटोभन्दा छिटो सेवा दिने र छिटो न्याय सम्पादन गर्ने अभ्यास हामीले गरेका छौं । त्यसकारण म विगतमा रहेको ठाउँमा गरेको कार्यसम्पादनबाट सन्तुष्ट छु ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
काम गर्ने क्रममा प्रेसर त अत्यधिक नै हुन्छ । जस्तै कुनै पक्षबीच झगडा, विवाद भयो भने आफ्नो पक्षलाई जहिल्यै राम्रो भन्ने र अर्को पक्षलाई कानुनी कारबाही गर्नु भन्ने दबाब आउँछन् । यस्तोचाहिँ राजनीतिक द्वन्द्व भएको ठाउँमा हुन्छ । दाइभाइको अंशको कुराले पनि राजनीतिक रूप लिन्छ र दबाब सिर्जना हुन्छ । जतिसुकै दबाब भए पनि कानुनअनुसार काम गर्न सकिएन भने पीडिलाई न्याय दिन सकिँदैन । कानुनबमोजिम नै काम गर्ने हाम्रो प्रयत्न रहन्छ । प्रेसरबमोजिम काम गर्यो भने कुनै पनि पक्षले न्याय पाउँदैन ।

सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि कार्यालयमा कस्तो खालको संयन्त्र बनाउनुभएको छ ?
हामीले फ्रन्टमा हामीले हेल्प डेस्क राखेका छौं । त्यहाँ कुन ठाउँबाट के काम हुन्छ । कुन शाखाबाट कस्तो काम हुन्छ भनेर कार्यालयबारे जानकारी लिन सक्छौं । हेल्प डेक्सको कर्मचारीले सेवाग्राहीलाई सहयोग गर्नुहुन्छ । आफैं निवेदन लेख्न नसक्ने मान्छे आए पनि त्यहाँका कर्मचारीले उहाँहरूलाई सहयोग गर्नुहुन्छ । त्यसबाहेक काम सम्पादन गर्दा ढिलासुस्ती भयो भने त्यो काम सम्पादन हुन सकेन भने प्रमुख जिल्ला अधिकारीलाई गुनासो गर्न सकिन्छ । यो व्यवस्था जिल्लाभरका लागि छ । यसले गर्दा जुन कार्यालयमा काम हुँदैन, ढिलासुस्ती हुन्छ, फाँटबाट शीघ्र कार्यसम्पादन भएन भने यस्तो गुनासो कार्यालय प्रमुख अथवा प्रमुख जिल्ला अधिकारीलाई गर्ने व्यवस्था गरेका छौं । यो कुराले फाँटमा ढिलासुस्ती भयो भने यो कुरा प्रमुख जिल्ला अधिकारीको मा पुग्छ भनेर कर्मचारीले काम गर्छन् । यसरी सेवाग्राहीलाई छिटोभन्दा छिटो सर्भिस दिने हिसाबले हामीले काम गर्ने जमर्को गरेका छौं ।

जतिसुकै दबाब भए पनि कानुनअनुसार काम गर्न सकिएन भने पीडितलाई न्याय दिन सकिँदैन । कानुनबमोजिम नै काम गर्ने हाम्रो प्रयत्न रहन्छ ।

अहिले बर्खाको मौसम जिल्लामा बाढी तथा प्राकृतिक विपत्‌का घटनाको अवस्था कस्तो छ ?
अहिले बर्खा मौसम सुरु हुन लागिसकेको छ । पर्याप्त वर्षा भइसकेको अवस्था अहिले छैन यो क्षेत्रमा । जुनुसुकै बेला बाढी आउनसक्ने भएकाले कमभन्दा कम धनजनको क्षति होस् भन्ने हिसाबले हामी पूर्वतयारी योजनामा लागेका छौं । यसका लागि योजना पनि बनाएका छौं । समय समयमा विपत् व्यवस्थापन समितिको बैठक बस्ने र त्यसका लागि आवश्यक तयारी गर्ने स्थानीयसँग समन्वय गर्ने र सबैलाई तयारी अवस्थामा बस्न पनि लगाएका छौं । विपत्बारे जनचेतनामूलक कार्यक्रम पनि गर्ने गरेका छौं । विपत् आइलागे सूचना तत्काल प्रवाह गर्ने संयन्त्र पनि बनाएका छौं । यहाँ बाढी आउने क्षेत्र भनेको राप्ती नदी आसपास हो । त्यहाँ पानीको बहाव कसरी बढिरहेको छ भनेर सूचना प्रवाह गर्ने काम पनि हामीले गरेका छौं । विपतका लागि सम्भावित क्षेत्रलाई कसरी सुरक्षित राख्ने भनेर हामी तयार अवस्थामा छौं ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्यो ?
यो रोजरै पाउने अवसर भने होइन । सुरुवाती चरणमा जागिर खोजीको काम हुन्छ । यसमा रोजेर यही क्षेत्र पाइन्छ भन्ने पनि हुँदैन । हामी विभिन्न स्थानमा जागिरको खोजीमा हुन्छौं, अन्त्यमा जहाँ अवसर पायो त्यही सामेल हुन्छौं । मेरो अनुभवमा यही क्षेत्रमै जागिर खान्छु भनेर काम पाइन्छ भन्ने लाग्दैन । विभिन्न ठाउँमा प्रतिस्पर्धा गर्ने क्रममा म कृषि विकास बैंकमा प्रवेश गरेको थिएँ । पछिमात्र यता प्रवेश गरेँ ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
निजामती क्षेत्रमा ‘गुड मेनपावर’ आकर्षण हुन सकेको छैन भनेर विभिन्न अध्ययन र विश्लेषणले देखाएको छ । उत्कृष्ट म्यानपावर विदेशतिर जाने निजामती सेवा अथवा सरकारी सेवामा आकर्षित नहुने भन्ने कुरा विभिन्न अध्ययनले देखाएको छ । कोही टाठो-बाठो पढ्न उत्कृष्ट छ भने विदेश नै जाने प्रचलन छ । बाहिरको अवसर राम्रो नपाएको खण्डमा निजामती सेवा विकल्पका रूपमा लिएको पनि पाउन सकिन्छ । त्यसकारण बजारका दक्ष जनशक्ति निजामती सेवाले आकर्षण गर्न सकेको छैन । मध्यम स्तरको जनशक्तिको यस क्षेत्रमा आकर्षण छ भन्ने विश्लेषण छ ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
सरुवाका लागि दुई वर्षको कार्य अवधि भनेर ऐनले नै तोकेको छ । यद्यपि यो कार्यान्वयन हुन सकेको छैन । काम गर्न गएको स्थानको वातावरण, वस्तुस्थिति, रहनसहन बुझ्न केही समय लाग्छ । यो सबैबारे ज्ञान भयो भने काम गर्न सहज हुन्छ । स्थायित्व भयो भने काम गर्न सहज हुन्छ भन्नेचाहिँ हो । सरुवामा ऐनले तोकेको अवधि लागु गर्दा नै उत्तम हुन्छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसँग कुराकानी गरेका थियौं । यसपटक लुम्बिनी प्रदेशको बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

धर्मेन्द्रकुमार मिश्र, प्रजिअ, कपिलवस्तु – ‘निजामती सेवामा एउटै वर्ग र समुदायको मात्र प्रवेश गर्ने परम्परा तोडिएको छ’

अस्मान तामाङ, प्रजिअ, चितवन – ‘निजामती सेवा मुलुकको स्थायी सरकार हो’

शशिधर घिमिरे, प्रजिअ, अर्घाखाँची – ‘सार्वजनिक सेवा प्रवाह सबैको साझा प्रयासले भरोसा योग्न बनाउनुपर्छ’

परमानन्द घिमिरे, प्रजिअ, रुकुम पश्चिम – ‘निजामतीतर्फ आकर्षण बढेकै छ, घटेको छैन’

दीपककुमार पहाडी, प्रजिअ, रामेछाप – ‘जहाँ निष्पक्ष परीक्षा हुन्छ त्यहाँ आकर्षण हुन्छ, जहाँ हुँदैन तब सोर्सफोर्सको कुरा आउँछ’

भरतमणि पाण्डे, प्रजिअ, मकवानपुर – ‘निजामती सेवा भनेको देशको स्थायी संरचना हो’

हुमकला पाण्डे, प्रजिअ, काभ्रे – ‘जनताका आधारभूत सेवा पूरा गर्न पाउँदा खुसी लाग्छ’

नूरहरि खतिवडा, प्रजिअ, संखुवासभा – ‘सेवाग्राहीका गुनासालाई सहज रुपमा लिन्छु, समस्या समाधानमा समन्वय गरिदिन्छु’

माधवप्रसाद ढुंगाना, प्रजिअ, इलाम – ‘हुने काम हुन्छ, नहुने काम यो कारणले हुँदैन भन्छु’

चिरञ्जीवी राना, प्रजिअ, म्याग्दी – ‘सेवाग्राही आउनेबित्तिकै गुनासो सुनेर समस्या सम्बोधन गर्छौं’

काशीराज दाहाल, प्रजिअ, मोरङ – ‘प्रभावकारी सेवाप्रवाह गर्न कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्व बिर्सिनु हुँदैन’

कृष्णबहादुर शाही, प्रजिअ, रौतहट – ‘गाउँबाट आउने शिक्षितवर्गको पहिलो रोजाइ नै निजामती सेवा’

बाबुराम अर्याल, प्रजिअ, बाजुरा – ‘एकाधबाहेक सबै समस्या समाधान गरेको छु’

प्रतिक्रिया