शुक्रबार, वैशाख ७, २०८१

देशभरका महिलालाई तालिम दिने रेखाको सपना

नेपालखोज २०७८ चैत १६ गते १५:०७

हाम्रो गाउँ समाजमा यस्ता थुप्रै महिला छन् जो अझै चुलोचौकोमा सीमित छन् । त्यसमा केही बाध्यताले त केही अवसर नपाएर घरमै सीमित हुन बाध्य छन् । तर, गरे के हुँदैन भन्ने कुराको उदाहरण बन्न पुगेकी छन् बर्दियाकी रेखा शर्मा चौधरी । उनले विगत १३ वर्षदेखि काठमाडौंको बूढानीलकण्ठमा रिक फुड उद्योग सञ्चालनमा ल्याएर त्यहीँबाट विभिन्न मिठाइ तथा अचारका परिकारहरू आफैंले तयार गरी देश-विदेशमा बिक्री-वितरण गरिरहेकी छन् ।
यति मात्रै होइन उनले हालसम्म देशभरका करिब पाँच हजार महिलालाई आफूले सिकेको सीप पनि सिकाइसकेकी छन् । उनको यात्रा यतिकैमा भने रोकिँदैन । आगामी दिनमा सातै प्रदेशका महिलालाई तालिम दिने उनको चाहना छ । रेखाले सीप सिकाएबापत सामान्य शुल्क भने लिने गरेकी छन् । उनले समस्यामा परेका धेरै महिलालाई त निःशुल्क तालिम पनि दिइसकेकी छन् ।
‘नेपालखोजमा नारी’को आजको अंकमा हामीले रेखाले तयार गर्ने विभिन्न परिकारका अचार, मिठाइ, उनले दिने तालिम तथा विगतमा गरेका संर्घषको विषयमा केन्द्रित भएर कुराकानी गर्दै छौं ।

देशभरका महिलालाई तालिम दिने रेखाको सपना

‘नेपालखोजमा नारी’ कार्यक्रममा हामीले महिलाहरूले गरेका संघर्ष, सफलता तथा समाजमा पुर्याएको योगदानका विषयमा चर्चा-परिचर्चा गर्ने गर्दछौं । यो कार्यक्रम नेपालखोज आइनलाइन टीभीनेपालखोज डटकममा एकसाथ पढ्न र हेर्न सकिन्छ । महिलाको क्षेत्रमा भएका काम तथा अधिकारका सम्बन्धमा समाजलाई चेतना दिने उद्देश्यले हामीले ‘नेपालखोजमा नारी’ कार्यक्रमको सुरुवात गरेका हौं । ‘नेपालखोजमा नारी’ को आजको अंकमा अचार तथा मिठाइका परिकार, महिलाहरूलाई दिने तालिम तथा संघर्षका विषयमा रेखा शर्मा चौधरीसँग मीरा साउँदले कुराकानी गरेकी छन् । प्रस्तुत छ रेखासँग गरिएको कुराकानी :

हाइलाइट्स :
-नेपालमा भन्दा विदेशमा बस्ने नेपालीहरूले गुन्द्रुक बढी रुचाउनु हुन्छ । मैले तयार गरेको अचार, गुन्द्रुक नेपाललगायत अमेरिका, अस्ट्रेलिया, यूके, जापान, डेनमार्क, हङकङलगायत देशमा निर्यात हुन्छ ।
-सुरुमा मिठाइ मात्रै बनाउँथे । पछि अचार बनाउने तालिम पनि लिएर अचार बनाउन थाले । अहिले सन्तुष्ट छु । हालसम्म पाँच प्रदेशका करिब पाँच हजार बढी महिला दिदी-बहिनीलाई तालिम दिइसकें ।
-म जस्तै हजारौं महिला दिदी-बहिनीलाई सीप सिकाउने मेरो सपना छ । समास्यामा परेका दिदी-बहिनीलाई मैले निःशुल्क सिकाएकी छु ।
-धेरै विकट क्षेत्र जहाँ बाटोघाटो पनि पुग्न सकेको छैन त्यहाँ पनि पुरेर मैले महिलाहरूलाई तालिम दिन सफल भएकी छु । मैले दिएको सीपबाट धेरै महिला दिदी-बहिनी स्वरोजगार बन्नुभएको छ । १२ जनालाई मैले रोजगारी दिएकी छु ।

‘जीवनको अन्तिम समयमा पनि दिनुपर्ने ज्ञान दिएर मर्न पाउँ’

-मैले आफैंले तालिम दिएर उनीहरूले उत्पादन गरेका परिकारहरू आफैं खरिद पनि गर्ने गरेको छु । कालीमाटी मात्रै होइन त्यस्तो ठाउँमा पनि गएर सामान उठाउनुपर्यो कि जहाँ किसानहरूले दुःख त गर्छन् तर सस्तो मूल्यमा बिक्री गर्न खोज्दा पनि बिक्री हुन सकिरहेको छैन ।
-सबैभन्दा ठूलो सीप नै हो । सहयोगको आश्वासन सबैले दिन्छ तर जब सहयोग गर्ने समय आउँछ । त्यसबेला सबै पछि हट्छन् ।
-म भोलि मर्ने हो भन्ने थाहा पाए भने पनि आज कति ठाउँमा क-कसलाई के-के सिकाउनुपर्नेछ भन्ने कुराको ज्ञान दिएर भोलि मर्छु ।

‘नेपालखोजमा नारी’ का अघिल्ला अंकहरू पढ्न छुटाएको भए हेर्नुहोस् ।

‘भारतीय फेसन ट्रेन्ड रुचाउँछन् नेपाली’

‘सानोमम्मीले टेम्पो चलाएको देख्दा मलाई पनि रहर जाग्यो’

‘पर्यटन क्षेत्रमा ६० प्रतिशतको रोजगारी गुम्यो, ८० प्रतिशतले तलबै पाएनन्’

‘व्यवसाय सुरु गर्नु गाह्रो होइन, निरन्तरता दिनु नै प्रमुख कुरा हो’

‘महिनावारीको विभेद सबै जात, धर्म, भाषा, संस्कृति र भूगोलमा छ’

प्रतिक्रिया