जिम्मेवारी बढ्दा दसैँको रमाइलो पनि कम !

काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गीको दसैँ पनि यस वर्ष खल्लो हुने भएको छ । उनको यस वर्ष दसैँ छैन । दसैँ नभए पनि सावधानी अपनाएर आपसमा रमाइलो गर्ने उनको योजना छ । पूर्वमिस नेपाल खड्गी पछिल्लो समय फेसन व्यवसायमा आबद्ध छिन् । यसका अतिरिक्त उनी मोडलिङमा पनि सक्रिय छिन् ।
बेलाबखत उनले अभिनय गरेको गीतहरू हेर्न पाइन्छन् भने उनलाई दर्शकको पनि राम्रो सपोर्ट छ । सामाजिक सन्जालमा निकै सक्रिय खड्गी आफैंमा एक फेसन डिजाइनरसमेत हुन् । उनको धेरै समय बुटिकमै बित्छ । यही चाडपर्वले आफन्त, साथीभाइ सँगको भेट हुने संयोग जुराइदिन्छ । उनलाई चाडपर्वहरू धेरै मन पर्छन् । विशेषगरी दसैँमा नयाँ लुगा लगाउन, आफन्त साथीभाई भेला भएर रमाइलो गर्न उनलाई मन पर्छ । उनी भन्छिन्, ‘वर्षभरि व्यस्त भए पनि यही चाडपर्वमा फ्री भएको महसुस हुन्छ । यतिबेला कामको टेन्सन लाग्दैन । मात्रै राम्रो लगाउने, रमाइलो गर्ने अनि मीठो–मीठो खाने भन्ने मात्रै हुन्छ । अर्को कुरा लामो समयसम्म भेटघाट नभएका फ्यामिली मेम्बरहरूसँग पनि भेट हुन्छ । त्यसैले पनि चाडपर्व भनेपछि अहिले पनि एकदमै मन पर्छ ।’
दसैँमा समय भन्दा पनि उमेरअनुसार रमाइलो लाग्ने गरेको खड्गी सुनाउँछिन् । उनले भनिन्, ‘बच्चा हुँदा कुनै जिम्मेवारी हुन्थेन । खाली नयाँ लुगा लगाउने, घुम्ने खाने, टीका लगाएको पैसा जम्मा पार्ने, मेला घुम्नेमा मात्रै ध्यान हुन्थ्यो । तर जति ठूलो हुँदै गइयो व्यवहारमा फस्दै आइयो, आफू अभिभावक भइयो । जिम्मेवारीहरू थपिँदै गयो । त्यही भएर हो । तर सबै समयको आ–आफ्नै किसिमको महत्त्व छ ।’
यतिबेला नेपालमा धेरैले कोभिडविरुद्धको खोप लगाइसके पनि जोखिम कायमै रहेको हुँदा दसैँ मनाउँदा सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । खानपिनदेखि लिएर मौसम परिवर्तन भइरहेको हुँदा त्यसमा पनि ध्यान दिनुपर्ने उनले बताइन् । उनले भनिन्, ‘आफ्नो केयर आफैं गर्नुपर्छ । हुन त धेरैले कोभिडको भ्याक्सिन लगाइ सक्नुभएको छ तर पनि कोभिड अझै पूर्ण रूपले हटिसकेको छैन । त्यही भएर सावधान भएर मनाउनु नै राम्रो ।’
यो पनि हेर्नुहोस् :
गायक प्रकाश सपुतको दसैँ – उमेरसँगै दसैँ पनि फरक !
हास्यकलाकार सुरेन्द्र केसी ‘मुलासाग’को दसैँ – यसपालिको दसैँ खल्लो !
गायक दुर्गेश थापाको दसैँ – ‘पिङ खेल्ने, नाचगान गर्ने हो, बाहिर गइँदैन’
गायिका मेलिना राईको दसैँ – ‘दसैँ भनेपछि अहिले पनि हुरुक्कै हुन्छु’
यसपालिको दसैँमा कलाकारहरुको योजना- ‘पिङ खेल्ने, गुच्चा खेल्ने, तास खेल्ने !’
प्रतिक्रिया