शुक्रबार, मंसिर २८, २०८१

‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

नेपालखोज २०७८ कार्तिक १ गते १०:२३

‘अहिलेको अवस्थामा निजामती सेवा समावेशी छ’

लुम्बिनी प्रदेशअन्तर्गत रुकुम पूर्व जिल्लाको प्रशासनिक नेतृत्व अहिले दैलेखका लक्ष्मीप्रसाद बास्कोटाको काँधमा छ । २०७८ साउन ३ गतेदेखि रुकुम पूर्वको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बास्कोटा कुशल प्रशासकका रूपमा परिचित छन् ।
जिल्लाको शान्ति-सुरक्षा, वस्तुअवस्थिति, निजामती सेवा प्रवेशलगायत विषयमा कुराकानी गर्न प्रजिअ बास्कोटालाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । उनले निजामती सेवामा १७ वर्ष बिताइसकेका छन् । रुकुम पूर्वका प्रजिअ बास्कोटा यसअघि केन्द्रीय कारागार विभाग काठमाडौंमा जेलरका रूपमा कार्यरत थिए ।
निजामती सेवामा चाँडो-चाँडो सरुवा हुँदा कार्यसम्पादनमा अलिअलि समस्या परे पनि व्यक्तिको वृत्तिविकासमा भने सहयोगी हुने उनको बुझाइ छ । ‘व्यक्तिगत रूपमा सरुवा राम्रो हो । व्यक्तिको वृत्तिविकास पनि हुन्छ । धेरै ठाउँ घुम्न पाइन्छ, त्यहाँको अवस्था बुझ्न पाइन्छ । देश भ्रमण गर्न पाइन्छ त्यस हिसाबले त ठीकै हुन्छ,’ उनले नेपालखोजसँग भने, ‘तर सरकारले कर्मचारी छिटो-छिटो सरुवा गर्दा काममा डिस्टर्ब हुने, कर्मचारी पनि हाई मोटिभेट भएर काम नगर्ने हुन्छ । जानेबेला भयो किन काम गर्ने ? भन्ने पनि हुन्छ नि मान्छेलाई ।’
उनले निजामतीतर्फ नयाँ पुस्ताको आकर्षण बढेको बताउँछन् । निजामती सेवा समावेशी भएकैले पनि आकर्षणको दायरा यसतर्फ फराकिले बनेको उनको बुझाइ छ । ‘अहिलेको अवस्थामा निजामती सेवा समावेशी छ । दलित, महिला, जनजाति सबै छिर्न सक्ने भएकाले आकर्षणको दायरा पनि फराकिलो भएको छ,’ उनले भने । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटासँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो २७औं अंक :

हाइलाइट्स :
-पहिलाभन्दा अहिले केही बिचौलियाहरू बढेका छन्, फेक कारोबार बढेको छ । सत्य र इमानदारभावले सहयोग गरिरहे पनि अहिले सबै मान्छे इमानदार र नौतिकवान् नभएको हुँदा केही बिचौलियालाई शंकाको भावनाले हेर्ने र निर्दोषलाई सहयोग गर्ने गरेको छु ।
-कामका दौरान कहिलेकाहीँ दबाब त आउँछन् । जिल्लामा बस्दा धेरै दबाब खेप्नुपर्छ । कहिलेकाहीँ कानुनबाहिरका कुरा पनि गर्नुपर्छ भन्ने दबाब आउँछन् । तर नियम र प्रक्रिया बाहिर गएर त काम गर्न सकिन्न नि !
-दाइहरू पनि निजामती सेवामा लाग्नुभएको, साथीहरूको संगत अनि माहोलले निजामती सेवातर्फ प्रवेश गरें ।
-कामसँगै पढाइकै वातावरण बन्यो । साथीहरूसँग ग्रुपमा पढियो ।
-अहिलेको अवस्थामा निजामती सेवा समावेशी छ । दलित, महिला, जनजाति सबै छिर्न सक्ने भएकाले आकर्षणको दायरा पनि फराकिलो भएको छ ।
-सरकारले कर्मचारी छिटो-छिटो सरुवा गर्दा काममा डिस्टर्ब हुने, कर्मचारी पनि हाई मोटिभेट भएर काम नगर्ने हुन्छ । जानेबेला भयो किन काम गर्ने ? भन्ने पनि हुन्छ नि मान्छेलाई ।
-कर्मचारीले असल सेवाग्राही पहिचान गर्ने, मर्कामा परेका सेवाग्राहीलाई सहयोग गर्ने, उहाँहरूको हितमा काम गर्नुपर्छ । निजामती सेवा सेवाग्राहीमैत्री हुनुपर्छ ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
म निजामती सेवामा २०६१ सालमा प्रवेश गरेको हो । अहिलेसम्म मैले बाजुरा, बझाङ, दैलेख, बर्दियालगायतको जिल्लामा काम गरें । मैले लामो समय काठमाडौंमा काम गरेँ । धेरै समय मेरो नीति-निर्माण तहमै मन्त्रालयमै बित्यो । मैले सुरुमा यस क्षेत्रमा आउँदा आउने सेवाग्राही आफ्नो समस्या भन्न नसक्ने, अप्ठ्यारो मान्ने, चेतनास्तर कम भएका र इमानदार पनि थिए काम गर्न सजिलो पनि थियो । अहिले चेतना स्तर बढेको छ, आफ्ना समस्या निर्धक्कसाथ राख्नसक्नुहुन्छ, सीधा कुरा पनि गर्न सक्नुहुन्छ । यसले काम गर्न सजिलो पनि भएको छ । पहिलाभन्दा अहिले के छ भने बिचौलियाहरू बढेका छन्, फेक कारोबार बढेको छ । यसले गर्दा सत्य र इमानदारभावले सहयोग गरिरहे पनि अहिले सबै मान्छे इमानदार र नौतिकवान् नभएको हुँदा केही बिचौलियालाई शंकाको भावनाले हेर्ने र निर्दोषलाई सहयोग गर्ने गरेको छु ।

आफूले गरिदिएको कामबाट निकै खुसी भएको सेवाग्राही र आफूलाई पनि निकै आत्मसन्तुष्ट भएको जो अझै स्मरणीय लाग्ने कुनै घटना छ ?
कहिलेकाहीँ नागरिकताको केसमा के हुन्छ भने स्थानीय तहबाट लेखेर पठाउँदा सानोतिनो त्रुटि हुन्छ । सामान्य प्रक्रिया नमिलेकोलाई सहजीकरण गरिरहेका छौं । चितवनमा हुँदा एक महिला नेपाली नागरिक हुनुहुन्थ्यो । उहाँका बुबा पनि नेपाली नागरिक । श्रीमान् पनि नेपाली नागरिक, पछि बेलायतको सेना भएर जानुभएछ । नेपालमा रहेको श्रीमतीको नागरिकता नबनाइदिँदै उतै दोस्रो विवाह गरेछन् । घरजम गरेछन् । यता ती महिलालाई नागरिकता नपाएर गाह्रो भइरहेको थियो । हामीले उहाँको सबैकुरा बुझेर श्रीमान्‌ले छोडेको, एउटा छोरा रहेछ सबै स्थिति बुझेर वडासँग समन्वय गरेर, प्रहरी मुचुल्का बनाएर नेपाली नागरिकलाई नागरिकता दिनुपर्छ भनेर माइतीकै थर राखेर नागरिकता दिलायौं । लगभग उहाँको उमेर ४० वर्षको थियो तर नागरिकताविहीन । नागरिकता बनेपछि उहाँ निकै खुसी भएर जानुभयो । मलाई पनि यो कामले आत्मसन्तुष्टि दिएको छ ।

कामका दौरान कस्ता–कस्ता दबाब आउँछन् ?
दबाब त आउँछन् । हामी जिल्लामा बस्दा धेरै दबाब खेप्नुपर्छ । कहिलेकाहीँ जबरजस्ती करणीको मुद्दा दर्ता नगरी’दे । दर्ता नगर् भनेर प्रहरीलाई भन्दे, नहुने काम गरिदिनुपर्‍यो, नमिल्ने काम पनि गर्नुपर्‍यो भनेर अनुरोधहरू आउँथे । हामीले नहुने काम गर्नुभएन । मैले उहाँहरूलाई सम्झाउथेँ मैले दुःखले जागिर खाएको हो । यसरी गलत कार्य गर्दा मेरो करियर जान्छ भन्थें कतिले बुझ्नुहुन्थ्यो कतिले निहुँ खोजेर मन्त्रालयमा कुरा लिएर जानुहुन्थ्यो । यो सीडीओले पैसा माग्यो, यो गर्‍यो भनेर आरोप लगाउनुहुन्थ्यो । म दैलेखमा सरुवा भएर हिँड्दा यो ठीक थिएन मैले सरुवा गरेको हो भन्ने, हुम्लामा पनि त्यस्तै भन्ने गरे केहीले । जिल्लाबाट हिँड्नेबेला खेद्ने कल्चर हामीमा पनि छ ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
दाइहरू पनि निजामती सेवामा लाग्नुभएको, किसान परिवारको छोरा, निम्न मध्यम वर्गीय परिवारमा भएपछि राजनीति गर्न पनि आर्थिक हैसियत नपुग्ने । मिहिनेत गरेर दुःख गरेर जनातको सेवा गर्ने ठाउँ कहाँ छ भन्दा निजामती सेवा । यहाँ कसैको पावर पनि नलाग्ने । यता मिहिनेत गरेपछि क्षमताअनुसारको काम पनि पाइने । साथीभाइहरूको वातावरण र व्यापार गर्न आर्थिक कारणले नसकिने भएकाले नै हो । एसएलसी पास गरेपछि पढाइ सकियो भन्नुहुन्थ्यो बा-आमा त्यसपछि काम गर्नुपर्ने बाध्यता थियो । शिक्षक हुन फोर्स लगाउनुपर्ने भनेका बेला नखुल्ने थियो अवस्था ।

निजामती सेवा प्रवेशका लागि सन्दर्भ सामग्री कसरी जुटाउनुहुन्थ्यो ?
म ब्याचलर सकेर काठमाडौंमा पढ्न आएको थिएँ । काठमाडौंमा पनि लोकसेवाका लागि पढाइ हुने ठाउँ कमी नै थियो । त्यसले गर्दा घरमै बसेर मिहिनेत गर्नुपर्थ्यो । मिहिनेत गरेर खरिदारमा नाम निकालें । अनि राष्ट्रिय मुद्रा संग्रहालय छाउनीमा गएँ । त्यहाँको वातावरण कस्तो रहेछ भने त्यहाँका खरिदारहरू ठूलो पोस्टमा नाम निकालेर जानुभएको रहेछ । त्यहाँ काम कम हुने र पढाइकै वातावरण बन्यो । अफिसमै पढ्ने वातावरण बन्यो । पछि ट्युसन सेन्टरमा पनि खुले अफिसमा साथीहरूसँग ग्रुपमा पढियो ।

निजामतीतर्फ नयाँ पुस्ताको आकर्षण कस्तो छ ?
अहिलेको पुस्ता दुई किसिमका छन् । राष्ट्रको सेवा गर्न चाहने, सोर्सफोर्स नचल्ने भनेर आर्थिक स्तर कमजोर भएकाहरूको आकर्षण यहाँ छ । कोही पैसा हुँदैन, खानै गाह्रो हुन्छ सरकारी जागिरले, सरकारी जागिरले आर्थिक उन्नति हुँदैन, योभन्दा युरोप अमेरिका अथवा विदेश जान ठीक हुन्छ भन्ने सोचाइ राख्ने छन् । अहिलेको अवस्थामा निजामती सेवा समावेशी छ । दलित, महिला, जनजाति सबै छिर्न सक्ने भएकाले आकर्षणको दायरा पनि फराकिलो भएको छ ।

निजामती सेवामा किन चाँडो–चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
व्यक्तिगत रूपमा सरुवा राम्रो हो । व्यक्तिको वृत्तिविकास पनि हुन्छ । धेरै ठाउँ घुम्न पाइन्छ, त्यहाँको अवस्था बुझ्न पाइन्छ । देश भ्रमण गर्न पाइन्छ त्यस हिसाबले त ठीकै हुन्छ । तर सरकारले कर्मचारी छिटो-छिटो सरुवा गर्दा काममा डिस्टर्ब हुने, कर्मचारी पनि हाई मोटिभेट भएर काम नगर्ने हुन्छ । जानेबेला भयो किन काम गर्ने ? भन्ने पनि हुन्छ नि मान्छेलाई ।

संघीयताअघि र संघीयतापछि निजामती सेवाको कार्यसम्पादन शैलीलाई कसरी लिन सकिन्छ ?
संघीयताअघि राज्यको संरचना फरक थियो । हिजो पञ्चायतकालमा राजाको वाणीहरू लेखेरै बसेको हामी निजामती कर्मचारीले । पछि लोकतन्त्र गणतन्त्र आयो निजामती कर्मचारी यसमै अडिनुपर्ने हुन्छ । अहिले संघीयतामा प्रत्यक्ष रूपमा हेर्नुपर्दा जनप्रतिनिधि थिएनन्, स्थानीय निकायमा कर्मचारीहरूले एक निर्णय लिनुपर्थ्यो । कामका हिसाबले फूर्तिफार्ती हुन्थ्यो । व्यस्त हुनुहुन्थ्यो होला । अलिकति उहाँहरूको चल्थ्यो होला अहिले प्रतिनिधिहरू भएकाले कम चल्छ होला । काम गर्न गाह्रो थियो । अहिले जनप्रतिनिधि भएकाले केही सहज छ । सबै रिझाएर रमाएर बस्ने स्वभाव भएकालाई हिजोको दिनमा ठीक थियो होला । संघीयतापछि थ्रेट आउने, नहुने काम गरिदिनू भन्ने, कामको वातावरण नदिने, कर्मचारी हिँड्नुपर्ने अवस्था ल्याउने, कतिको सरुवा भएको पनि अवस्था छ ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म त सन्तुष्ट छु । म आफूले गरेको काम र जागिरप्रति एकदम सन्तुष्ट छु ।

रुकुम-पूर्वको शान्ति–सुरक्षाको अवस्था अहिले कस्तो छ ?
ठीकै छ । शान्तिपूर्ण छ । हामीले चाडपर्वलक्षित सुरक्षा योजना पनि बनाएका छौं । प्रहरी, सशस्त्र प्रहरी परिचालन भएका छन् । हाम्रै कर्मचारी पनि बजार अनुगमनमा सक्रिय भएका छौं । समग्रमा सुरक्षा व्यवस्था राम्रो छ ।

जिल्लामा सञ्चारको असुविधालाई सहज बनाउनका लागि तपाईं अर्थात् जिल्ला प्रशासन कार्यालयबाट के पहल थाल्नुभएको छ ?
विभिन्न टावरहरू जोडिँदै आएकाले पनि यहाँको टावरले राम्रोसँग काम गर्न सकेको छैन । अप्टिकल फाइबर बिच्छ्याएको भए केही हुने थिएन । टावरले काम नगर्दा अप्टिकल फाइबरले काम गर्ने, फाइबरले काम नगर्ला टावरले काम गर्ने हुन्थ्यो समस्या हुने थिएन । टावर-टावर जोडिँदै आउँदा कुनै बीचको जिल्लाको टावर बिग्रियो भने यहाँको सेवा पनि अवरुद्ध हुने समस्या छ । अप्टिकल फाइबरका लागि लुम्बिनी प्रदेशको माननीयहरूसँग हामीले अनुरोध गरेका छौं । हामीले प्रयास गरिरहेका छौं । अबको एक वर्षमा यो समस्या समाधान हुन्छ जस्तो लाग्छ मलाई । यसको समाधान भनेकै अप्टिकल फाइबर बिच्छ्याउने हो ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
सबै कर्मचारीका तर्फबाट भन्नुपर्दा सेवाग्राही विभिन्न प्रकारका हुन्छन् असल सेवाग्राही पहिचान गर्ने, मर्कामा परेका सेवाग्राहीलाई सहयोग गर्ने, उहाँहरूको हितमा काम गर्नुपर्छ । हामी सेवाग्राहीमैत्री हुनुपर्छ । सेवाग्राहीको काम होस्, नहोस् उहाँहरूको चित्त बुझाउने, सन्तुष्ट बनाउनुपर्छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि गण्डकी प्रदेशअन्तर्गत पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीसँग कुराकानी गरेका थियौं । यसपटक हामीले लुम्बिनी प्रदेशको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटासँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

प्रतिक्रिया