बिहीबार, वैशाख २०, २०८१

‘देउसीको पैसाले वनभोज खान्थ्यौं’

कन्हैयासिंह परियार २०७८ कार्तिक १८ गते १३:२१

यो वर्षको तिहार मेरो आफ्नै काकाकाकीको निधनका कारण मनाउन पाउँदिनँ । खानपानमा भने सरिक भइन्छ । साथीभाइसँग रमाइलो गर्ने हो तर टीकाचाहिँ यो वर्ष लगाइन्न । म सानो छँदा मनाएको तिहार सम्झँदा रमाइलो लाग्छ । कतिपय कुरा त बिर्से पनि धेरै कुराहरू अझै सम्झनामै छ । म जन्मे-हुर्केको नेपालगन्ज हो । बाल्यकाल र पढाइ त्यहीँ पूरा गरें । मैले संगीतकर्मको आरम्भ पनि नेपालगन्जबाटै गरेँ ।

त्यो समयमा म नेपालगन्जमै साथीभाइसँग देउसी-भैलो खेल्थें । पटाका पट्काउने साथीभाइसँग रमाइलो गरेको अहिले खुब याद आउँछ । साथीभाइसँग मिलेर कहिलेकाहीँ बदमासी पनि गरिन्थ्यो । मान्छे सुतेकै ठाउँमा पटाका पनि पट्काइदिन्थौं । यस्ता बदमासी कति कति ।

उमेरसँगै देउसी–भैलो टिम बनाएर पनि खेलियो । नेपालगन्जका विभिन्न ठाउँमा, सरकारी कार्यालयहरू कर्मचारीहरूका आवासमा हामीले कला पस्किन्थ्यौं । देउसी–भैलो खेल्थ्यौं ।

त्यो बेलाका कलाकार स्व. फत्तेराम जिराम हुनुहुन्थ्यो । उहाँको श्रीमती र मेरो श्रीमतीले मित लगाएकाले पछि मैले मीत भन्ने गर्थें ।
उहाँपछि त्यो बेला केपी शाही, प्रदीप थापालगायत कलाकारहरू हुनुहुन्थ्यो । उहाँहरू सबै कलाकारहरू र हामी सबै गाउँ–गाउँमा गएर देउसी भैलो गाउँदा बिहान उज्यालो नै बनाउँथ्यौं । जिप रिजर्भ गरेर हामी नेपालगन्जको विभिन्न सरकारी कार्यालयहरूमा, कार्यालय प्रमुखका आवासहरूमा पुगेर देउसी–भैलो खेल्थ्यौं । अझ साथीभाइको सम्बन्ध रहेका ठाउँहरूमा पुगेर पनि खेल्थ्यौं । त्यसबेला खेलेको देउसी–भैलो अहिले निकै सम्झन्छु ।

त्यसबेला हामीहरू लंगुरबुर्जा एकदम खेल्थ्यौं । म पनि खुब खेल्थें । सानोमा एउटा लत हुन्छ । एक–दुई रुपैयाँ पाउनेबित्तिकै लंगुरबुर्जा खेल्न मन लाग्थ्यो । अलिअलि पैसा पनि कमाइन्थ्यो । खुब रमाइलो लाग्थ्यो मलाई लंगुरबुर्जा खेल्न ।

खानपिनमा सेलरोटी, फिनी, अनर्सा मलाई मनपर्छ । अझ मलाई एकदम मनपर्ने त अनर्सा हो । गुलियो हुन्थ्यो र मन पर्थ्यो सायद । फिनीचाहिँ मलाई त्यति मन पर्दैनथ्यो । खान त खान्थें म चियामा चोपेर खान मन पराउँथें ।

हाम्रोमा पिङ तिहारमा भन्दा दसैँमा धेरै खेलिन्थ्यो । तर म पिङ खेल्न त्यति रुचाउँदैन थिएँ । एकपटक खेलेको थिएँ । मलाई एकदम रिँगटा लाग्यो । नेपालगन्जको महेन्द्र पार्कमा राखिन्थ्यो पहिले–पहिले पिङ । त्यसपछि मलाई पिङ खेल्न मनै लागेन ।
पहिलाको तिहार अर्ग्यानिक थियो र अहिले एकदम डिजिटल भएको छ । अहिले मानिस क्यासिनोमा जान्छन्, ठाउँ–ठाउँमा जुवाका खालहरूमा भेटिन्छन् । तर पहिलेको भन्दा अहिले अलि विकृति आएको जस्तो लाग्छ मलाई ।

आजभन्दा २०/३० वर्षअगाडि जुन रमाइलो हुन्थ्यो, त्यो रमाइलो अहिले छैन । पैसाको विषयमा दिदीबहिनीहरूसँग खासै झगडा पर्दैनथ्यो । पैसा नै हुँदैनथ्यो के झगडा पर्नु र ? भाइबहिनीसँग झगडै नहुने त होइन तर यो बेलामा चाहिँ रमाइलो पर्व हो भन्ने लाग्थ्यो । तिहार दाजुभाइसँग गाँसिएको पर्व भएकाले पनि आत्मीयता बढी थियो ।

देउसीबाट उठेको पैसाले हामी वनभोज खान जान्थ्यौं । अहिले पिकनिक भन्ने चलन छ । हामी वनभोजका लागि बाँकेको चटार भन्ने ठाउँमा जान्थ्यौं । चटार धेरैपटक गइयो । पन्ध्रौं खोला भन्नेमा पनि वनभोज खान गइयो । त्यहाँ मेरो साथी नरेन्द्र भण्डारी, दीपेन्द्र गुरुङ अन्जला दिदीको छोरा पनि थिए । हामी धेरै साथीहरू तिहारमा खेलेको देउसी-भैलोबाट उठेको पैसाले वनभोज गएको सम्झना अझै ताजै छ ।

बबई खोलाको वारिभन्दा पनि पारि गएर खेल्नु राम्रो हुन्छ भन्दै पौडी खेल्थ्यौं, वनभोज खान्थ्यौं । सामान बोकेर जान्थ्यौं । त्यो बेलाका तस्बिरहरू अझै मसँग सुरक्षित छन् । जसलाई हेरेर म रोमाञ्चित हुन्छु ।

त्यो बेला मलाई एकदम सम्झना भनेको साथीभाइसँगको जुन संगत हुन्थ्यो त्यही नै लाग्छ । जुन मान्छेमा समय र परिस्थितिले ती साथ छुट्दै जान्छन्, पछि त्यही सम्झनामा रहन्छ । जसरी साथीभाइसँग झगडा, माया, साथ-सहयोग, स्नेह रहन्छ त्यो एकदम सम्झन्छु । तिहारका अवसरमा म सम्पूर्ण आफन्तजन, शुभचिन्तक तथा सबै नेपालीजनमा शुभकामना व्यक्त गर्न चाहन्छु ।

(गायक तथा संगीतकार कन्हैयासिंह परियारसँगनेपालखोजका लागि शम्भु रेग्मीले गरेको कुराकानीमा आधारित)

कन्हैयासिंह परियार

परियार गायक तथा संगीतकार हुन् ।

प्रतिक्रिया