आइतबार, वैशाख ३०, २०८१

इम्युनिटी बलियो बनाउने फलफूल !

डा. हेमराज कोइराला २०७८ मंसिर १ गते ११:०२

आज पूरै विश्व कोभिड-१९ को आक्रमणबाट आक्रान्त छ । हाल लाखौं मानिसको ज्यान लिइसकेको यो रोगलाई विश्व मानव समुदायले के कसरी नियन्त्रणमा लिनेछ भन्ने प्रश्न अनुत्तरित नै छ तर जसको प्रतिरक्षा प्रणाली सशक्त छ उसलाई यो रोगले त्यत्ति विघ्न ग्रसित बनाउन सक्दैन र हत्तपत्त ज्यान गई हाल्दैन । यसको ठीकविपरीत प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूलाई यो रोगले ज्यादाभन्दा ज्यादा ग्रस्तपार्ने एवं ज्यानै पनि जान सक्ने सम्भावना रहन्छ ।

यसर्थ प्रतिरक्षा प्रणालीलाई मजबुत पार्नुको विकल्प छैन । प्रतिरक्षा प्रणाली भोजन, व्याम र विश्राम, विचार एवं व्यवहारको सन्तुलित एवं समुचित उपयोगले सबल बन्छ । प्रतिरक्षा प्रणाली सबल भएको खण्डमा कोरोना भाइरस रोगलाई समेत सजिलै जित्न सकिने हुनाले यो रोग लागेकाले वा लाग्न सक्ने सम्भावना बोकेकाहरूले निम्न लिखित खानेकुराहरूलाई आफ्नो खानामा समावेश गर्नुपर्ने हुन्छ ।

अमला : अमला सबल प्रतिरक्षा प्रणालीका लागि अत्यन्त लाभदायक फल हो । अमलाको नियमित सेवनले शरीरमा भिटामिन, मिनरल्स, फाइबर र एन्टिअक्सिडेन्टको भरपुर मात्रामा आपूर्ति गर्छ । अमलामा प्रतिरक्षा प्रणालीका लागि अति आवश्यक भिटामिन सी पाइन्छ । यसैगरी सेलेनियम, क्रोमियम, तामा, जिंक जस्ता थुप्रै इम्युनिटी बलियो पार्ने खनिज पदार्थ पनि पाइन्छ ।

स्याउ : स्याउलाई फलहरूको राजा त्यसै भनेको होइन । स्याउमा अनेकौं प्रकारका सुक्ष्म पोषक तत्त्वहरू छन् । भिटामिन ए, बी, सीका अलावा स्यााउमा घुलनशील रेशा एवं एन्टिअक्सिडेन्टहरू पनि पाइन्छ । स्याउमा पाइने पेक्टिन नामक घुलनशील रेशाले पेटमा विद्यमान राम्रा ब्याक्टेरियाहरूलाई पोषण प्रदान गर्छ जसले पेटमा हुने संक्रमणसँग लड्ने एवं प्रतिरक्षा प्रणालीको कोषहरूको कार्य कुशलतामा मद्यत पुर्‍याउँछ ।

आँप : आँप पनि प्रतिरक्षा प्रणालीको लागि अत्यन्त लाभदायक खानेकुरा हो । आँपमा प्रतिरक्षा प्रणालीको सबलिकरणका लागि चाहिने भिटामिन सी, भिटामिन ई, बिटा–क्यारेटिन, पोटासियम, भिटामिन डी, भिटामिन बी कम्प्लेक्सेस पनि पाईन्छ । आँपको सेवनले तुरून्त शक्ति पनि दिन्छ ।

भुइँकटहरः भुइँकटहर पनि धेरैवटा पोषक तत्वहरूले भरपुर भएको फल हो । यसमा प्रशस्त मात्रामा क्यालोरी,कार्बोहाइड्रेट्स, चिल्लो प्रोटिन र खाद्यरेशा पाइन्छ । यसैगरी भिटामिन बी कम्प्लेक्सेस, भिटामिन सी र म्यागनीज, तामा, सोडियम, पोटासियम, म्याग्नेसियम जस्ता खनिज तत्वहरू पनि पाइन्छ । यी सबै पोषक तत्वहरूले प्रतिरक्षा प्रणालीलाई सबल बनाउन मद्यत गर्दछ । भुइकटहरको गुभोमा ब्रोमेलिन नामम घाउ खटिरा ठिक पार्ने र प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्ने तत्व पाईन्छ ।

अमिला फलफूल : कागती, अमला, मौसमी, जुनार, भोगटे, निबुवा, बिमीरो र सुन्तला जस्ता अमिला फलफूलमा प्रचूर मात्रामा भिटामिन सी पाइन्छ । भिटामिन सी प्रतिरक्षा प्रणालीका कोषहरू उत्पादनका लागि आवश्यक यौगिक हो । रूघामर्की, सर्दी, चिसोको एलर्जी, झाडापखाला, निमोनियाँ, औलो ज्वरो जस्ता रोगहरूलाई चाडो टिक गर्न पनि भिटामीन सी ले महत्वपूर्ण भुमिका खेल्छ ।

मेवा : मेवा भिटामिन सी र भिटामिन एले भरपूर फलफूल हो । एउटा मध्यम आकारको मेवामा हाम्रो शरीरलाई दैनिक चाहिने भन्दा डेढ गुणा ज्यादा भिटामिन सी पाइन्छ । भिटामिनका अलावा मेवामा माछामासुमा पाइने कठिन प्रोटिनलाई पचाउन सक्ने प्यापिन नामक इन्जाइम पनि पाइन्छ । यसका अलावा मेवामा पोटासियम, भिटामिन ए, भिटामिन बी कम्प्लेक्सेस र फोलिक अम्ल पनि पाइन्छ । यी सबै भिटामिन, खनिज, लवण एवं एण्टीअक्सीडेण्टले प्रतिरक्षा प्रणालीलाई सबल तथा मजबुत बनाउन एवं भाइरस संक्रमणलाई निस्तेज गर्न मद्दत गर्छ ।

किबी : किबी पनि प्रतिरक्षा प्रणाली सबल बनाउने फल हो । यसमा पनि प्रशस्त मात्रामा भिटामिन सी, भिटामिन बी र भिटामिन के पाइन्छ । यसैगरी यसमा पाइने एण्टिअक्सिडेण्ट मिनरल्स र अन्य फाइटोकेमिकल्सले पनि इम्युनिटीलाई शसक्त बनाउँँछ ।

पालुंगो : पालुंगो हरेक भान्साको चाहना हो । प्रचुर मात्रामा भिटामिन ए, बी कम्प्लेक्सेस, आइरन, म्याग्निसियम, पोटासियम जस्ता खनिज एवं लवणहरूले भरपुर पालुंगो एण्टिअक्सिडेण्टको राम्रो श्रोत पनि हो । यी द्रब्यहरूले प्रतिरक्षा प्रणालीका कोषहरूलाई सक्रिय बनाउन मद्दत गर्दछ । ब्रोकली जस्तै पालुंगोमा भएका द्रव्यहरू पनि तापले नष्टहुने खालका भएकाले यसलाई पकाउँदा कम तापमा पकाउनु पर्ने हुन्छ ।

रातो भेडे खुर्सानी : हामी सबैले अमिला फलफूललाई भिटामिन सी को राम्रो श्रोतको रूपमा बुझेका छौ तर अमिला फलफूलभन्दा रातो भेडेखुर्सानीमा भिटामिन सीको मात्रा दोब्बर हुन्छ भन्ने तथ्य धेरैलाई थाहा नहुन सक्छ । भिटामिन सीका अतिरिक्त रातो भेडेखोर्सानी बीटा क्यारोटीन, क्यालसियम, म्याग्नेसियम, भिटामीन बी कम्प्लेक्सेसको पनि राम्रो श्रोत हो । यी द्रव्यहरूले प्रतिरक्षा प्रणालीलाई मजबुत गर्न मद्दत गर्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया