मंगलबार, वैशाख १६, २०८२

देउवालाई सिंह, निधि र गुरुङको समर्थन, सभापतिमा सम्भावना बढ्यो

नेपालखोज २०७८ मंसिर २८ गते १४:३३

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज दोस्रो चरणको निर्वाचन हुँदैछ । हिजो भएको निर्वाचनमा कुनै उम्मेद्वारले पनि ५० प्रतिशत नकटाएपछि आज पुनः निर्वाचन भएको हो । कांग्रेस विधानमा सभापतिको चुनावमा ५० प्रतिशत मत नकटे पहिलो र दोस्रो मत ल्याउनेबीच प्रतिस्पर्धा गर्ने उल्लेख छ । आज बिहान मत परिणाम सार्वजनिक भएपछि एकाएक कांग्रेस महाधिवेशनको राजनीतिक माहोल तात्यो । मतपरिणाम सार्वजनिक हुनेवितिकै सभापतिका दुईजना प्रत्यासीहरू आफ्नो समर्थन जुटाउन दौडधूपमा लागेका छन् ।

कांग्रेस राजनीतिमा दूरुदर्शी नेताका रुपमा चिनिएका सभापति पदका प्रत्यासी शेरबहादुर देउवाले विहानै पहिलो चरणको निर्वाचनबाट बाहिरीएका सभापति पदका उम्मेद्वारलाई घरमै पुगेर भेटेका छन् । देउवा विमलेन्द्र निधिको निवासमा विहानै पुगेका थिए । केही समय भेट भएपछि निधिले देउवालाई सभापतिको उम्मेदवारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सभापतिको पहिलो चरणको चुनावमा निधिले २ सय ४९ मत ल्याएका थिए ।

यस्तै, नेता प्रकाशमान सिंहले सभापति पदमा देउवालाई समर्थन गर्ने भएका छन् । आज (मंगलबार) बिहान सिंहलाइ भेट्न देउवा सिंह निवास चाक्सीबारी पुगेका थिए । दुई जनाबीच भेटघाट भएपछि कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो समर्थन देउवालाई नै रहेको बताएका थिए । त्यसअघि संस्थापन पक्षका नेता एवम् गृहमन्त्री बालकृष्ण खाँडले सिंहलाई उनकै निवास चाक्सीबारी पुगेर भेटेका थिए । १४ औँ महाधिवेशनका सभापतिका उम्मेदवार सिंह ३ सय ७१ मत पाउँदै तेस्रो स्थान प्राप्त गरेका थिए । यसैगरी पहिलो चरणमा अर्का सभापतिका उम्मेदवार कल्याण गुरुङले पनि देउवालाई समर्थन गर्ने भएका छन् ।

वास्तवमा पहिलो चरणको निर्वाचनमा सभापतिका लागि पाँच जनाबीच प्रतिस्पर्धा भएको थियो । पहिलोमा शेरबहादुर र दोस्रोमा शेखर भएपछि पुनः उनीहरूबीच नै प्रतिस्पर्धा हुँदैछ । सिंह, निधि र गुरुङले समर्थन गर्ने भएपछि देउवालाई सभापति पद जित्ने आशा जागेको छ । नभन्दै ८२ भोटले मात्रै ५० प्रतिशत कटाउन नसकेका देउवालाई तीनजना पूर्व उम्मेदवारको पक्षमा रहेको ६ सय १९ मध्ये अधिकांश भोट सुरक्षित हुने देखिएको छ ।

यता देउवा बिहानै बरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा पनि पुगे । देउवाले प्रजातान्त्रिक आन्दोलनमा पौडेलको योगदानको प्रसंशा गरे । तर संस्थापन इतर समूहका भनेर चिनिएका वरिष्ठ नेता पौडेलले दोस्रो चरणको चुनावमा खुलेर नबोल्दा कोइराला केही अप्ठ्यारोमा भने परेका छन । पौडेललाई देउवाको पक्षमा खुलेर लाग्न उनी पक्षका कार्यकर्ताले दबाब दिएका छन् ।

देउवालाई पहिलो चरणका तीनजना सभापतिका उम्मेद्वारले समर्थन गर्ने खबर बाहिरीएसँगै प्रत्यासी कोइरालाले निर्वाचनबाट आफू पछि नहट्ने अडान लिएका छन् । कोइरालाविरुद्ध देउवा पक्षले बलियो गठन्धन बनाएको छ । पहिलो चरणको निर्वाचनमा सभापतिका लागि प्रतिस्पर्धा गरेका देउवा, सिंह, निधि र गुरुङ एक भएपछि कोइराला पक्षले चुनावमा प्रतिस्पर्धा नगर्ने खबर सार्वजनिक पनि भयो । तर, समाचारको वास्ता नगरी कोइराला पक्षले निर्वाचनमा प्रतिस्पर्धा गर्ने जनाएको छ ।

दोस्रो चरणको निर्वाचनका क्रममा देउवा पक्षमा बलियो गठबन्धन देखिएको छ । पहिलो चरणको निर्वाचनमा सम्मानजनक भोट ल्याएका सभापतिका प्रत्यासी कोइरालालाई अब जित्न भने सहज छैन । देउवासँग सिंह, निधि र गुरुङ त मिले । तर कार्यकर्ताले चाहिँ भोट हाले भने कोइरालाको पनि सभापतिको सम्भावना नकार्न सकिदैन । कोइराला पनि यही पर्ख र हेरको राजनीतिमा भएर नै पुनः चुनावी मैदानमा जान चाहेको हुनु पर्छ ।

प्रतिक्रिया