परम्परागत औषधि र आधुनिक विज्ञान

मैले भारतीय वैज्ञानिक डा. वन्दना शिवाबाट यससम्बन्धी धेरै ज्ञान हासिल गर्ने अवसर पाएको थिएँ । तराईको घर, घर बाटोमा हुने निमको रूख औषधिको भण्डार हो, सौन्दर्य र स्वास्थ्य कायम राख्न एउटा वरदान हो ।
निमको तेलबाट विभिन्न औषधि बन्छन् । निमको बारेमा एउटा भनाइ छ, ‘जहाँ निमको रूख हुन्छ, त्यहाँ बिरामी भागिहाल्छ ।’ वास्तवमा यदि निमको प्रयोग गर्न जान्ने हो भने मानव शरीरमा आइपर्ने कतिपय समस्याबाट मुक्ति मिल्छ । त्यसैले अहिले निमको क्याप्सुल बनाएर बेचिन्छ ।
आधुनिक औषधिको सुरुवातभन्दा अघि महिला स्वास्थ्य उपचारका लागि परम्परागत औषधिहरूले निकै ठूलो भूमिका निर्वाह गरेका थिए । परम्परागत ज्ञानको प्रयोग गरी वनस्पतिलगायत वस्तुबाट तयार गरिएका औषधिहरुको प्रयोगबाट स्वास्थ्य उपचार गरिन्थ्यो । आज पनि कतिपय अवस्थामा यस्तै परम्परागत ज्ञानको प्रयोगबाट औषधिहरु तयार गरी उपचार गरिन्छ । साथै यो परम्परागत ज्ञानलाई अध्ययन-अनुसन्धानबाट परिमार्जन गरेर विभिन्न उपचार पद्धतिको नामबाट संस्थागत रुपमा पनि स्वास्थ्य उपचार गरिँदै आएको छ ।
विगतमा परम्परागत ज्ञान र औषधिले जेनतेन धानिरहेको महिलाहरुको स्वास्थ्यमा आधुनिक औषधिको विकास भएपछि निकै राम्रो असर गर्यो । तर परम्परागत ज्ञानमा आधारित औषधि उपचारको प्रभाव र भूमिका भने अझै सकिएको छैन । चिकित्सा क्षेत्रमा करिब ३४ वर्षको मेरो अनुभवका आधारमा भन्नुपर्दा महिला स्वास्थ्यका लागि आधुनिक औषधिको प्रयोगको साथै घरेलु औषधिको प्रयोगको भूमिका पनि निकै रहिरहेको छ ।
मैले औपचारिक रुपमा आधुनिक चिकित्सा पद्धतिको ज्ञान हासिल गरे पनि गाउँघरमा बढी प्रयोग भइरहेको परम्परागत ज्ञानमा आधारित औषधि उपचारबारे पनि अध्ययन गर्ने र त्यो ज्ञानलाई विशेष गरी ग्रामीण क्षेत्रमा परिमार्जित रुपमा प्रयोगका लागि प्रोत्साहित गर्ने कार्यसमेत गर्दै आएको छु । यससम्बन्धी ज्ञान र अनुभवलाई मैले गाउँ र सहरका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाका साथै यस्तो सेवाको आवश्यकता पर्नेहरुलाई समेत बाँड्दै आएको छु । महिलाको प्रजनन् अंगको समस्या, जस्तो महिनावारी हुँदा गुप्तांग चिलाउने समस्या, सेतो पानी बग्ने आदि समस्यालाई पनि गाउँ घरका महिलाले निमको प्रयोगबाट समाधान हुन्छ ।
निमको पात पानीमा उमालेर मन तातो भएपछि बाटा वा चौडा मुख भएको भाँडोमा राखेर त्यस पानीमा बसेपछि गुप्तांग चिलाउने समस्याबाट केही आराम मिल्छ ।
धेरै पसिना निस्किएपछि कापामा चिलाएर घाउ हुँदा वा फोहोर पानीमा खेलेपछि बालबालिकाको जिउमा खटिरा आँउदा पनि निमको पात पिसेर लगाएपछि बिस्तारै सन्चो हुन्छ ।
आज भन्दा १० वर्षअघि जब स्वास्थ्यविज्ञ भएर म दक्षिण सुडान गएकी थिएँ । त्यहाँको राजधानी जुबामा पनि निमका ठूला-ठूला रूख थिए । ‘निम त अहिले जताततै छ । तर यसको औषधिको प्रयोग कसैले गर्दैन । गाउँमा बूढाबूढीले औंलोबाट बच्न र छालाको रोग भएको बेला प्रयोग गर्छन् । तर नयाँ पुस्ताका मानिसलाई त यसबारे थाहा छैन,’ एकजना सुडानी नर्सले मसँग भनेकी थिइन्, ‘तर म त महिलालाई यसको प्रयोग कसरी गर्न सकिन्छ भनेर सिकाउँछु ।
(डा. उप्रेतीको वालबाट)
प्रतिक्रिया