सोमबार, वैशाख ३१, २०८१

पीडाको पिरामिड बाट

विमल वैद्य २०७८ फागुन ७ गते ७:१७

मैले देख्ने जति आकाश
हेर्छु भन्या मात्र हो
हुन्न भन्छौ भने
भो नहेरौला,
तिमीले टेक्ने जति माटो
मैले पनि टेक्छु भन्या मात्र हो
इन्कार गर्छौ भने
भो, त्यो पनि नटेकौला,
म त पीडाको पीरामिडमा
समाधिस्त मान्छे
तिम्रै खुशी देखेर
युगौ सम्म रमाइदिन सक्छु,
खुशीहरू पोल्छन् भत्भति
दुख्ने क्षणहरू दुख्न छोडेका छन्
खुशी उमार्ने अवयवहरू
छिया/छिया परेका छन्
म घाइते मुस्कान बोकेर सधै
हरेक साँझ गोधुली बाट
मुस्कानसहितको चन्द्रमा उदाउने
कल्पनामा डुब्ने गर्छु
त्यो सायद तिमी नै हौ कि!
मैले त हाम्रो अस्तित्वलाई
आकार दिन खोजेको मात्रै हो
मान्दैनौ भने भै गो
म निराकार बाँचेर
तिम्रै अस्तित्वमा रमाइ दिन सक्छु ।

प्रतिक्रिया