शनिबार, वैशाख २२, २०८१

श्यामदास वैष्णवसँग

दिनेश अधिकारी २०७८ फागुन ७ गते १०:४१

वि. सं. १९८१ साल साउन कृष्ण सप्तमीका दिन काठमाडौंमा जन्मिएका श्यामदास वैष्णवका ‘रातको आँसु’, ‘उपहार’, ‘पतकर’ र ‘अन्तर्ध्वनि’ शीर्षकका कवितासङ्ग्रहसहित आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । वैष्णवका कविता २००१ सालदेखि प्रकाशनमा आउन थालेका हुन् भने तत्कालीन ने.रा.प्र. प्रतिष्ठानद्वारा पहिलोपटक २०२२ सालमा आयोजित कविता महोत्सवमा पुरस्कृत यी कविले थुप्रै नाटक निर्देशन र अभिनय गर्नुका साथै सम्पादन र अनुवादका माध्यमबाट समेत नेपाली साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका छन् । महाकवि देवकोटासँग निकट सम्बन्धमा रहेका कारण कतिपयले देवकोटालाई ‘व्यास’ र वैष्णवलाई ‘गणेश’ भनेको पनि सुन्नमा आएको छ। ‘वैष्णव’ उनको उपनाम हो। वास्तवमा यिनको थरचाहिँ मिश्र हो ।

यिनै श्यामदास वैष्णव र स्वर्गीय जनार्दन समले २०१८ साल पुसमा रेडियो नेपालका लागि कविशिरोमणि लेखनाथ पौड्यालसँग एउटा ऐतिहासिक अन्तर्वार्ता लिएका थिए र त्यो अन्तर्वार्ता फेला परेपछि प्राविधिक रुपमा केही सुधार गरी लोकप्रिय कवि, गीतकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालको सञ्चालनमा हामीले सुन्दै आएको रेडियो नेपालको अत्यन्तै लोकप्रिय कार्यक्रम ‘मधुवन’ ले बीस वर्ष पूरा गरेको अवसरमा रेडियो नेपालले केही साहित्यकार तथा संगीतकर्मीहरुलाई निम्त्याएर एकमात्र जीवित अन्तर्वार्ताकार श्यामदास वैष्णवको उपस्थितिमा उक्त अन्तर्वार्ता सुन्ने अवसर उपलब्ध गराएको थियो ।

हो, कवि श्यामदास वैष्णवसँगको मेरो यो तस्बिर त्यही दिन अर्थात् ६ साउन, २०७४ का दिन रेडियो नेपालको ठूलो स्टुडियो (१ नम्बर स्टुडियो) मा मेरो मोबाइलबाट संगीतकार टीका भण्डारीले खिचिदिनुभएको हो ।

प्रतिक्रिया