महालक्ष्मी विकास बैंकको अध्यक्षमा पुन : सर्वसम्मतरुपमा राजेश उपाध्याय

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को भिजनलाई आत्मसाथ गरेको महालक्ष्मी विकास बैंक लिमिटेडले स्थगित २०औं वार्षिक साधारण सभा गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठन, काठमाडौंमा बैंकले बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
आर्थिक बर्ष २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७७/७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरण छलफल गरी स्वीकृत भएको छ । यसैगरी वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ एक दशमलव शुन्य पाँच प्रतिशत नगद लाभांश गरि कुल २१ दशमलव शुन्य पाँच प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
सभाका अध्यक्ष उपाध्यायले शेयरधनीहरुबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दे बैंकले आगामी दिनमा थप प्रगति हाँसिल गर्ने कुरा बताए । साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षले पुर्याएको सहयोगको लागि धन्यवाद प्रकट गर्दे सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।
स्थगित २० औं वार्षिक साधारण सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपककुमार रौनियार र सर्बसाधारण समुह (ख) बाट श्यामसुन्दर रूङटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित भएका छन् । बार्षिक साधारणसभा सकिएपछि सोही दिन बसेको संचालक समितिको ५१८ औं बैठकले राजेश उपाध्यायलाई नै बैंकको अध्यक्ष पदमा सर्वसम्मतरुपमा पुन : चयन गरेको छ ।
प्रतिक्रिया