सशस्त्रको ‘सर्भाइकल क्यान्सर प्रिभेन्ट वर्कसप’

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले कल्याणकारी कार्यक्रमअन्तर्गत नेपाल एपीएफ अस्पताल बलम्बुमा महिला स्वास्थ्यसम्बन्धी सर्भाइकल क्यान्सर प्रिभेन्ट विषयक दुईदिने प्रशिक्षण आयोजना गरेको छ ।
क्यान्सर कियर नेपाल र प्रिभेन्ट क्यान्सर फाउन्डेसन यूएसएको सहयोगमा सञ्चालन गरिएको प्रशिक्षणको नेपाल एपीएफ अस्पतालका प्रमुख प्रा. सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. रूपक महर्जन र क्यान्सर कियर नेपालका डा. मदन पियाले फागुन २० गते संयुक्त रुपमा उद्घाटन गरेका हुन् । त्यस अवसरमा क्यान्सर कियर नेपाल र प्रिभेन्ट क्यान्सर फाउनडेशन यूएसएले दुर्गम क्षेत्रमा समेत लगेर महिलाहरूको पाठेघरको सेकाई गर्न मिल्ने पोर्टेबल थर्मल एब्लेसन मेसिन नेपाल एपीएफ अस्पताललाई हस्तान्तरण गरेको छ ।
प्रशिक्षणमा नेपाल एपीएफ अस्पतालका विषेशज्ञ डाक्टर प्रा. सशस्त्र प्रहरी उपरीक्षक सौजन्य कर्माचार्य, प्रोफेसर डा. जितेन्द्र परियार, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका प्रोग्र्राम डाइरेक्टर प्रोफेसर डा. सन्धा चापागाई, प्रोफेर श्यामकुमार जोशी र क्यान्सर कियर नेपालका डा. मदन पियाले क्यान्सर हुन सक्ने कारण, सो बाट बच्ने उपाय, क्यान्सर लागेपछि उपचार सम्भव छ वा छैन तथा क्यान्सर लागेपछि गरिने विविध उपचारको विधि र रोकथामको उपायहरूको बारेमा समेत प्रशिक्षण गरेका छन् ।
समारोहमा नेपाल एपीएफ अस्पताल, वीर अस्पताल, ओम समाज अस्पताल, नेसनल क्यान्सर अस्पताल र द युनिभर्सिटी अफ टोक्योका चिकित्सक तथा स्वास्थ्यकर्मी गरी ४० जनाको सहभागिता थियो । २०५९ असार १७ गते स्थापना भएको सशस्त्र प्रहरी परिवार महिला संघ निःस्वार्थ सेवा भावका साथ समाज सेवाको क्षेत्रमा निरन्तर क्रियाशील रहँदै सीमान्तकृत तथा पिछडिएका क्षेत्रका बालबालिकाहरूको निःशुल्क अध्ययन, जेहेनदार छात्रछात्रालाई छात्रवृत्ति प्रदान, विपत् प्रकोप पीडितहरूलाई राहत वितरण, देशका विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन, राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीका श्रीमतीहरूलाई स्वरोजगारमूलक तालिम प्रदान, जनचेतनामूलक कार्यक्रम सञ्चालन, रक्तदानलगायत वाग्मती सरसफाइ महाअभियानमा सहभागिता जनाउँदै आफ्नो क्षमताले भ्याएसम्म संघको उद्देश्य प्राप्तिमा निरन्तर क्रियाशील छ ।
प्रतिक्रिया