शुक्रबार, वैशाख १४, २०८१

टिका सानुले छेडिन रोयल्टी बहस, भन्छिन्, ‘बरु यूटुवको दोहोरी डिलिट गर्छु’

नेपालखोज २०७९ माघ १६ गते १३:३७

काठमाण्डौं । पछिल्लो समय लाइभ दोहोरी निर्माणको लहर चलेको छ । हरेकजसो टेलिभिजनमा दोहोरीका कार्यक्रम सञ्चालनमा छन् । कलाकारपिच्छेको यूटुव च्यानलबाट लाइभ दोहोरीको व्यापार भइरहेको पाइन्छ । त्यस्ता दोहोरीमा छाडापन बढ्न थालेको चिन्ता यथावत रहदै गर्दा पुराना भाकाहरु प्रयोग गर्दा सर्जकलाई पारिश्रमिक दिनुपर्ने विषय पनि बेलाबेलामा सतहमा आउँछन् । त्यसै सेलाउछन् ।

भाका प्रयोग गरेवापतको रोयल्टीको विषयमा फेरि एक पटक बहस छेडिएको छ । त्यो पनि चलेकी दोहोरी गायिका टिका सानुले । रोयल्टीकै किचलोका बीच दुई महिना यता लाइभ दोहोरी नखिचेकी उनले लामो तर्क पेश गर्दै सामाजिक सञ्जालमा विषय प्रस्तुत गरेकी छिन् ।

रोयल्टीको समान वितरणबारे कुनै नीति नबनेपनि भाका प्रयोग गरेवापत सर्जकको कचकचलाई टार्न ५ लाखको हाराहारीमा रकम बुझाइसकेको बताएकी छिन् । त्यस्ता सर्जकले कलाकारलाई पेलेर आम्दानीको ८० प्रतिशतसम्म रोयल्टी डिमाण्ड गर्ने गरेको टिकाको भनाइ छ । उनले भनेकी छिन्, ‘लाइभ सुटिङ गर्दा दिनभरी मादल बजाएर हात दुखाउनीलाई कति प्रतिशत ? बाँसुरी बजाएर घाँटी सुकाउनीलाई कति दिने ? सारङ्गी, हार्मोनियम, किबोर्ड, ढोलक, अक्टोप्याड बजाउनी कलाकारहरुलाई कति दिने ? क्यामेरा, क्यामेराम्यान, हल भाडा, अडियो/भिडियो, सम्पादन, दिमाग लगाएर दोहोरी गाउन आउने कलाकारहरुलाइ कति दिने ? सबै गर्दा एकदिन लाइभ सुटिङ गर्दा लगभग १ लाख ५० हजार खर्च लाग्छ । तपाइहरुलाई ५०/६० प्रतिशत दिएर म र मजस्ता कलाकारहरु कसरी बाँच्नु त ?’

आफ्नो स्टाटसमा टिकाले नयाँ भाकालाई दर्शकले खासै वास्ता नगर्ने भएकाले पुरानै भाका प्रयोग गर्नुपर्ने बाध्यता भएको बताएकी छिन् । उनले लाइभ दोहोरीकै कारण यूटुवमा भ्यूज नगएको र चर्चा नमाएको गीतलाई बुष्टको काम समेत गरेको तर्क पेश गरेकी छिन् । भाका प्रयोग गरेवापत गुनासो गर्ने सर्जकलाई भेटेर गोजीमा पैसा हालिदिने गरेको तितो यर्थाथ बताएकी उनले तिनै सजर्कको पेलान खपिरहनुपर्ने यर्थाथ ओकलेकी छिन् ।

उनले लेखेकी छिन्, सबैभन्दा पहिले सिस्टम बनाउनुहोस्, सुहाउँदो प्रतिशत तोक्नुहोस् । त्यो नीतिले सबैलाई चित्त बुझोस् । रोयल्टी सजिलै दिन सकियोस् ।’ उनले प्रश्न गरेकी छिन्, हरेक गीत दोहोरिए पो जिवन्त बन्छ, हैन र ? ‘जोशजाँगर सहित काम गरिरहेकालाई थिचोमिचो गर्नुहुन्छ । बाँचुन्जेल गरिखाने वातावरण बनाउँदैनौ । मरेपछि नानाथरि नाटक गर्नी ?’ उनले लोक संगीत भित्रको तितो यर्थाथमाथि टिप्पणी गरेकी छिन् ।

उनको स्टाटसमा अधिकांशले सहमति जनाएका छन् । ‘संगीत माला’का सञ्चालक कमल सरगम कमेन्टमा लेख्छन्, ‘कति चित्त बुझ्यो टिका जी, सङ्गीत माला तेरो पनि हो भन्दै म सँग समेत रोयल्टी मागेका छन् । म्यासेज प्रमाण छन् । हामी दिन तयार छौ तर नियम खोइ ? कुनै कार्यक्रम चल्यो भने पैसा चाहिने, नव कलाकार मार्ने यिनै पुराना पुस्ता हुन्, त्यसैले होला नयाँ पुस्तामा वितृष्णा जागेको ।’

दोहोरी गायिका आशा विसी टिकाको तर्कमा सहमति जनाउदै लेख्छिन्, ‘कस्तो मनको कुरा गर्नु भयो नि टीका । विचरा ! म एक लाख भ्यूज गएको त मेरो गित गाउनुभएको रैछ, पैसा चाहियो रे । हे भगवान ! तिनै गितमा टिकटकमा भिडियो बनाउदा धेरै धेरै धन्यवाद । मेरो गितमा टिकटक बनाउनु भएको रैछ खुशी लाग्यो रे । हरे ! तिम्रो मोटा बुद्धि ।’

दोहोरी गायक अर्जुन सिं खड्का नीति नियम निर्माणमा जोड दिन्छन्, भन्छन्, ‘धेरै राम्रो कुरा उठान गर्नुभयो बहिनी । अझै सर्जक भन्दा नि कम्पनीको दादागिरी देख्छु म त, एउटा नीति नियम त हुनैपर्छ । नत्र घाटा लाइभ दोहोरी संचालकलाई मात्र होइन, कलाकार, सर्जक र सिङ्गो लोक सङ्गीतलाई नै हुने हो ।’

गायक तथा संगीतकार बसन्त थापाले आफूले हालसम्म कुनैपनि भाकाको रोयल्टी नमागेको र नीति नबनुन्जेल नमाग्ने बताएका छन् । उनी लेख्छन्, ‘संगितको पर्यावरण बिग्रदो छ । मिलेर सन्तुलित बाँच्नु पर्छ भन्ने नै हो । बैनीले उठाउनु भएको विषय सान्दर्भिक छ । अग्रज संगितकर्मी तथा सम्बन्धित सरोकारवालाहरुको अन्तरक्रियाबाट नियमन गर्ने र वैज्ञानिक रोयल्टी वितरणका आधारहरूबाट समाधान खोज्नु पर्छ । लटरम्म फल्नका लागि जरासम्म मल पुगेमा फुल्न, फल्न र फेरी पलाउन सक्छ । फल्दा सबैलाई बाँडेर खान पुग्ला नत्र यस्तै ….र मैले कोही कसैलाई लाईभ दोहोरीबाट रोयल्टीको दाबी आज सम्म गरेको छैन र नियमन नहुन्जेल प्रयोग गर्न दिइरहने पनि छु तर गाउँदा अश्लिल हरकत नगरिदिए हुन्थ्यो लाग्छ ।’

कमेन्ट लेख्नेहरु केहीले राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान नेपाल र प्रत्यक्ष दोहोरी कलाकार संघलाई समेत मेन्सन गरेका छन् । उनीहरुले यस्ता नीति निर्माण र समस्या समाधानमा भूमिका खेल्नुपर्ने अधिकांशले सुझाव राखेका छन् । यी र यस्ता समस्याका बारेमा बेलाबखत विभिन्न औपचारिक तथा अनौपचारिक फोरममा कुरा उठेपनि कुनै पनि संघसंस्थाले निष्कर्षका लागि वकालत गर्ने हिम्मत गरेका छैन् । संगीतकर्मीलाई गोलबन्द गर्ने संस्था थपिदै गएपनि संगीत क्षेत्रको समस्या समाधानमा काम गर्ने गरि अघि बढेको देखिदैन् । उनीहरु साधारणसभा, अधिबेशन, भेला, बनभोज भन्दा माथि उठ्न नसकेको सरोकारवालाहरुले टिप्पणी गर्दै आएका छन् ।

प्रतिक्रिया