शुक्रबार, वैशाख ७, २०८१

मोटोपनको रोकथाम र उपचार

नेपालखोज २०८० जेठ ७ गते ५:५३

मोटोपन व्यक्तिको बडी मास इन्डेक्स (BMI) मापन गरेर पत्ता लगाइन्छ । यदि कुनै व्यक्तिको बीएमआई ३० भन्दा माथि छ भने, उसलाई उपचार आवश्यक हुन्छ । डब्ल्यूएचओका अनुसार २५ भन्दा माथि बीएमआई हुनु भनेको मानिसको तौल बढी हुनु हो ।

मोटोपन कसरी मापन गरिन्छ ? 

बीएमआई पत्ता लगाउन, शरीरको तौल (किलोग्राम) लाई उचाइ (मिटर) ले भाग गरिन्छ। हामीले युकेको राष्ट्रिय स्वास्थ्य सेवा बीएमआई क्यालकुलेटर सँग आफ्नो बीएमआई गणना गर्न सक्छौँ । बीएमआई का बारेमा विवादहरू पनि छन् । यसले उमेर र लिङ्गका आधारमा शरीरको तौलको कति प्रतिशत बोसो छ र मांसपेशी कति छ भन्ने कुरालाई ध्यानमा राख्दैन । 

उदाहरणका लागि भारोत्तोलकको बीएमआई ३० भन्दा माथि हुन सक्छ किनभने उसको शरीरमा बोसो भन्दा बढी मांसपेशी हुन सक्छ । यद्यपि संसारमा फ्याटको सही मात्रा मापन गर्न सक्ने उपकरणहरू पनि छन् तर ती व्यापक रूपमा उपलब्ध छैनन्। “शरीरको बोसो नाप्ने सबैभन्दा राम्रो तरिका भनेको चुम्बकीय अनुनाद इमेजिङ (एमआरआई) प्रयोग गर्नु हो,” बेलायतको युनिभर्सिटी अफ अल्स्टरका इन्डोक्राइनोलोजीका प्राध्यापक अलेक्जान्डर मिरासले भनेका छन् । 

यद्यपि, एमआरआईहरू महँगा हुन्छन् र यो प्रायः अनुसन्धान उद्देश्यका लागि शरीरको बोसो निर्धारण गर्न प्रयोग गरिन्छ । शरीरको बाँकी भागको तुलनामा पेटमा हुने अतिरिक्त बोसो स्वास्थ्यका दृष्टिले बढी हानिकारक हुन्छ । यही कारणले गर्दा डाक्टरहरूले व्यक्तिको स्वास्थ्य परीक्षण गर्दा बीएमआईको सट्टा कम्मर नाप्ने सल्लाह दिन्छन् ।

मोटोपनको रोकथाम र उपचार

व्यक्तिगत स्तरमा मोटोपनबाट जोगिने उत्तम उपाय भनेको चिनी र बोसो कम भएको सन्तुलित आहार खानु हो । फलफूल, तरकारी, अन्न र सुख्खा फलफूल बढी खानुपर्छ । डब्लूएचओ ले दिनको करिब २० मिनेट व्यायाम गर्न सुझाव दिन्छ । यद्यपि सार्वजनिक नीति र स्वास्थ्य प्रणाली राम्रो भए मात्रै व्यक्तिगत स्तरमा गरिएका प्रयास सफल हुन सक्छन् । 

किंग्स कलेज लन्डनका मेटाबोलिक र बेरियाट्रिक सर्जरीका अध्यक्ष फ्रान्सेस्को रुबिनोले द ल्यान्सेटलाई भनेका छन् , ‘कारण जेसुकै होस्, व्यक्ति स्वयं लाई उसको मोटोपनका लागि जिम्मेवार मानिन्छ र यो घटाउन पनि उनीहरू नै जिम्मेवार छन् भनिन्छ। यसो भन्नेमा डाक्टरहरू पनि पर्छन्।’ मोटोपन दीर्घकालीन रोग हो, त्यसैले चिकित्सकले यसमा दीर्घकालीन उपचार गर्नुपर्छ । यसमा जीवनशैली परिवर्तनहरू समावेश हुन सक्छन् । जस्तै : खाने बानी सुधार गर्ने, सन्तुलित आहार खाने, चाल चलन, आनीबानी परिवर्तन गर्ने, शारीरिक गतिविधि बढाउने आदि । एकै पटक धेरै तौल घटाउनु हुँदैन । 

शरीरको तौलमा १० प्रतिशत कमीले पनि मोटोपनका कारण हुने समस्यालाई कम गर्ने अध्ययनले देखाएको छ । ६ महिनासम्म राम्रो तरिकाले उपचार गरियो भने यति धेरै तौल सजिलै घटाउन सकिन्छ । त्यस पछि अतिरिक्त वजन कम गर्ने उपायहरू डाक्टरहरूसँग छलफल गर्नुपर्छ ।

औषधि र शल्यक्रिया

 सन्तुलित आहार र पर्याप्त व्यायाम गरेर पनि राहत नपाउनेहरूका लागि अमेरिकामा मोटोपनको उपचारार्थ केही औषधिको प्रयोगलाई अनुमति दिइएको छ तर त्यसका केही साइड इफेक्ट पनि छन् । तौल घटाउने उपचारका लागि अमेरिकामा सेमग्लुटाइड इन्जेक्सनको प्रयोगलाई अनुमोदन गरिएको छ । यो बेलायतको स्वास्थ्य र हेरचाह उत्कृष्टताका लागि राष्ट्रिय संस्थान (एनआईसीई) द्वारा पनि अनुमोदन गरिएको छ । 

यो इन्जेक्सन ओजेम्पिक, वेगोवी वा रिबेल्सस ब्रान्ड अन्तर्गत बेचिन्छ। सन्तुलित आहार र पर्याप्त व्यायामका साथसाथै यो सुई लगाउनाले १० प्रतिशतभन्दा बढी तौल घटाउन सकिन्छ । यो सुई हप्तामा एक पटक लिनुपर्छ। यसले वाकवाकी, बान्ता, पखाला तथा कब्जियत जस्ता साइड इफेक्टहरू निम्त्याउन सक्छ। गम्भीर मोटोपन भएका व्यक्तिहरूका लागि अर्थात् ४० भन्दा बढी बीएमआई भएकाहरूका लागि ग्यास्ट्रिक बाइपास जस्ता बेरियाट्रिक सर्जरी पनि एउटा विकल्प हो । -एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया