शनिबार, असार २१, २०८२

साउनमा कस्तो रङको पहिरन लगाउने ?

नेपालखोज २०८० साउन ७ गते ५:३२

भगवान् शिवको प्रिय महिना साउन महिना सुरु भएकाे छ । यो महिना भगवान् भोलेनाथको विधि पुर्वक पूजा गरिन्छ । भगवान् शिवशंकरको वर्षभरि नै भक्तिपूर्वक पूजा गरिए पनि साउन महिनाको कुरा अर्कै छ । यो महिना निकै पवित्र मानिन्छ । साउन महिनामा देशभरका प्रायः सबै शिव मन्दिर तथा शिवालयहरुमा भक्तजनको भीड लाग्दछ ।

भनिन्छ, साउनमा महादेव कुनै व्यक्तिसँग प्रसन्न भए उसको सबै पीडा हर्छन् । यही कारणले गर्दा मानिसहरू पूजा(आराधना गरेर भगवान शिवलाई प्रसन्न तुल्याउने प्रयास गर्छन्। यो महिना भगवान शिवको आशीर्वाद प्राप्त गर्न उनलाई मनपर्ने रङको पहिरन लगाएर पूजा गर्ने चलन छ ।

त्यसो त भगवान शिवशंकरको वर्षभरि नै भक्तिपूर्वक पूजा गरिन्छ तर यो महिना निकै पवित्र मानिन्छ । शिवजीलाई साउन महिनाको देवता भनिन्छ । यो महिना वर्षायाम हुने भएकाले चारैतिर हरियाली छाएको हुन्छ भने जताततै हरिया रुख र बोटबिरुवाहरू देखिन्छन् । हरियो रंग भोलेनाथलाइ मनपर्ने रङ मानिन्छ ।

यही कारणले गर्दा मानिसहरू भगवान शिवको पूजामा हरियो वस्त्र लगाउँछन् । भगवान शिवको पूजा गर्दा हरियो बाहेक सुन्तला, पहेँलो, सेतो वा रातो कपडा पनि लगाउन सकिन्छ । धार्मिक शास्त्र अनुसार यी रङहरू पूजाका लागि उपयुक्त मानिन्छन् । भगवान शिवको पूजा गर्दा कालो कपडा कहिल्यै लगाउनु हुँदैन । यो रङ भोलेनाथलाई मन नपर्ने विश्वास गरिन्छ । यही कारणले साउने सोमबारको पुजामा कालो रंगलाई निषेधित मानिन्छ ।

भगवान शिवको पूजा गर्दा फोहोर लुगा लगाउनु हुदैन जसले गर्दा पुजाको शुभ फल प्राप्त हुँदैन । भगवान शिवको मात्र होइन, कुनै पनि प्रकारको पूजामा धोइएको सफा पहिरन लगाउनुपर्छ । पूजाका लागि नयाँ लुगा नै लगाउनु पर्छ भन्ने छैन तर रंगमा भने ध्यान दिनु उपयुुक्त हुन्छ ।

माथि उल्लेखित जानकारि प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह ( सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया