कविता : एकतिस
अर्जुन पराजुली
२०८० साउन २० गते १७:००

यिनीहरू हाँस्दै आए भने
सम्झनू – यिनीहरूले कसैलाई रुवाएर आए !
यिनीहरूले जन्मदिन लाए भने
सम्झनू- यिनीहरूको जन्मदिन काटेर खाए !
यिनीहरुले कसैलाई बेइमान भने-भने
सम्झनू- त्यो मान्छे इमानदार रहेछ !
यिनीहरूले- चोर आयो भने- भने
सम्झन्- आज घरको ढोका नलाई सुते भएछ !
यिनीहरूले रात पर्यो भने भने
सम्झनू- आँगनमा घामका किरणहरुको मेला भयो !
यिनीहरूले उज्यालो भयो भने भने
सम्झनू- अब सुत्ने बेला भयो
यिनीहरुले छाता ओढे भने
सम्झन्- आज पानी परेको छैन
यिनीहरूले शख फुके भने
सम्झनू- आज कोही मरेको छैन !
यिनीहरूले नमस्ते गरे भने
सम्झनू- एक महिनापछि चुनाव आउँदैछ !
यिनीहरूले सुम्सुम्याउन अगाडि सरे भने
सम्झनू- आज मेरो शरीरको कुनै अङ्ग हराउँदैछ ।

अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया