तालिबानले साना बालिकाको शिक्षामा पनि प्रतिबन्ध लगायो

अफगानिस्तान । अफगानिस्तानमा सत्तामा रहेको तालिबानले एकपछि अर्को क्रूर आदेश जारी गरेर जनताको जीवन कष्टकर बनाउँदै लगेको छ । विशेषगरी महिलामाथि लगातार कडा प्रतिबन्ध लगाउने उनिहरुको नीति छ ।
अहिलेसम्म त्यहाँ कलेज जान प्रतिबन्ध, स्थानीय तथा गैरसरकारी संस्थामा काम गर्न नपाउने, केटा–केटीका लागि छुट्टाछुट्टै विद्यालय र ब्युटी पार्लरमा प्रतिबन्ध आदि लागु भइसकेको छ । अब तालिबानले १० वर्षका बालिकालाई पनि विद्यालय जान प्रतिबन्ध लगाएको छ ।
तालिबानले कक्षा ३ वा १० वर्षपछिका छात्राहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएको हो । यसलाई लिएर तालिबान अधिकारीहरूले विद्यालय र शैक्षिक संस्थाहरूलाई चेतावनी दिएका छन्। यसअघि तालिबानले केटीहरूलाई कक्षा ६ सम्म मात्र विद्यालयमा पढ्न अनुमति दिएको थियो, जुन अहिले थप घटाइएको हो ।
समाचार अनुसार तालिबान शासित शिक्षा मन्त्रालयका अधिकारीहरूले गजनी प्रान्तका विद्यालय र शिक्षा संस्थानका प्रिन्सिपलहरूलाई १० वर्षभन्दा माथिका केटीहरूलाई अब प्राथमिक विद्यालयमा जान नदिने कुरा सुनिश्चित गर्न आग्रह गरेका छन्।
कतिपय प्रदेशमा प्रचार तथा मार्गदर्शन मन्त्रालयका स्थानीय अधिकारीले उमेरका आधारमा बालिकालाई छुट्याएको दाबी गरेको छ । यससँगै अधिकारीहरूले बालिका विद्यालयका प्रधानाध्यापकलाई कक्षा ३ माथिका छात्रालाई घर पठाउन आग्रह गरेका छन् ।
उल्लेखनीय कुरा के छ भने अफगानिस्तान बाट अमेरिका र नेटो सेना बाहिरिएपछि तालिबानले सेप्टेम्बर २०२१ मा केटीहरूलाई माध्यमिक शिक्षामा प्रतिबन्ध लगाएको थियो। त्यसपछि उच्च विद्यालयहरू केटाहरूका लागि मात्र खोल्न आदेश दिइयो ।
गत वर्ष डिसेम्बरमा तालिबानले महिलाहरूलाई कलेज र विश्वविद्यालयमा जान प्रतिबन्ध लगाएको थियो र हजारौं मानिसलाई स्थायी रूपमा विश्वविद्यालय शिक्षामा प्रतिबन्ध लगाएको थियो। संयुक्त राष्ट्र संघले हालैका महिनाहरूमा अफगानिस्तानमा शिक्षा र रोजगारी लगायत महिला तथा किशोरिहरूमाथि बढ्दो प्रतिबन्धका लागि तालिवानको आलोचना गर्दै आएको छ ।








प्रतिक्रिया