मंगलबार, फागुन १५, २०८०

‘हेम्फै’ नाच संरक्षणमा कुमाल समुदायको चासो

नेपालखोज २०८० माघ २६ गते १५:४५

ढोरपाटन (बागलुङ) । बागलुङमा थुप्रै कला, संस्कृति र परम्परा लोप भइसकेका छन् । केही लोप हुने अवस्थामा पुगे पनि स्थानीयले पुनः संरक्षण गरिरहेका छन् । खास गरी बागलुङका आदिवासी जनजातिले मान्दै आएका धेरै संस्कृति हराइसके । अल्पसङ्ख्यक मानिने कुमाल समुदायको जनसङ्ख्या बागलुङमा निकै कम छ । यस समुदायका आफ्नै कला, संस्कृति र परम्परा छ । लामो समयदेखि मान्दै आएको संस्कार र संस्कृति पनि लोप हुने अवस्थामा छन् । त्यसमध्येको एक हेम्फै नाच पनि हो । हेम्फै नाच एउटा लाहुरेको कथा हो । लाहुरे पल्टनबाट घर फर्कँदा लिएर आएकी उसको नवदुलहीलाई गाउँलेले लिएको परीक्षा पनि हो ।

जिल्लाको बडिगाड गाउँपालिका–२ को दनियाँ र सिमलचौर तथा गुल्मीको मुसीकोट वामीटक्सार बसोबास गर्ने कुमाल समुदायले यो नाच नाच्दै आएका छन् । एक पटक लोप भइसकेको हेम्फै यस पटकबाट फेरि नाच्न थालिएको हो । हेम्फै कहिलेबाट नाच्न थालियो भन्ने यकिन मिति पाउन मुस्किल छ । यद्यपि लाहुरेको कथामा भएकाले नेपाल अङ्ग्रेज युद्धपछि नेपाली भारतमा शासन गरिरहेको बेलायती इष्ट इण्डिया कम्पनी सरकारको सेनामा भर्ती हुन थालेपछि सुरु भएको हुनसक्ने अनुमान गरिन्छ । तर कुमाल नेपालको आदिवासी भएकाले त्योभन्दा अगाडि नै यो संस्कार सुरु भएको विश्वास छ । पछिल्लो समय यो नाच निकै कम भएको स्थानीय टेकबहादुर रानाले बताए ।

'हामी ससाना हुँदा आमाहरु नाच्नुहुन्थ्यो, बीचमा नाच्न छोडिएको थियो, अहिलेबाट फेरि नाच्न थालिएको छ, यसलाई हाम्रो पुर्खाले संस्कार र संस्कृति बनाएको थियो, जोगाउनुपर्छ भन्ने मान्यताले पुनः सुरुवात गरेका हौँ, कहिलेबाट सुरु भयो भन्ने हामीलाई केही पनि थाहा छैन, यो हाम्रो पुर्खादेखि चल्दै आएको हो', रानाले भने, “हामीले हराइसकेको त्यही परम्परालाई निरन्तरता दिइरहेका छौँ, हेम्फै नाच के हो र किन नाचिन्छ भन्ने जानकारी पाउन पनि निकै गाह्रो छ, एक समय त हामीले नाच्न पनि छोडिसकेका थियौँ, पछिल्लो समयमा यहाँ युवापुस्ताले पनि केही चासो देखाएपछि यो वर्षदेखि फेरि सुरु गरेका हौँ, यसको कुनै लिखित दस्तावेज छैन ।'

उनका अनुसार सांस्कृतिक महत्वका कला संस्कृतिको खोजी हुन थालेपछि अहिले कुमालहरु पनि हेम्फै जोगाउने अभियानमा लागेका छन् । अहिले जोडतोडले कला संस्कृतिका कुरा उठ्न थालेपछि आफ्नो संस्कार संरक्षण गर्न खोजेको उनको भनाइ छ । कला संस्कृति हराएपछि पहिचान नै नरहने भन्दै अहिलेदेखि युवा पुस्ताले चासो दिनुपर्नेमा रानाले जोड दिए ।

कसरी नाचिन्छ हेम्फै

चिटिक्क सजिएको, सानो टाउको, ठूलो शरीर, होँचो र छमछमी नाच्ने, अचम्मको एउटा महिला पात्र । अनि उनको पछिपछि लाहुर पहिरनमा पुरुष पात्र दर्शक दीर्घाको बीचमा छिर्छन् । वरिपरिका दर्शक अचम्मित देखिन्छन् । सबै जना खासखुस गर्न थाल्छन् । बीचमा कतैबाट प्रश्न आउँछ, कहाँबाट ल्याएको रु कस्ती डल्ली रु के काम गर्ली रु हामीकहाँ हुने काम आउला कि नआउला रु त्यसपछि लाहुरेले गीत सुरु गर्छन् ।

माला र मधेसबाट, आयो मेरो हेम्फै
दैलो खोल हेम्फै
ढोग गर हेम्फै

लाहुरले पछिपछि यसरी गीतमार्फत् आफ्नी प्रियसीलाई निर्देशन दिँदै जान्छन् । अघिअघि हेम्फै गीत सङ्गीतका तालमा सबै क्रियाकलाप गर्दै जान्छिन् । घरको ढोका खोल्छिन् । घरपरिवार र आफन्तजन सबैलाई साइनोअनुसारको दर्शन भेट गर्छिन् । त्यसपछि पालो आउँछ घरभित्र र घरबाहिरको कामको परीक्षा लिने ।

माला र मधेसबाट, आयो मेरो हेम्फै
दैलो लिप हेम्फै
मकै पिस हेम्फै 
आटो छिन्काउ हेम्फै

ढिकी कुट हेम्फै

यस्तै यस्तै गीतका शब्दअनुसार नृत्यसँग ती सबै क्रियाकलाप गरेको हाउभाउ हेम्फैले देखाउँछिन् । ‘लाहुरेले उतैबाट लिएर आएको केटीले गाउँघरको चाल चलन जान्दो हो कि छैन होला, काम गर्न आउँछ कि आउँदैन भनेर प्रश्न उठेपछि लाहुरेले सबै कुरा गीतबाट गर्न लगाउने र हेम्फैले हाउभाउमार्फत् गरेर देखाउने नाच हेम्फै हो’, स्थानीय गोमबहादुर रानाले भने, ‘सबै कुरा हाउभाउमा देखाएपछि गाउँलेहरुले बल्ल चित्त बुझाउँछन्, सबै प्रश्नको उत्तर पाएपछि हेम्फैलाई घरभित्र पस्ने अनुमति दिइन्छ, हेम्फैभित्र प्रवेश गरे पनि लाहुरे बाहिरै रहन्छन् ।’

माला र मधेसबाट आयो मेरो हेम्फै
भित्र पस हेम्फै

हेम्फै कुमाल जातिको एउटा ऐतिहासिक सांस्कृतिक नाच हो । परापूर्वकालदेखि कुमाल जातिमा देखाउँदै र नाच्दै आएको तर अहिले लोपोन्मुख अवस्थमा पुगेको छ । हेम्फैको खास अर्थ आजकालका कसैले पनि भन्न सक्दैन । यद्यपि यसको अर्थ केटाकेटीबीचको सम्बन्ध हो भन्ने बुझ्न सकिन्छ । यो परम्परा रोधी बस्ने चलनसँग पनि सम्बन्धित देखिन्छ । रोधीघरमा लाहुरेले मलायबाट फर्किँदा ल्याएकी दुलही लिएर जान्छन् । जहाँ उनको नव दुलहीको परीक्षा हुन्छ । लाहुरेले प्रेमिकाका सकारात्मक कुरा गर्ने, आफूले जीवनभर धोका नदिने वाचा गर्ने र रोधीमा उपस्थित सबैसँग रमाइलो गर्ने र बिहान लाहुरबाट ल्याएको कोसेली सबैलाई बाँड्ने काम हुन्छ ।

हाम्रा सांस्कृतिक पर्व, नाच आदि सामाजिक परिवेशसँग जोडिएका छन् । तत्कालीन अवस्थामा त्यो नै सामाजिक परिवेश थियो र उनीहरु त्यसैमा रम्ने गरेको गोमबहादुरले बताए । त्यति बेला रमाइलो गर्ने अरु कुनै माध्यम नभएको, यसैलाई मनोरञ्जनको रुपमा अपनाएको र यो धार्मिक मान्यतासँग पनि कतै न कतै जोडिएको पाएको उनको भनाइ छ । कुमाल समुदायले हरेक शुभकार्य गर्दा हेम्फैलाई सम्झने प्रचलन रहेको भन्दै अहिले भने आधुनिकता र प्रविधिको विकाससँगै त्यस्ता मौलिक संस्कृति सङ्कटमा पर्दै गएका राना बताए ।

कहिले नाचिन्छ हेम्फै

खासगरी भाद्र कृष्ण पक्षको औँसीमा सुरु गर्ने तथा शुक्ल पक्षको पूर्णिमामा विशेष पूजा आराधनासहित सम्पन्न गर्ने गरी नाचिने हेम्फै नाच संरक्षण गर्ने उद्देश्यले हिजाआज मेला, पर्व र विभिन्न महोत्सवमा पनि देखाउने गरिएको छ । एकातर्फ रोधी घरमा सहभागीले रोधी गाउँछन् । लाहुरेले हेम्फैको सबै क्रियाकलापबाट घर समाजलाई अवगत गराउँछन् । अर्कोतर्फ कमेरो र माटोको प्रयोग गरेर बनाइएका चन्द्रमा र सूर्यको प्रतीकमा उपस्थित सबैले फूलले पूजा गर्ने चलन रहेको छ ।

रातभर हेम्फै र लाहुरेलाई नचाई बिहान तिनै उपवास बसेको दुई कन्याले ती चढेका सबै फूलको डोली बनाई सबै जना नाच्दै गाउँदै नदी किनारमा लगी सेलाउने चलन रहेको टेकबहादुर रानाको भनाइ छ । हेम्फैमा रोधीलाई रमाइलो बनाउनका लागि बीचबीचमा हेम्फैको गीत रोकी विभिन्न व्यङ्गात्मक र ठट्टा शैलीका गीतमार्फत् प्रस्तुत गरेर रमाइलो गर्ने चलन रहेको उनले बताए ।

प्रतिक्रिया