आइतबार, असार १, २०८२

गजलसङग्रह ‘साधना’ विमोचन

नेपालखोज २०८२ असार १ गते १९:५८

काठमाडौं । नेपाली गजललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यकका साथ गजल प्रवद्र्धन केन्द्र, नेपाल घोषणा गरिएको छ । यहाँ आज आयोजित एक समारोहबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त केन्द्रको घोषणा गरेका हुन् ।

समारोहमा कुलपति राईले स्रष्टालाई गजल लेखनको प्रशिक्षणसहित कृति प्रकाशन र सङ्गीतबद्ध गर्नेसम्मको सहयोग गर्ने उद्देश्य रहेकाले गजल प्रवद्र्धन केन्द्र अरूभन्दा पृथक रहेको बताए ।

नेपाली भाषाका प्रथम गजलकार युवा कवि मोतीराम भट्टको नामबाट ‘मोती गजल पुरस्कार’ स्थापनाको माग सम्बोधनका लागि आफूले प्रयास गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

कुलपति राईले गजल प्रवद्र्धन केन्द्रले गजलको विकास र प्रवद्र्धनका लागि ल्याउने उपयुक्त योजना तथा कार्यक्रमलाई प्रतिष्ठानले भरपुर सहयोग गर्ने आश्वासन दिए ।

केन्द्रका संरक्षक तथा बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा घनश्याम न्यौपाने परिश्रमीले दुई दशकअघि देखेको सपना गजल प्रवद्र्धन केन्द्रको माध्यमबाट पूरा हुने आशा व्यक्त गरे । ‘अब संस्थागत रूपमा नेपालभित्र विभिन्न भाषामा गजलको विस्तार र प्रवद्र्धनमा सबैको सहयोग प्राप्त हुने विश्वास छ’, उनले भने ।

कार्यक्रममा केन्द्रका महासचिव एलपी पराजुलीले गजल प्रवद्र्धन केन्द्रको उद्देश्य र कार्ययोजनाबारे प्रष्ट पार्नुभएको थियो । केन्द्रका सल्लाहकार डा देवी पन्थीले साहित्यमा धैर्यपूर्वक लाग्नेले सफलता पाउने उल्लेख गरे ।

सो अवसरमा नेपाली भाषा र व्याकरणको शुद्धतालाई पालना गर्दै ७५ गजलकारद्वारा लिखित संयुक्त गजलसङग्रह ‘साधना’को विमोचन गरिएको थियो ।

यस्तै केन्द्रका संरक्षक डा घनश्याम न्यौपाने परिश्रमीले नेपाली गजल क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यस्तै साधना संयुक्त गजल सङ्ग्रहका लागि योगदान पु¥याएबापत् विमुन्स पौडेल र ध्रुवप्रसाद गजुरेललाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, गायिका पूजन मिश्र, किशोर कोइराला, अरुण खड्का, शर्मिला तिमल्सिना, सुधिर थापा, उत्तम विचार, वासुदेव ठकुरी, कल्पना भट्टराई, सङ्गीता खरेल, राजेन्द्रकुमार बज्राचार्यलगायतले गजल सुनाउनु भएको थियो ।

कार्यक्रमको सभापतित्व गजल प्रवद्र्धन केन्द्र, नेपालका अध्यक्ष अरुणकुमार श्रेष्ठले तथा कार्यक्रम सञ्चालन केन्द्रका कोषाध्यक्ष विमुन्स पौडेलले गरेका थिए । -रासस

प्रतिक्रिया