ट्याक्स हेभेन नेपालमा दिइने छुटबाट भएको ब्रम्हलुट !

कम्प्युटरको हार्डवेयरको सानो व्यवसायबाट सुरु गरेर देशकै ठुलो टेलिकम कम्पनीको मालिक बन्न सफल व्यक्ति हुन सतिश लाल आचार्य, नेपाली मूलका सिंगापुरमा बस्ने उनले सन् २००० को सुरुमा लाल साहु डिस्ट्रिब्युसन नामक कम्पनीमार्फत कम्प्युटरका सामानहरू बेच्न थाले । उनको यो व्यवसाय विस्तार क्याम्बोडियामा अप्लिफोन र स्मार्ट अक्सियाटा जस्ता टेलिकम कम्पनीहरूमा विस्तार भयो र यस वाट उनले राम्रै कमाइ गरे भने नेपालमा उनको व्यवसायिक कदमले ठुलो विवाद र सन्देह पैदा गरिदियो ।
सतिशलाल आचार्यका भाइ सचिनलाल आचार्यले आफ्नो नामबाट स्क्वायर नेटवर्क प्रा.ली.कम्पनी सञ्चालन गरेका थिए र यसै कम्पनीको मार्फत स्मार्ट टेलिकमको २० % हिस्सा प्राप्त गरेका थिए । स्क्वायर नेटवर्क प्रा.ली.र लाल साहु डिस्ट्रिब्युसन कम्पनी मार्फत यी दाजुभाइको व्यापारिक सञ्जाल एकसाथ फैलिएको देखिन्छ ।
सन् २०१३ मासतिश लाल आचार्यलेस्मार्ट टेलिकममार्फत नेपालको टेलिकम बजारमा प्रवेश गरी स्मार्ट टेलिकमको धेरै बजार हिस्सा कब्जा गरे । तर उनको यो कदमले कम्पनीको स्वामित्वको विषयलाई लिएर अन्य लगानी कर्ताहरूसँग ठुलै सङ्घर्ष भयो।यसमा उनले जालसाजी गरिएको, किर्ते हस्ताक्षर गरेको र गैर कानुनी तवरले कम्पनीको विशेष साधारण सभाहरू गरेको आरोप समेत लाग्यो । त्यति बेला उनका भाइ स्मार्ट टेलिकमका अध्यक्ष थिए र नराम्रोसँग यो विवादमा फस्न पुगे । यद्यपि उनले गलत तरिकाले सेयर खरिद-बिक्री गरेको कुरा अस्वीकार गरी कम्पनीका समस्याहरू समाधान गर्न नयाँ साझेदार भित्र्याइएको भनाइ प्रकाशमा ल्याए ।
सन् २०१६ मा स्विडेनको कम्पनीले एन सेल बेचेपछि, आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठको कम्पनी सुनिवेरा क्यापिटल भेन्चर्सले २० % सेयर किन्यो । बाँकी ८० % मलेसियाको अक्सियाटाले लियो । तर भावनाले यो पैसा कहाँबाट ल्याइन्त भन्ने प्रश्नमा उनीहरुले अक्सियाटाले आचार्यसँग जोडिएको एक विदेशी कम्पनीलाई ९० मिलियन डलर दिएको उल्लेख गरेका छन् । व्यवशायिक स्वार्थ बिना कुनै कम्पनीले यति ठुलो परिमाणमा रकम दिँदैन तसर्थ यो रकम नेपालको विदेशी लगानीको सीमालाई छल्न दिएको स्पष्टै छ र यसो हुँदा पनि राजनैतिक आडमा यस विषयलाई सामसुम पार्न आचार्य ब्रदर्श सफल रहे । आचार्य ब्रदर्शले एनसेलमा गरेको २० % सेयर लगानीले उनीहरूलाई ८० मिलियन डलरभन्दा बढी नाफा दियो, यद्यपि आचार्यले यो रकम अक्सियाटालाई यस अगाडी लिएको ऋण तिरेको कहीँ कतै वाट स्पष्ट पारेका छैनन् तसर्थ यसबाट अक्सियाटा र लाल साहु डिस्ट्रिव्यूटर सँग भएको यो सम्झौता नेपालमा कर छल्ने हिसाबले भएको भन्ने भनाइ लाई थप बल पुग्न गयो ।
सन् २०२३ मा आएर अक्सियाटाले आफ्नो ८० % सेयर स्वामित्व आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई जम्मा ५० मिलियन डलरमा बेच्यो, जुन २०१६ मा तिरेको १.३७ बिलियन डलरभन्दा निकै कम हो । एकाएक यति ठुलो नेटवर्क भएको कम्पनी यति सस्तोमा बिक्रिहुँदा नेपालको कानुनको ठाडो उलङ्घन गरियो । विशेष गरेर यो यो खरिदले नेपाल दूरसञ्चार प्राधिकरण वाट खरिद पूर्व अनिवार्य रूपमा लिनुपर्ने पूर्वअनुमति लिइएन । अक्सियाटा र लाल साहु डिस्ट्रिव्यूटरविच भएको यो अपारदर्शी र छलछाम पूर्ण कार्यलाई लिएर नेपालमा ठुलै विरोध भयो । नेपाल दूरसञ्चार प्राधिकरणले ऐन अनुसार खरिद पूर्व आचार्यले आफ्नो आर्थिक र प्राविधिक हैसियतको माप दण्ड पुरा नगर्न यो प्रपञ्च रचेको आरोप लगाई खरिद-बिक्री कार्यलाई अस्वीकृत गरिदियो ।
तर तत्कालीन प्रचण्ड सरकारले प्राधिकरणको अधिकार हातमा लिई गैर-कानुनी तवरवाट सरकारी छानबिनको नाममा विवादास्पद पूर्व महालेखा परीक्षकटंकमणि शर्माको संयोजकत्वमा समिति गठन गर्यो । यसैबिच एनसेलका सिइओ जब्बोर कायुमोभ, जो पहिले स्मार्ट टेलिकममा थिए, उनले यो खरिद-बिक्रीलाई भ्यालिडेट गर्न वक्तव्य निकाले र यो विवादमा फसे, जसले गर्दा यसमा झनै भित्री खेलको शङ्का बढायो ।
नेपालको कानुनले विदेशमा लगानी गर्न निषेध गरे तापनि आचार्य परिवारको व्यवसाय नेपालमा मात्र सीमित छैन । सतिश र भावनाले पासा होर्डिङ, स्क्वास स्टार, र अन्य कम्पनीहरूमा विदेशमा लगानी गरेका बुझिन्छ । सचिनको स्क्वास नेटवर्क,नेपालको टेलिकमसँग व्यवसाय सँग सम्बन्धित रहेकोले यही व्यापारिक नेटवर्क प्रयोग गरी विदेशमा लगानी गर्ने गरेको आशङ्का गरिएको छ । एक अनुसन्धान वाट विभिन्न ५५ धनी नेपालीले गैरकानुनी रूपमा विदेशमा लगानी गरेको देखाउँछ, जसमा आचार्यहरू, चौधरीहरू र उपेन्द्र महतो जस्ता व्यक्तिहरू रहेका छन् ।
सरसर्ती हेर्दा सतिश लाल आचार्यका यस्ता हर्कतहरु शक्तिशाली नेताहरूको मद्दत बिना सम्भव हुने देखिँदैन । उनलाई अक्सियाटा जस्ता विदेशी कम्पनीहरूको मुखौटा (देखाउने दाँत) भनिन्छ । यिनैका सक्रियताले विदेशी कम्पनीले नेताहरू र कर्मचारीलाई प्रभावमा पारेर आफ्नो स्वार्थ पूर्ति गर्दै आएका छन् ।
महालेखा परीक्षकको प्रतिवेदनले सेयरमा कर छलिएको विषयलाई गम्भीरता साथ उठान गर्यो । पूर्व महालेखा परीक्षक टङ्कमणि शर्मा दंगालको टोलीले कर छली र सम्पत्ति लुकाउने कुराको छानबिन गरी प्रतिवेदन दियो । यस विषयमा सांसदले जवाफ माग गर्यो तर प्रचण्ड सरकारले काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भने झैँ एन्सेल्को नवीकरण गरिदिन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दियो र टङ्कमणि शर्माको प्रतिवेदन सार्वजनिक नगरी एनसेलको आगामी यात्रालाई सहज बनाइदियो ।
एनसेल खरिद-बिक्रीमा, नेपालका ठुला नेताहरूले अरबौँको कर छलीमा ठुलै साथ दिएको भनिँदै आएको भनाइलाई पूर्व प्रधानमन्त्री प्रचण्डको दबाबमा पूर्व अर्थमन्त्री कृष्ण बहादुर महराले एनसेलको ठुलै करमाफी गरिदिएको साथै छोरी गङ्गा दाहालमाथि पनि २०२३ को खरिद-बिक्रि सम्झौतामा चलखेल गरेको भनी आरोप लगाइएको र संसद्को राज्य व्यवस्था समितिको बैठकमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले आचार्यसँग आफ्नो मात्र नभई तिनै जना नेतासँग राम्रो सम्बन्ध रहेको भनी आवेशमा भनेका कुरालाई लिएर समाचारहरू समेत प्रकाशित भएका थिए ।
सांसदहरू स्वर्णिम वाग्ले र बिराज भक्त श्रेष्ठले यो नीतिगत भ्रष्टाचारू भन्दै नेताहरू, कर्मचारीहरू, र टेलिकमका हाकिमहरू मिलेको बताएका थिए । उनीहरूले आचार्यलाई संसद्मा बोलाएर जवाफ दिन माग समेत गरेका थिए । यसैबिच एनसेलले मिडिया र नेताहरूलाई चुप लगाउन अनेक प्रपञ्च गरेको छरप्रष्ट भएको थियो ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र गगन थापा, अमरेश कुमार सिंह लगायतका धेरै नेताहरूले यस्तो अपारदर्शी खरिद-बिक्री र कर छली सम्बन्धमा चर्को आवाज उठाएता पानी तत्कालीन सरकारले छानबिनका नाममा यसको व्यवस्थापन गरिदिएका छन् ।
नेपालमा हुने गरेका यस्ता नीतिगत भ्रष्टाचार जन्य कार्य र छानबिन गरी सुन पानी हाली चोख्याउने कार्यले केही नेता र पार्टीले लाभ प्राप्त गरेता पनि आम नागरिकहरू खुसी भएका छैनन् र अन्ततोगत्वा यस्ता कार्यले लोकतन्त्र माथि नै वितृष्णा पैदा हुन पुगेको छ ।
नेपालमा आचार्य ब्रदर्शलाई नियम कानून तोडेर फाइदा लिने व्यक्तिको रूपमा हेर्दछन् । उदाहरणको लागि २०७६ सालमा नियामकले उपभोक्तासँग कानुन विपरीत एनसेलले असुल गरेको करिब एक अर्ब ११ करोड उपभोक्तालाई नै फिर्ता गर्ने गरी जरिवाना गर्यो र यस निर्णयका विरुद्धमा एनसेलले सञ्चार मन्त्रालयमा पुनरावेदन गरेको र आचार्य ब्रदर्शको तरको लोभमा परि यस अगाडिका करिब ७ जना सञ्चार मन्त्री र त्यतिकै सङ्ख्याका सचिव लाई प्रभावमा पारी यस विषयलाई मन्त्रालयको काल कोठरीमा बन्द गर्न सफल रहनुले नेपालको कर्मचारी तन्त्र र राजनीतिमा निजहरूको प्रभावको आङ्कलन गर्न सकिन्छ ।
यसरी ठुला लगानी, पारिवारिक सहकार्य, ठुलो कमाइ, तर धेरै लुकेका रहस्य र नियम र कानून तोड्ने जस्ता विगतलाई औल्याउदै गर्दा आचार्य परिवारको व्यवशायिक कथा र निजहरूको राजनैतिक सम्बन्ध कुनै रोमाञ्चक चलचित्र भन्दा कम छैन । स्मार्ट टेलिकमको पतनदेखि एनसेलको सस्तो खरिद र ठुला नेतासँगको लेनदेनको कुरासम्मका यी तथ्यहरूले नेपालमा पैसा र शक्तिको खराब समिश्रण रहेको यथार्थतालाई उदाङ्ग पार्दछ ।
यस्ता विकृति र विसंगति रोक्न कडा नियम अनुशासन र ठुलो राजनैतिक इच्छाशक्ति चाहिन्छ, ताकि नेपालमा भए गरेको लगानीले व्यवसायसँग जोडिएका मानिसहरूलाई नभई राष्ट्रलाई फाइदा होस् । जबसम्म यो हुँदैन, यस्ता कु प्रथाले राज्य र व्यवस्था प्रतिकै विश्वास घटाउँछ र यस्ता प्रश्नहरू लाई झन् झन् उजागर गर्दछ ।








प्रतिक्रिया