अफगानिस्तानबाट अमेरिका फर्किएपछि…
अमेरिकी राष्ट्रपति जो बाइडनले भनेका छन्- अफगानिस्तानमा अमेरिकाको २० वर्ष लामो उपस्थिति समाप्त भएको छ ।

काठमाडौं । तालिबानको कब्जापछि अमेरिका आज निर्धारित समयसीमाअघि नै अफगानिस्तानबाट फिर्ता भएको छ ।
अफगानिस्तानको काबुलस्थित हामिद करजाई विमानस्थलबाट अमेरिकी सैनिकको विमान सी-१७ आफ्नो अन्तिम सैनिक लिएर उडेसँगै अब अफगानिस्तानमा अमेरिकाको प्रत्यक्ष उपस्थिति समाप्त भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले भनेका छन्- ‘अफगानिस्तानमा अमेरिकाको बीस वर्ष लामो उपस्थिति समाप्त भएको छ ।’ राष्ट्रपति बाइडनले यो घोषणा अमेरिकाका सबै सैनिक फिर्ता भएको केही घण्टापछि गरेका हुन् । बाइडनले अफगानिस्तानबाट निस्किएको अमेरिकी सशस्त्र बललाई उनीहरुको कामका लागि धन्यवादसमेत दिएका छन् । बाइडनले यही विषयमा आज (मंगलबार) राष्ट्रलाई सम्बोधन गर्ने भएका छन् ।
अमेरिकी जनरल फ्रेन्क म्याकेन्जीले पनि अमेरिका अफगानिस्तानबाट सम्पूर्ण रुपमा फिर्ता भएको घोषणा गरेका छन् । उनले एक ब्रिफिङमा अफगानिस्तानका लागि मुख्य अमेरिकी राजनीतिज्ञ रोस विल्सन काबुलबाट फर्किएको आखिरी उडानमा भएको पनि जानकारी दिए ।

तालिबानको कब्जापछि अमेरिका र उसका नाटो सहयोगीहरु हतारमा त्यहाँबाट फिर्ता हुन बाध्य भएका हुन् । अमेरिका र उसका सहयोगी मुलुकहरु लाखौं अफगानीलाई ठूलो असुरक्षाबीच छाडेर फर्किएका छन् जसले उनीहरुलाई त्यहाँ मद्दत गरेका थिए । यद्यपि फिर्ता भएको अन्तिम उडानमा कैयौं अमेरिकी चढ्न नपाएको पनि बताइएको छ किनभने उनीहरु समयमा विमानस्थल पुग्न सकेनन् ।
अफगानिस्तान छाडेपछि अमेरिकाले स्पष्ट र कडा शब्दमा के पनि भनेको छ भने- जो अफगानी आफ्नो देशबाट निस्कन चाहन्छन उनीहरुका लागि कुनै डेटलाइन लागु हुँदैन । अमेरिकाले अरु साथी मुलुकहरुसँगको सहकार्यमा अमेरिकी, अफगानी वा अरु कुनै पनि देशका नागरिकलाई अफगानिस्तानबाट बाहिरिन निस्कन सहयोग गर्ने काम जारी राख्नेछ । स्मरणीय छ- अफगानिस्तानमा अझै पनि केही नेपालीलगायत विश्वका विभिन्न मुलुकका नागरिक स्वदेश फर्कने पर्खाइमा छन् ।
अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता लगेपछि अब अफगानिस्तान पूर्णत: तालिबानको कब्जामा गएको छ । ३१ अगस्त लागेसँगै अबेर राति करिब सवा १ बजे आखिरी अमेरिकी विमानले काबुल छाडेको थियो । अमेरिकाले आफ्ना सैनिकहरुलाई त्यहाँबाट निकाल्न ३१ अगस्तसम्मको समयसीमा तय गरेको थियो ।
तालिबानको नियन्त्रण हुनुभन्दा एक दिनअघि अर्थात् १४ अगस्तदेखि अहिलेसम्म एक लाख २२ हजारभन्दा बढी मानिसलाई काबुलबाट बाहिर निकालिसकिएको बताइन्छ । अमेरिकाले अब अफगानिस्तानमा आफ्नो राजनीतिक उपस्थितिलाई पनि निलम्बित गरेको छ भने अमेरिकाले अफगान मामिलालाई कतारबाट हेर्ने बताइसकेको छ ।
अमेरिकाले अफगानिस्तानमा छोडेका विमान र सैन्य सवारी साधन कामै नलाग्ने
अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कनका अनुसार अफगानिस्तानका साथ अमेरिकाको एउटा नयाँ अध्याय सुरु भएको छ । यसमा हामी आफ्नो कूटनीतिअनुरुप अगाडि बढनेछौं । ब्लिन्कनले एक सयभन्दा बढी अमेरिकी अहिले पनि अफगानिस्तानमै भएको जानकारी दिँदै भनेका छन्- जो अफगानिस्तानबाट निस्कन चाहन्छन् हामी उनीहरुको सही संख्या पत्ता लगाउने प्रयास गरिरहेका छौं ।

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कन भन्छन्, ‘अमेरिकाले अफगानी नागरिकको मानवीय सहायता जारी राख्नेछ । तर त्यो सरकारको माध्यमबाट नभएर संयुक्त राष्ट्र संघका एजेन्सीहरु, गैरसरकारी संगठन तथा अन्य स्वतन्त्र संगठनका माध्यमबाट सञ्चालित हुनेछ । हामी अपेक्षा गर्छौं कि तालिबान वा अरु कसैबाट त्यस्तो सहायता कार्यक्रममा बाधा खडा गरिने छैन ।’
अफगानिस्तान मामिलामा कडा प्रस्ताव पारित,चीन र रुसले भोट दिएनन्
उता संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् (यूएनएससी) ले एक प्रस्ताव पारित गर्दै युद्ध प्रभावित देश अफगानिस्तानको प्रयोग कुनै देशलाई धम्क्याउने, हमला गर्ने वा आतंकवादीहरुलाई संरक्षण दिने कामका लागि नगर्न माग गरेको छ ।
२० वर्षपछि आखिरी अमेरिकी सैनिकले अफगानिस्तान छाडेको तस्बिर ट्विट गर्दै अमेरिकी रक्षा विभाग पेन्टागनले लेखेको छ, ‘अफगानिस्तान छाड्ने आखिरी अमेरिकी सैनिक-मेजर जनरल क्रिस डोनह्यू हुन्, जो ३० अगस्तको राति सी-१७ विमानमा सवार भए । यो काबुलमा अमेरिकी मिसन अन्त्यको प्रतीक हो ।’
स्मरण रहोस् अमेरिकी राष्ट्रपति जो बाइडेनले पद सम्हालेलगत्तै आफूले अफगानिस्तानमा अमेरिकी सैनिकहरुलाई मर्न त्यसै नछाड्ने बताउँदै अफगानिस्तानबाट अमेरिकी सैनिकहरु ३१ अगस्तसम्ममा फिर्ता गरिने घोषणा गरेका थिए ।
तालिबानले गर्यो ‘पूर्ण स्वतन्त्रता’ को घोषणा
अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएसँगै तालिबानले ‘पूर्ण स्वतन्त्रता’ को घोषणा गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्ला मुजाहिदले भनेका छन्- ‘अमेरिकी सैनिकहरुले काबुल विमानस्थल छाडेका छन्, अब हाम्रो देश पूर्ण स्वतन्त्र भएको छ ।’
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया