मंगलबार, वैशाख १८, २०८१

दण्ड नदिई बालबालिकालाई कसरी अनुशासित बनाउने ?

नेपालखोज २०७९ जेठ ६ गते ९:३७

काठमाडौं । बालबालिकाको कुनै व्यवहार सुधार्ने वा सिकाउने नाममा उनीहरूलाई कुटपिट गर्ने, शारीरिक कष्ट दिने वा मानसकि आघात पर्ने गरी होच्याउने, तर्साउने, अपमान गर्ने वा गज्यिाउने जस्ता अनुशासनको नाममा हुने दण्ड-सजायअन्तर्गत पर्दछन् ।

अनुशासनका नाममा निम्न दण्डसजाय प्रचलनमा रहेको पाइन्छ :
१. शारीरिक दण्ड-सजाय :
साना बालबालिकालाई चुप लगाउन हल्लाउने, बालबालिकालाई हातमा, गालामा वा शरीरको अन्य भागमा हात वा लट्ठी, कोर्रा, पेटी, जुत्ता, डस्टर जस्ता वस्तुले पिट्ने, झटारो हान्ने, लात्तीले हिर्काउने, चिमोट्ने, उचालेर पछार्ने, समातेर झकझकाउने, तातो बस्तुले डाम्ने, आगोले पोल्ने, तातो पानी खन्याउने, कुखुरो बनाउने, कक्षा बाहिर उभ्याइदिने, साथीलाई पिट्न लगाउने, कान निमोठ्ने, कान समातेर उठबस गराउने, सिस्नो लगाउने, एक खुट्टा टेकेर उभिन लगाउने, आदि ।

२. मानसिक दण्डसजाय : आँखा तरेर हेर्ने, ठूलो स्वरले हप्काउने, अपमानित गर्ने, शौचालय वा एकान्तमा थुन्ने, गाली गर्ने, अरूसँग दाँजेर होच्याउने, गिज्याउने, कमजोर वा नजान्ने भनी हतोत्साहित गर्ने, आदि ।

बालबालिकालाई के कस्ता ठाउँमा अनुशासनको नाममा दण्डसजाय हुने गर्दछ ?
बालबालिकालाई घर, विद्यालय, दिवा स्याहार केन्द्र, बालगृहहरू, खेल्ने स्थान तथा सार्वजनिक स्थलहरूमा समेत अनुशासन कायम गर्ने नाममा शारीरिक तथा मानसिक दण्डसजाय हुने गर्दछ ।

सामान्य दण्डसजायले बालबालिकालाई असर गर्छ र ?
दण्डसजायबाट बालबालिकाको शारीरिक, बौद्धिक तथा मानसिक विकासमा तत्कालीन र दीर्घकालीन रूपमा नकारात्मक असरहरू देखा पर्दछन् । आवेशमा आएको बेलामा आफू उपर उचित नियन्त्रण नहुने हुनाले थोरै बल प्रयोग गर्ने उद्देश्य भए पनि गम्भीर चोटपटक लाग्ने, बालबालिकाको अङ्गभङ्ग हुने र कतिपय अवस्थामा मृत्यु समेत हुने खतरा रहन्छ । साना बालबालिकालाई चुप लगाउन हल्लाउँदा उनीहरूको मस्तिष्कमा चोट पुगी मृत्यु समेत हुन सक्दछ । सामान्य भनिएको शारीरिक दण्डसजाय भोग्नु पर्दा समेत बालबालिकाले हीनताबोध र अपमानित महसुस गर्दछन् ।

दण्डसजायको वातावरणमा हुर्किएका बालबालिकाको मस्तिष्कको विकासमा बाधा पुग्ने भएकोले उनीहरूको बौद्धिक क्षमतामा समेत असर पर्दछ । उनीहरूमा आत्मविश्वासको कमी हुने, अभभिावक वा अन्य व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम नरहने, नकारात्मक सोचको विकास हुने जस्ता अवस्था सिर्जना हुन सक्दछ । त्यसैगरी बाल्यकालमा दण्डसजायमा पारिएका व्यक्तिले जीवनमा आइपर्ने समस्याको समाधानको विकल्पका रूपमा हिंसा र बदलाको भावनालाई लिने गरेको पाइन्छ ।
-युनिसेफ नेपाल

प्रतिक्रिया