आइतबार, वैशाख १४, २०८२

कोभिड प्रभाव : उत्पादन रोजगारी ठूलो संख्यामा कटौती

नेपालखोज २०७८ जेठ ५ गते १९:०७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्वन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार कोभिड १९ को दोस्रो लहरको सबैभन्दा धेरै असर उत्पादन र रोजगारी क्षेत्रमा परेको देखिएको छ ।

कोभिड १९ को दोस्रो लहर र यसलाई नियन्त्रण तथा रोकाथामको लागि जारी गरिएको निषेधाज्ञा कारण उत्पादन रोजगारीमा ठुलो संख्यामा कटौती भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार गत २०७७ असारको तुलनामा उद्योग, व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ ।

कोभिड महामारी पूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा चार दशमलव एक प्रतिशत मात्र उद्योग, व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ बैशाखमा बढेर ८१ दशमलव दुई प्रतिशत पुगेको देखिएको छ । सर्वेक्षणमा सहभागी विद्युत्, ग्याँस तथा पानी र सञ्चार क्षेत्रका शत प्रतिशत उद्योग, व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेको देखिएको छ ।

हालसम्म पनि चार दशमलव दुई प्रतिशत उद्योग, व्यवसायहरु सञ्चालनमा आउन नसकेकोे प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार गत २०७७ असारको तुलनामा उद्योग, व्यवसायहरुको उत्पादन, कारोबारको अवस्थामा पनि सुधार आएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशतमात्र उत्पादन, कारोबार रहेकोमा २०७८ बैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१ दशमलव चार प्रतिशत पुगेको छ ।

गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन, कारोबार बढेको पाइएको छ । तर, होटल तथा रेष्टुरेन्ट भने उत्पादन तथा कारोवारको स्थिति ४० दसमलवव आठ प्रतिशत मात्र पुगेको छ जुन अन्य व्यवसायहरु भन्दा सवैभन्दा कम हो ।

गत २०७७ असारको तुलनामा उद्योग, व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिएता पनि कोभिड महामारी अगाडिको अवस्थामा भने अझै पुग्न सकेको छैन ।कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७ दशमलव चार प्रतिशत रोजगारी प्रदान गरेका उद्योग, व्यवसायहरुले २०७८ बैशाखमा ९३ दशमलव आठ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ ।

मझौला तथा ठूला उद्योग, व्यवसायहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ । पूर्ण रुपमा सञ्चालनमा रहेपनि मझौला तथा ठूला उद्योग, व्यवसायहरु आफ्नो पूर्ण क्षमता उपयोग गरी सञ्चालनमा नरहेकोकारण यस्ता उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएको अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी गत २०७७ असारको तुलनामा उद्योग, व्यवसायहरुको औसत तलब-ज्याला खर्चमा वृद्धि भएको पाइएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३ दशमलव प्रतिशत रहेको यस्तो खर्च २०७८ बैशाखमा आइपुग्दा ८८ दशमलव पाँच प्रतिशत पुगेको देखिएको छ । २०७७ असारको तुलनामा खानी तथा उत्खनन क्षेत्रका उद्योग, व्यवसायहरुको औसत तलब ज्याला खर्च बढेको पाइएको छ भने विद्युत्, ग्याँस तथा पानी र सञ्चार क्षेत्रका उद्योग, व्यवसायहरुको औसत तलब-ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

सर्वेक्षणमा सहभागी अधिकांश उद्योग, व्यवसायहरुले बजार माग घटेर कारोबारमा ह्रास आएको, पुनरकर्जा तथा सहुलियत कर्जा प्राप्त गर्न कठिनाइ भएको, थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्याहरु जानकारी प्राप्त भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया