शुक्रबार, वैशाख १४, २०८१

आठ हजार परिवारलाई राहत वितरण

नेपालखोज २०७६ चैत २७ गते १९:१२

हेटौँडा । सङ्घीय सरकारले ‘लकडाउन’को घोषणा गरेलगत्तै मकवानपुरका आठ गाउँपालिकामध्ये अहिले पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा गरी आजसम्ममा सात हजार ९०० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

केही गाउँपालिकामध्ये मनहरी, कैलाश, राक्सिराङ, इन्द्रसरोवर र मकवानपुरगढी गाउँपालिकाले क्रमशः खाद्यान्न वितरण गर्दै गइरहेको र बाँकी क्रम पनि आगामी वैशाख ३ गतेसम्ममा वितरण गरिसकिने लक्ष्य राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष रघुनाथ खुलालले बताए ।

यसैगरी वाग्मती, बकैया र भीमफेदी गाउँपालिकाले पनि दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने परिवारको तथ्याङ्क लिने कार्य सम्पन्न गरेको भए पनि खाद्यान्न वितरणका लागि खाद्यान्न खरिदको प्रक्रियामा रहेको र दुई दिनभित्रै सम्बन्धित घरपरिवारलाई खाद्यान्न उपलब्ध गराइने भीमफेदीका अध्यक्ष हिदम लामाले जानकारी दिए।

हेटौँडा उपमहानगरपालिकाको वडा नं १ देखि १९ सम्ममा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने परिवारको तथ्याङ्क लिने कार्य भइरहेको भए पनि सम्बन्धित वडामार्फत् खाद्यान्न वितरण गर्न वडाध्यक्षलाई जिम्मा लगाइसकिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए।

मकवानपुरका आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकामा गरी आजसम्ममा बाहिर रोजगारीबाट फर्किआएका एक हजार १५५ व्यक्तिलाई होम क्वारेन्टाइनमा राखी चिकित्सकको निगरानीमा राखिएको र उहाँहरुको स्वास्थ्य सामान्य रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया