कोरोना जाँचको दोस्रो स्थानमा जुम्ला
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भएरनभएको पत्ता लगाउन पिसीआर परीक्षणको दायरा बढाउँदै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २२ वैशाखदेखि कोरोना पिसीआर उपकरण सञ्चालनमा आएको प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले बताए।
मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २१ हजार २९५ जनाको पिसिआर भएको छ । त्यसपछि दोस्रो जुम्लामा दुई हजार ७६० जनाको पिसिआर परीक्षणको तथ्याङ्क सार्वजनिक भएको उनले बताए । तेस्रो स्थानमा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा दुई हजार ३७९ जनाको पिसिआर भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । कर्णाली प्रदेशकै सुर्खेतमा भने दुई हजार २९४ जनाको पिसिआर भएको छ ।
प्रतिष्ठानले माथिल्लो कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोटमा परीक्षण गर्दै आएको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भारतबाट आएका र शङ्कास्पद व्यक्तिको पिसीआर परीक्षण गरिएको बताए । उनका अनुसार आइतबारसम्म दुई हजार ७६० जनाको परीक्षण भएको छ । सबैको नतिजा नेगेटिभ आएको उनले बताए । प्रतिष्ठानले प्रयोगशाला प्रमुख विवेक पुन मगरको नेतृत्वमा परीक्षण कार्य गरिरहेको छ ।
हुम्ला र मुगुमा आरडिटी पोजेटिभ देखिएका तीन जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानका अनुसार हुम्ला नाम्खाका दुई र मुगु खत्याडका एक जनाको आरडिटी पोजेटिभ देखिएको थियो ।
प्रतिक्रिया