सोमबार, वैशाख २४, २०८१

बेड खाली गर्न बिरामीको हत्या गरेको आरोपमा चिकित्सक पक्राउ

नेपालखोज २०७७ माघ १७ गते १४:१६

एजेन्सी । इटलीको एक अस्पतालमा कार्यरत एक चिकित्सकलाई कोरोनाभाइरस वार्डमा रहेको दुई रोगीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । महामारी चर्किएको बेलामा बेड खाली गर्न उनले ती रोगीहरूको हत्या गरेको आरोप छ ।

कार्लो मोस्का नामक ती चिकित्सकले ६१ वर्षीय नताले बास्सी र ८० वर्षीय एन्जेलो पालेत्तीलाई लोम्बार्डीमा रहेको अस्पतालमा गत मार्च महिनामा बेहोश बनाउने एनेस्थेटिक भारी मात्रामा दिएर हत्या गरेको आरोप लगाइएको छ ।

नर्सहरूले एकअर्कालाई पठाएको ह्वाट्सयाप मेसेजहरूमा बौलाहा मोस्काले शय्या खाली गर्न रोगीहरूलाई मारेको भनी लेखिएको थियो ।

मोस्काले रोगीहरूको मेडिकल रेकर्ड अदलाबदली गरेर अपराध लुकाउन खोजेको भनी प्रहरीले अनुसन्धान गरिरहेको छ । अन्य तीन मृत्युका विषयमा पनि अनुसन्धान चलिरहेको छ ।

मोस्कालाई अहिले घरैमा नजरबन्द गरेर राखिएको छ । उनले आफूविरुद्ध लागेका आरोपहरू आधारहीन भएको बताएका छन् ।

उनले कोभिड रोगीहरूलाई ट्युब लगाउनका लागि बेहोश बनाउन सक्कीनीलकोलाइन र प्रोपोफोल दिएको कानूनी कागजातमा उल्लेख गरिएको छ ।

तर ती रोगीहरूलाई ट्युब नै नलगाइएको र मोस्काले एनेस्थेसिया दिनुपर्ने कुनै कारण नरहेको अभियोजन पक्षको जिकिर छ ।

गत अप्रिल महिनामा एक अज्ञात व्यक्तिले उजुरी गरेपछि अभियोजनकर्ताहरूले ह्वाट्सयाप सन्देशहरू प्राप्त गरेका थिए । ती सन्देशमा मोस्काले नर्सहरूलाई अपराधको मतियार बनाउनका लागि फकाउन खोजेको देखिन्छ ।

प्रतिक्रिया