बुधबार, वैशाख २६, २०८१

गोसाईंकुण्डमा भेटिएका ‘शिव’हरु !

दीपकिरण खड्का २०७८ वैशाख ४ गते ११:००

हिउँको चिप्लो बाटोबाट घण्टौं हिँड्दा पनि गन्तव्य आइनपुगेको देखेर मसँगै हिँडेका दाइहरू आत्तिरहेको मैले अनुभूति गरेको थिएँ, उनीहरुले गर्ने प्रश्नलाई मैले सहज मानेर उत्तर दिनु नै थ्यो । “दीप भाइ अब ठ्याक्कै कति होला ?” विराट दाइ सोध्छन् मलाई । “अब आइस’को, त्याँ पर हेर्नोस् त बत्ती बलेजस्तो देखिएको छ नि, हो त्यै हो फेदीको होटेल ।” दाइहरु आशावादी भए । सूर्यकुण्डबाट तल बत्ती बाल्दै आउँदै गरेका यात्रीहरु पनि देखिन्थे । सबैको भेट फेदीमा निश्चित नै छ भन्ने भयो । हिँड्दै जाँदा यता भने अविन दाइ फर्किँदै रैछन् । “दीप भाइ बाटो नै छैन त यार्, ओरालोको ओरालो छ । हिउँमा राम्रोसँग देखिन्न पनि ।” अविन दाइ आत्तिँदै भन्छन् । “आत्तिनु पर्दैन, म तीनचोटि हिँडिसकेको छु । पख्नोस्, म अघि जान्छु ।” उकालो नै उकालोबाट पनि उचाइमा पुगिन्छ भन्ने अनुमानले गर्दा अविन दाइ ओरालो निरन्तर ओर्लन परेको देखेर अत्तिनुभएको रैछ । उता अशोक दाइ थचक्क बसिरहेका रहेछन् । “दीप भाइ, बाटो भुलिहालियो । बाटो नदेखेपछि त्यो ५/७ वर्ष पैले फेदी आइपुगेर हराएको मेडिकल विद्यार्थी सम्झेर डर लाग्यो । म त आत्तिएँ ।” एकै सासमा अशोक दाइ हामीलाई सुनाउँछन् । म अघि बढ्दै जान्छु, दाइहरु पछि-पछि आउँछन् । अब भने उनीहरुमा आत्माविश्वास जागेको छ । होटेलछेउ पुगिसकेका मिलन, अंकित र विजय दाइ खुसीले चिच्याएको सुनियो ।

फेरि एउटा उकालो आयो । उकालो निकै अप्ठ्यारो थियो । म हिउँमा चिप्लिएँ । तल भिर थियो । म कसोकसो लठ्ठीको सहाराले धन्न बचें । अशोक दाइलाई तानें र उहाँलाई मेरो हात समाउन भनेँ । अनि बिस्तारै एक/एक गरी सबैलाई त्यो भिरको चिप्लो बाटो कटायौँ । मेरो हात गोडा कामिरहेका थिए, मुटुको गति तीव्र थियो । मनलाई शान्त बनाउन केही बेर लाग्यो । आज पनि ठूलै खड्गो काटिएको अनुभूति भयो मलाई । झन्डै आधा घण्टाको हिँडाइपछि फेदीको होटेल पुग्यौं । होटेल पुग्न लाग्दा झन्डै १० बज्‍न आँटिसकेको थियो । सबै दंग थिए । हातहरु कठ्याङ्रिएका थिए, जुत्ताहरु हिउँले भिजेका थिए । गोसाईंकुण्डबाट आएका दाइहरुसँग गफियौं । आगो ताप्‍न थाल्यौं । विजय दाइको मावल र अशोक दाइको जिल्ला आइपुगेका थियौं । दाइहरुले निकै धेरै कुराहरु गर्नुभयो । मैलेचाहिँ घोप्टे भिरमा आफूले जानेको कुरो सुनाएँ ।

“सन् १९९२ को जुलाईमा एकैदिन चीनको नान्चिङ र नेपालको लाङटाङ क्षेत्रमा हवाइजहाज दुर्घटना भयो । नेपाली आकाशमा थाई विमान दुर्घटना भएको थियो । त्यस विमानमा झन्डै १४ देशका सवार भएका ११३ जनाको मृत्यु भएको थियो जसमा जहाजका मात्रै १४ जना थिए । तत्कालीन समयमा प्लेनलाई कलकत्ताको आकाशतिर उड्न सल्लाह दिए पनि पाइलटले उत्तरतिर प्लेन डोर्‍याउँदा ठूलो मूल्य चुकाउनुपरेको कुरो हाम्ले पढेका थियौं । अझै पनि त्यस फेदीका वरपर भिरमा विमानका टुक्राहरु भेट्न सकिन्छ ।” मैले यसो भनिरहँदा अशोक विवेक दाइ सोध्छन्, “घोप्टेभिरचाहिँ कुन हो त ?” हाम्रो सबै कुरो सुनेर बसेका होटेलवाला दाइ भन्छन्, “घोप्टेभिर खासमा चाहिँ तपाईंहरुले काटेर आएको डाँडाको नाम हो । त्यस समय प्लेन ठोक्किएको डाँडाको नाम थिएन । हामीलाई नै नाम सोधिएको थियो । हामीले घोप्टेभिर भन्यौं । अनि सबैले घोप्टेभिर भन्न थाले । प्लेनका केही टुक्राहरू होटेलबाहिर पनि छन् । हेर्नोस् भोलि बिहान ।” यति भनेर दाइ हिँडे । “अब गफ गरेर भएन, मचाहिँ उठेर चलाउने कम्प्युटर चलाउन गएँ है ।” यति भनेर दाइ हिँडे ! उठेर चलाउने कम्प्युटर भनेको के होला भनेर अकमक्क परेर बसेका थिए सबै । “भाँडा माझ्ने भनेको होला ।” मनोज दाइले यसो भनेपछि सबै गलल हाँस्छन् । साढे १४ घण्टा हिँडेको दिन थकानले सबै चूर थिए । अब भने सबै सुत्नतिर लागे ।

बिहान चिया र टिबेटेन रोटी खाएर वरिपरिको वातावरण हेर्यौं । बाहिर प्लेनका केही टुक्राटुक्री थिए, तिनलाई देखाउँदै मैले भने “विमान दुर्घटनापछि नै लाङटाङ क्षेत्रले एउटा उचाइ पाएको हो विश्वमा । नत्र यसअघि तीर्थयात्रीहरुबाहेक अरुको चासोमा खासै चासोमा परेको ठाउँ थिएन ।” सबैजना तयार भइसकेपछि अब भने उकालो उक्लिन थाले । बाटोभरी हिउँ मात्रै थिएँ । चारैतिर नांगा पहाडहरु पनि हिउँले हिमालझैं शृंगारिएका थिए । घाम बिस्तारै तेजिलो हुँदै थियो । अविन दाइ र म भने छोटो बाटो भन्दै हिउँमा आफ्नै बाटो बनाउँदै हिँडिरह्यौं । अशोक दाइ, विवेक दाइ पनि हाम्रै बाटो पछ्याइरहेका थिए । सुरुका दिनमा निकै पछि परेका यात्रीहरु आज अगाडि नै थिए, बरु सुरुका दिन अगाडि रहेका दाइहरू आज पछाडि थिए । अघिपछिको सवाल त एउटा कुरो हो । तर आज ४,६१० मि को सूर्यकुण्डलाई ११ बजे भित्र कटाइसक्नुपर्छ भन्नेमा सबै एकमत थिए । दिउँसो भएपछि हिमाली मौसम बिग्रन्छ भन्ने कुरो अब भने हाम्रो टोलीका सबै सदस्यले बुझ्न थालिसकेका थिए ।

उचाइ बढ्दै गएपछि थोरै उकालो चढ्दा पनि फोक्सो नै बाहिर आउला जसरी श्वासप्रश्वासको वेग बढिरहेको थियो । हुन त उचाइ लाग्न सक्ने सम्भावनाले बेलुकी नै सबैले उचाइको औषधि खाइसकेका थियौं । झन्डै साढे तीन घण्टामा हामी सूर्यकुण्ड पुग्यौं । हिजोको हिउँ र आजको खुला मौसमले सूर्यकुण्ड सुन्दर देखिएको थियो । कुण्ड जमेको थियो । तादी खोलाको शिर, अग्लो स्थानमा रहेको कुण्ड, सुन्दर मौसमले कसको मन नचोर्ला ! ४,६१० मिटरमा आइसकेपछि एकपटक हामी सबै खुसीले चिच्यायौँ । “यस्तो आनन्द अनुभूति कुनै पनि पदयात्रा गरिएको थिएन, दीप भाइ ! थ्यांक यू दीप भाइ !” अशोक दाइ खुसीमा जोसिँदै भन्नुहुन्छ । दाइहरु शिव ताण्डव भजन सुन्दै एकैछिन ध्यानमग्न अवस्थामा शान्त बस्नुहुन्छ । विजय दाइलाई निकै ध्यानमग्‍न मुद्रामा देखेँ, लाग्थ्यो उहाँलाई जत्तिकै आनन्द सायदै अरुलाई मिल्यो होला ! सूर्यकुण्ड पुग्दा सबैले बाटाभरीको कठिनता भुलेको अनुभूति भयो मलाई ! आनन्द र शान्ति त्यस्तो चिज रैछ जसलाई मान्छेले विषमता र कठिनताको लामो संघर्षपछि पाउँदो रैछ, र अनुभूति गर्दो रहेछ ।

झन्डै आधा घण्टा हामी सूर्य हिमालको काखमा बसिरह्यौं । त्यहाँबाट हामी बिस्तारै वरपरका कुण्डहरु हेर्दै गोसाईंकुण्ड तिर हाँकियौं । बुढापाकाहरु १०८ कुण्ड छ रे वरपर भन्थे, हुन पनि नाम नै नजानेका कुण्ड कति थिए कति ! कुण्डहरु कोही साना, कोही ठूला, कोही जमेका, कोही पग्लिएका, कोही गोला, कोही लाम्चा, आ-आफ्नै किसिमका थिए । बाटाभरि अशोक दाइले शिव ताण्डव भजन बजाउनुभयो । हामी नाच्दै तल झरिरह्यौं । झन्डै ३५ मिनेटको हिँडाइपछि हामी गोसाईंकुण्डको (४,३८०मि.) त्रिशूल धारा पुग्छौं । मैले दाइहरुलाई चलेको किंवदन्ती सुनाएँ ।

“शिवजी र भैरव समुद्र मन्थन गर्दा निस्केको कालकूट विषले रन्थनिएर शीतलताको खोजीमा हिमालय क्षेत्रमा पुगे । शिवजी एक डेग पनि चल्न नसक्ने भएपछि विषले लमतन्न परेर ऐलेको गोसाईंकुण्ड भएको ठाउँतिर बसेका थिए । भैरवलाई पानी खोजेर ल्याउन भने । भैरव पानीको खोजमा निस्किए र अलिक तल पुगेपछि पानीको मुहान भेटाए । भैरवले पानीको मुहान देखेपछि आफू त्यहीँ लमतन्न परेर शीतलताको आनन्द लिन्छन् । त्यसै अवस्थामा शिवजीको आदेश भुल्छन् । धेरै समय बित्दा पनि भैरव नआएको देख्दा शिवजी कडा रिसाउँछन् । अनि उनीसँग भएको त्रिशूल निकालेर आफूपछाडि उभिएको पहाडमा प्रहार गर्छन् । त्रिशूलले लागेर पहराबाट पानीको मूल फुट्छ र त्यही मूलबाट निस्केको पानी पिएर प्यास मेटाएर शीतलता अनुभूति गर्छन् । त्यसपछि भैरवलाई खोज्न निस्कन्छन् । अलिक तल कुण्डमा भैरव लमतन्न परेर बसेको देख्छन् । त्यसैले गोसाईंकुण्डमा आएर शिवजीलाई सम्झेर कसैले वर मागे पूरा हुन्छ रे तर कसैले गोसाईंकुण्डमा आएर वर मागेर भैरवकुण्डलाई हेरेमा वर माग्नु र नमाग्नु बराबर हुनेछ भनेर भनेका छन् । त्यसैले गोसाईंकुण्डमा वर मागेका तीर्थयात्रीहरु भैरवकुण्डलाई नहेरी फर्कन्छन् ।” यो किंवदन्ती आज पनि उत्तिकै प्रचलित छ । हामी सबैले आ-आफ्नै किसिमले प्रार्थना गर्‍यौं । सबैले त्रिशूल धाराको पानी बोतलमा भर्‍यौं । अनि बिस्तारै गोसाईंकुण्डको तिरैतिर होटेलतिर गयौं । चिया मगायौँ । चिया खाँदै गोसाईंकुण्डतिर हेरेर आनन्द अनुभूति गर्यौँ ।

त्यहाँ कानुन पढ्ने विद्यार्थीहरु पनि भेट भए । गफियौं बसुन्जेल । नयाँ मानिसहरूसँग चिनजान भयो । गोसाईंकुण्ड आइसकेपछि हिँड्न गाह्रो भइरहेका केही दाइहरु काठमाडौं फर्कने कुरो भयो, हामी भने लाङटाङ उपत्यका पनि पुग्ने लक्ष्यसहित आएका थियौं । गोसाईंकुण्डबाट ओर्लिंदै हामी लौरिबिना लाग्यौं । विवेक दाइ, अशोक दाइ र मनोज दाइलाई ओरालो हिँड्न गाह्रो भइरहेको थियो । उनीहरु बिस्तारै झर्न थाले । लौरीबिना पुगेपछि मैले विजय दाइलाइ देखाएँ, “चीन जाने खबर यही माया लजमा बसेको बिहान थाहा भएको थियो, मैले खुसी अनुभूति गरेको ठाउँ दाइ ।” “कस्तो पवित्र ठाउँ है ?” दाइले प्रतिउत्तरमा फर्काउनुभयो ।

बाटाभरि वर्तमान राजनीतिका अनगिन्ती प्रसंगहरूमा गफिँदै हामी तल झर्यौं । चोलाङपाटी पुगिसकेपछि हाम्रा अरु दाइहरुलाई कुर्यौँ । सबै जम्मा भयौं । होटेलवाला दाइसँग सल्लाह लिएपछि मनोज दाइ र मैले सबै ठूलो स्याब्रुमसँगै बस्ने, काठमाडौं जाने र लाङटाङ जाने त्यतैबाट छुट्टिने भन्ने कुरो भयो । ओरालोको ओरालो हामी सबै गुटुङ्टुङ झर्यौँ । मुखर्क पुगिसकेपछि एकजना होटेलकी दिदीसँग कुरा भयो । उनैको सल्लाहअनुसार ठूलो स्याब्रुको नमस्ते होटेलमा बस्ने कुरो भयो ।

मुखर्क सार्है सुन्दर ठाउँ लाग्यो । माथि लेकाली सल्लाका अग्ला र बडेमानका रूख, होटेल भएको ठाउँमा हरिया पाटनहरु, तलतिर लालीगुराँसको जंगलहरुले मन नै लोभ्यायो ! एकमनले त यतै बस्न पाए हुने आजको रात भनेजस्तै लाग्या थियो तर त्यसो गर्दा हाम्रो यात्रा अझै लम्बिने हो कि भन्ने डर थियो । रात बिस्तारै छिप्पिँदै थियो । हामी निरन्तर ओरालो झरिरह्यौं । विभिन्न बस्तीहरु छुँदै, हेर्दै हामी हिँडीरह्यौँ । मुखर्कबाट झण्डै घण्टौं हिँडाइपछि हामी बत्तीले झिलिमिली भएको बजारजस्तो ठाउँ देख्छौं । “ठूलो स्याब्रु देखियो है गाइज !” उन्मुक्त खुसीले मनोज दाइ कराउनुहुन्छ । अनि मानेछेउ पुगेपछि एकजना दाइ हामीलाई लिन आएको संकेत पाउँछौं । मुखर्कको दिदीले फोन गरेर खबर गरिसक्नुभएको रहेछ । १२ घण्टाको हिँडाइपछि आजको रात ठूलो स्याब्रुमा एकसाथ बिताउने भएपछि एकखाले उमंग आउने नै भो ! खाना खाइवरी सबै सुत्नतिर लाग्यौं । रातमा अंकित र सञ्जीव भाइ सुत्नै सकेनन् । हिउँमा नांगो आँखाले हिँड्दा समस्या भएको पाइयो । रातभर छट्पट छट्पट गरिरहेका थिए । क्रमश :
(नियात्राको तेस्रो भाग आगामी शनिबार अर्थात् २०७८ वैशाख ११ गते प्रकाशन हुनेछ ।)

नियात्रा भाग-१ हेर्न यहाँ क्लिक गर्नुहाेस्

प्रतिक्रिया