शुक्रबार, जेठ ४, २०८१

गोसाईंकुण्डमा भेटिएका ‘शिव’हरु !

दीपकिरण खड्का २०७८ वैशाख १८ गते ११:१५

बिहानै ५ नै बजे उठेर हामी क्याञ्जिन री (४,४०० मिटर) तिर लाग्यौं । झन्डै दुई घण्टा हिँडेर सूर्योदय हुनुअघि हामी क्याञ्जिन री पुग्छौं । हिमाललाई यति नजिकबाट हामी सबैले पैलोपल्ट देखेका थियौं । तल क्याञ्जिन उपत्यका पनि कम्ता सुन्दर देखिएको थिएन । दक्षिणतिर गान्चेम्पो र अगाडिपट्टि गाङ्जाला भञ्ज्याङ आँखैअगाडि उभिएका थिए । नयकाङ, लाङटाङ लिरुङ र लाङटाङ हिमशृङ्खलाका अरु बेनामका शिखरहरु अटल उभिएका थिए । दृश्य लोभलाग्दा थिए । सबै उमंगले उन्मुक्त थिए । बस्दा-बस्दै डुङ्‍ग आवाज खस्यो, पछि हिउँ पहिरो खसेको प्रत्यक्ष देखियो । हामी हेरेको हेर्‍यै भयौं । केहीबेर आनन्दानुभूति गरेपछि निकै अप्ठ्यारो बाटो हुँदै हामी घण्टौं लगाएर झर्यौं । बाटोमा अविन दाइले उहाँको स्कुल पढ्दाताकाको एउटा हँसाउने प्रसङ्‌ग सुनाउनु भो । तल होटेल पुग्दा घाम पारिलो लागिसकेको थियो । हामीले होटेलवाला अंकललाई लाङटाङको नामकरणबारे सोध्यौं । “लाङटाङ तिब्बत शब्द हो । लाङको अर्थ गोरु र टाङको अर्थ पछ्याउनु हो । गोरुले पछ्याउँदै आएको ठाउँ र पछि मान्छेले पछ्याउँदै आएको ठाउँ भएकाले लाङटाङ भनिएको हो ।

अर्कोचाहिँ लाङ्सिसा भन्ने छ, त्योचाहिँ गोरु हिँड्दाहिँड्दा थाकेर माथि हिमालको काखमा मर्छ र त्यसैलाइ नै लाङसिसा भनिन्छ । यताबाट लाङटाङ र उताबाट लाङ्सिसा दुवै मिसिएर लाङ्‌टाङ नामले चिनिन्छ ।” हामीले मस्त सुन्यौं । गज्जबको लाग्यो । अंकलसँग विभिन्न विषयमा रहेर गफियौं । बिहानको खाजा खाइवरी हामी क्यान्जिनबाट बिदाइ मागेर फर्कियौं । एउटा सुन्दर गन्तव्यलाई छाडेर जाँदा मन भावुक बन्दो रहेछ । तर यो मान्छेको जीवनको नियतिहरुलाई स्वभाविक मानेर यात्रामा हिँडिरहनुको विकल्प रहेन । हामी आएकै बाटो, फर्किँरह्यौं । सुन्दर लाङटाङ उपत्यकालाई आँखाले भ्याएसम्म हेर्यौं । मस्तिष्कमा त्यो उपत्यका र त्यहाँ बस्ने मानिसहरुको संवाद स्मृतिको पन्नाहरुमा बाँचिरहनेछ भन्ने अपेक्षा गरियो । झन्डै पाँच घण्टाको लगातार हिँडाइपछि हामी रिम्चे पुग्यौं । रिम्चेका होटेलवाला दाइले शेर्पा गाउँबाट एकदिन अगाडि नाकको दही ल्याइदिनु भनेका थियौं । ल्याउन त ल्याएछन् तर स्वाद भने बेंसीको गाईको जस्तै रैछ । विजय दाइले सीधै प्रश्न गरेसी बूढाले स्वीकारे । हुन पनि चौंरी गाई ब्याउने समयचाहिँ बर्खा रैछ । फेरि बर्खामा नब्याउने हो भने अरु सिजनमा प्राकृतिक अवस्थामा सन्तान स्याहर्न गार्हो रैछ ।

दही खाएर तल झर्दै थियौं । अंकित दही नखाई हिँडेकाले मिलन र अविन दाइलाई गएर अंकितसँग हिँड्दै गर्नुभयो । एकैछिन पछि अविन दाइ त आत्तिँदै माथि होटेलछेउ आइपुग्छन् । वन्यजन्तु कराएकाले दाइ तर्सिएछन् । अविन दाइलाई भालु कराएको लाग्यो रे, मिलनले होइन मृग होभन्दा पनि दाइले मिलनलाई भालु नै हो भनेर तर्साएछन् । दुवै तर्सिएछन् । हामी पनि सँगै हिँड्यौं । बाटाभरि दाइले भालुको कथा सुनाउँदै हिँडे । रिभसाइड कटेपछि झमक्क साँझ परेको थियो । अविन दाइ अघि-अघि थिए, भालु भनेर आत्तिँदै भने । हिँड्दा-हिँड्दै झसंग भएर पछाडि फर्किए । एकैछिन त सन्नाटा छायो । पछि रूखको मुढो लडेर बसेको रैछ, अँध्यारोमा हाम्रो मन आत्तिएको रैछ । सबै हाँस्दै हिँड्यौ । बम्बु पुग्दा झमक्क साँझ परिसकेको थियो । होटेलवाला दिदी दंग पर्नुभयो । हामी वरिपरि आगो ताप्दै थियौं । बिस्तारै अर्को टोली पनि आयो । गफिँदा-गफिँदै यात्रा र पढाइको कुरो भयो । एकजना डाक्टरी पढ्दै रैछिन् । अर्का तीन विमानका क्र्यु मेम्बर रैछन् । नाम सोधेर थरको चल्दै जाँदा ह्वाँहरुको हजुरामाको माइती र हामी एउटै खड्का रैछौं । गफिलो साँझमा होटेलवाला दाइ र दिदी पनि मिसिए । हामी सबैले झ्वाँई खट्टे पनि खायौं ।

त्यसै मेसोमा अविन दाइले स्कुल पढ्दाताकाको सम्झना सुनाए । अविन दाइ भन्छन्, “दाङको तुलसीपुरमा पढ्थेँ । ८ क्लासको कुरो हो । हाम्रो होस्टेलमा नयाँ सर आइपुगेका थिए । सरको नाम राजु थियो तर हामी थपेर राजु मास्टर भन्थ्यौं । म होस्टेल बस्थेँ त्यो बेला । साथीहरुले मेलामा एउटा किताब किनेको । उनीहरुले पढिसकेपछि मैले पाएको थिएँ । किताब अङ्ग्रेजीमा थियो । शनिबारको दिन क. चे ग्वेभाराको किताब पढिराथेँ । सरले देखेसी पढ्न थे भन्नुभयो । सरलाई दिएँ । सरले ३/४ पछि किताब पढिसकेर मलाई दिनुभयो । दिने बेला के भन्छन्, अविन किताब एकदम दामी, यो ‘क चभरा’ भन्ने मान्छे खतरानक रैछन् । भएको के रैछ भन्दा क. चे ग्वेभरालाई पुस्तक भरी सरले ‘कचेभरा’ पढेछन् ।” यो कुरो सुनेर नहाँस्ने कोही थिएन । “भनेसी तपाईं ‘कचेभरा’का विद्यार्थी !” मैले यति थपेसी हाँसो झन् बेजोडको आयो । गफिँदा गफिँदै १० बजिसकेछ । झ्वाँई खट्टेको तालमा गफको भकारी भैएछ । सबै जनाले सँगै खाना खायौं र सुत्नतिर लाग्यौं ।

बिहान दिदीकोमा रोटी र तरकारी खाएर बाटो ततायौँ । दिदीले हामीलाई सार्है माया गर्नुभयो । आठदिने यात्रामा हाम्रो खल्ती रित्तिन आँटिसकेको थियो । दिदीलाई अप्ठ्यारो नपर्ने गरी मिलाउनू है भन्यौं । काठमाडौं आउँदा सम्झिनुस् है भनेर विजय दाइले ती दिदीलाई भन्नुभयो । दिदी हामीसँग यति खुसी हुनुहुन्थ्यो कि एउटा तस्बिर खिचाउने रहर गर्नुभयो । हामीले खिचायौं । हामी त्यहाँबाट निस्किँदा दिदी भावुक हुनुभयो । हामी १२ बजेको गाडी भ्याउने तरिकाले रफ्तार बढायौं । लाङटाङ खोलाको तिरैतिर हिँडेर हामी स्याफ्रु पुग्यौं । गाडी छुट्ला कि भनेर म अलिक अघि निस्किएँ । एकजना दाइले स्कर्पियो खाली छ भने । हामीले हामीसँग पैसा धेरै छैन, मिलाएर लाने भए जान्छौं भन्यौं । राम्रोसँग आफ्नो कुरो गरेपछि उहाँ पनि सहमत हुनुभयो । तुवाँलो लागेर होला, मौसम उति राम्रो थिएन । धुन्चे पुगेपछि हामीलाई रोकिन भनियो । जंगलमा फैलिएको डढेलो सडकसम्म आइपुगेछ । बाटो खुलेपछि हामी त्यहाँबाट निस्कियौं । ड्राइभर दाइ मजाका मान्छे रैछन् । गफ गर्दा गर्दै विदुर आइसकिए छ । ड्राइभर दाइलाइ धन्यवाद दियौं । नुवाकोट विदुर झरेर विजय दाइको मावलमा बसियो । सबैसँग चिनाजान पनि भयो । भोलिपल्ट बिहानै नुवाकोट दरबार हेर्न गयौं । पुनर्निर्माणको गति देखेर दिक्क लाग्यो । कहिले बन्ने होला मात्रै प्रश्न आइरह्यो । र त्यै दिन काठमाडौंतिर फर्किइयो !

जिन्दगी सम्झना नै सम्झनाको माला रैछ । आखिर सम्झनामा नै मान्छे बाँच्दो रैछ । दाइहरु र भाइहरुको मितेरी पुल बनेर यात्राभर पथप्रदर्शकको भूमिका निर्वाह गर्ने अवसर पाएँ । सूर्यकुण्ड र गोसाईंकुण्ड पुग्दा हामीले अनुभूति गरेका भोगाइहरूको व्याख्या शब्दमा हुन सक्दैन । जीवन यात्रा हो, र यात्रा नै जीवन हो । यात्रा नशा हो, यात्रामा डुबिसकेका मानिसहरुको प्रिय मित्र यात्रा नै हुनेरैछ ! र विशेषगरी गोसाईंकुण्डमा कैले मानिसहरु तीर्थयात्री भएर जाँदा रहेछन् त कैले शिवहरु भएर ! यिनै हामीले सँगालेका सम्झनाहरु स्मृतिका पन्नाहरुमा ताजा भएर बसिरहनेछन् । र यात्राका हर आत्मीय मनहरुप्रति अन्तरात्मादेखि नै आभारी नभइ बस्न सकिन्न !
(एमबीबीएस अध्ययनरत)

गोसाईंकुण्डमा भेटिएका ‘शिव’हरु !

अघिल्ला भागहरू :

गोसाईंकुण्डमा भेटिएका ‘शिव’हरु ! भाग : १

गोसाईंकुण्डमा भेटिएका ‘शिव’हरु ! भाग : २

गोसाईंकुण्डमा भेटिएका ‘शिव’हरु ! भाग : ३

प्रतिक्रिया