शुक्रबार, वैशाख १४, २०८१

अराजक बोलीमा लगाम लगाऊ !

नेपालखोज २०७८ असार १६ गते १४:२४

हिन्दीमा एउटा कहावत (उखान) छ- खिसियानी बिल्ली खम्बा नोचे । प्रधानमन्त्री केपी शर्मा ओलीको विगत केही दिनका सार्वजनिक टिकाटिप्पणी सुन्ने हो भने जो कसैलाई यो उखानको सम्झना आउन सक्छ । प्रधानमन्त्री ओलीका मन्तव्य राजनीतिक मर्यादा, पदीय आचरण तथा अनुशासनभन्दा बाहिर जान थालेको प्रतित हुन्छ । त्यसो त ओली पहिलेदेखि नै विपक्षीहरुप्रति निकै आक्रामक रहँदै आएका थिए । उनको विपक्षी बेन्च पनि स्थायी छैन । एकताका भारत तथा मधेसवादी दललाई सत्तो-सराप गरेर नथाक्ने ओली त्यसअघि माओवादीको हुर्मत लिन अग्रपंक्तिमा देखिन्थे । पछि तिनै माओवादीसँग उनले ‘भ्यालेन्टाइन डे’समेत मनाए । कहिले दरबार त कहिले कांग्रेस, कहिले भारत त कहिले अदालत तथा संसद्, ओलीले आफ्ना असंसदीय र अमर्यादित दुर्वचन लगाउन कसैलाई बाँकी राखेका छैनन् । उनले आफ्नो स्वार्थ पर्दा तिनैलाई शिरमा राख्न पनि कसर छाडेका छैनन् ।

अहिले दरबारवादी, धार्मिक एकाधिकारवादी, भारत, मधेसवादीदेखि लिएर देश टुक्रयाउँछु भन्नेहरुसम्म ओलीको ‘गुडबुक’मा रहेका देखिन्छन् । बितेका केही महिनायता ओलीले तिनका विरुद्ध रहस्यमय मौनता साँध्दै आएका छन् भने प्रमुख प्रतिपक्षी दल, आफ्नै केही सहयात्री, न्यायपालिका र व्यवस्थापिका अहिले उनको तारो भएका छन् ।

राजनीतिमा वैचारिक स्थिरता, नैतिकता, शिष्टता आदिको ठूलो मूल्य हुन्छ । यद्यपि ओलीको अभिव्यक्ति सुन्दा त्यससँग कुनै सरोकार भएजस्तो लाग्दैन । तमाम प्रजातान्त्रिक संस्था भत्काउन उद्यत देखिएका ओलीको बोलीमा कसले लगाम लगाउने हो ? आफैंमा प्रश्न उठ्न थालेको छ ।

ओली नेकपा एमालेका अध्यक्ष मात्र होइनन्- देशको प्रधानमन्त्री पनि हुन् । उनका हल्का टिप्पणी, छिछौरा कुरा तथा गाली-गलौजले देशका प्रधानमन्त्रीको स्तर मात्र देखाउँदैन यसले उक्त पदको मर्यादा पनि घटाउँदै जान्छ । राजनीतिका स-साना कुरामा आफैं जवाफ दिन अग्रसर हुनु प्रधानमन्त्रीजस्तो पदलाई सुहाउने कुरा होइन । यसले पार्टीपंक्ति, सरकार वा सरकार समर्थकहरुमा प्रधानमन्त्रीको कुरा बोलिदिने कोही छैनन् भन्ने पनि अर्थ लगाउन सकिन्छ । होइन भने हरेक विषयमा जुन स्तर र तहमा ओर्लिएर प्रधानमन्त्री ओली कुर्लन्छन्- त्यो पागलपन र बकवासभन्दा बढी केही लाग्दैन । अझ उनका पुराना भाषण सुन्ने हो भने त ओली वैचारिक स्थिरता नभएका नर्कट साबित हुन्छन् जो आफ्नो स्वार्थमा जे पनि बोल्न र जसलाई पनि गाली गर्न उद्यत छन् । ओलीले विपक्षीलाई गाली गर्न मात्र होइन कोभिडलाई कुल्ला गरेर ठीक गर्नेजस्ता बीसौं हावादारी गफ गरेर जनता रनभुल्ल पार्ने अनेकौं दुष्प्रयाससमेत गरेका छन् ।

प्रधानमन्त्री पदकै मर्यादा र गरिमा घटाउने यस्ता दुर्वचन आकाशतिर फर्केर थुकिएको थुक नै हो । जुन अन्तत: आफ्नै थाप्लामा आइपुग्छ । एउटा वरिष्ठ नेता तथा उच्च पदलाई नसुहाउने यस्ता बोली-वचन तत्काल बन्द गरिनु नै श्रेयष्कर हुन्छ ।

ओलीकै सिको गरेर हो वा उनकै प्रभावमा परेर हो- प्रतिपक्षी पाँचदलीय गठबन्धनका वरिष्ठ तीन नेताले समेत बेलाबेला संयम गुमाउन थालेका छन् । विशेषत: राष्ट्रपतिका सम्बन्धमा उनीहरुका टिप्पणीहरु गैरराजनीतिक र मर्यादाहीन देखिन्छन् । विद्या भण्डारीको आलोचना गर्दा उनीहरुले के पनि हेक्का राख्नुपर्छ भने- राष्ट्रपति पद देशको सर्वोच्च पद हो र त्यो व्यक्ति होइन संस्था हो । भण्डारीका गतिविधिले पदको गरिमा कायम राख्न सकेन भन्दैमा झन्डै सात दशक भोटो फटाएका तथा देशको उच्च तहमा पुगेका नेताहरुले मर्यादा बिर्सिएर उक्त संस्थाकै हुर्मत लिने काम गर्न मिल्दैन ।

राजनीतिक विवाद, बहस, छलफल आदि आफ्नो ठाउँमा हुन्छ र यो निरन्तर चलिरहन्छ । त्यसमा राजनीतिक संस्कार, मर्यादा, अनुशासन कायम राख्ने काम पनि नेताहरुकै हो । यो कुरा नबुझी क्षणिक उत्तेजनामा आउँदा जग हसाउने काम मात्र हुँदैन वर्तमान पुस्ताका नेताहरुले आफ्ना पिँढीलाई के सिकाइरहेका छन् ? प्रश्न उब्जिएको छ ।

प्रतिक्रिया