सोमबार, वैशाख ३१, २०८१

‘दुर्गेशजीलाई मन्त्रीले हस्ताक्षर गरेकै पत्र पठाउनुपर्ने हो र ?’

नेपालखोज २०७८ साउन २४ गते १४:२८

‘चुप लागेर बस्न भाइ चकचके फेरि कुरा बिग्रन सक्छ के’, ‘भोगटेले ठाउँ मात्र ओगटे’, ‘ओई ज्योति ओई ज्योति देऊ न एक चोटि’ पछिल्ला समय धेरै चलेका लोकगीत हुन् यी । अर्थात्, दोहोरो अर्थ दिने भाइरल गीत हुन् । सायद युट्युबको जमाना भएकाले होला चलचित्रको संवाद, गीत, कमेडीलगायत सबै क्षेत्रमा अश्लील शब्द प्रयोग भएको पाइन्छ । लोकगीत पनि यसबाट अछुतो हुने कुरै भएन ।
मोडल तथा गायक दुर्गेश थापा बिच्च-बिच्चमा ४ (ख्यास्स पुतली) गीतको कारण विवादमा तानिएका छन् । कारण गीतमा प्रयोग भएको शब्द ख्यास्स पुतली हो । गीतमा यही शब्द प्रयोग भएका कारण दुर्गेशलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले साधारण सदस्यसमेत नरहने गरी संस्थागत बहिष्कार गरेको छ । प्रतिष्ठानले कुनै जानकारी नदिई कारबाही गरेको गायक दुर्गेशको भनाइ छ । अहिलेसम्म प्रतिष्ठानबाट आधिकारिक रूपमा जानकारी नआएको उनी बताउँछन् । उनले भने, ‘मलाई बहिष्कार गरेका छन् रे बाहिर हल्ला सुनिरहेको छु । आधिकारिक जानकारी आएकै छ्रैन । आपत्ति भए ‘टेबल–टक’ गर्नुपर्‍यो नि ।’
भाषाका कारण भएको यस विवादले मिश्रित प्रतिक्रिया पाइरहेको छ । यसै विषयमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका उपमहासचिव शिव हमालसँग नेपालखोजका लागि संगम ढकालले गरेको कुराकानी :

० ‘ख्यास्स पुलली’को शाब्दिक अर्थ के हो ?
ठ्याक्कै शाब्दिक अर्थचाहिँ पुरुषको जननेन्द्रीय जनाउने अश्लील शब्द हो । अर्थात् छाडा शब्द हो ।

० कतिपय ठाउँमा साधारण बोलीचालीमा बोलिने शब्द हो यो यसकै कारण दुर्गेशलाई बहिष्कार गर्नुपर्ने कारण थिएन भन्ने पनि छ नि ?
मलाई साधारण बोलीचालीमा भनिन्छ जस्तो लाग्दैन । एउटा भद्रभलाद्‌मी र शिष्ट समाजमा बोलिन्छ जस्तो लाग्दैन मलाई । होला रत्यौलीतिर बोलिएला । म त्यो शब्दको नाम पनि लिन चाहँदिनँ । उहाँको भिडियोमा जे साइन गरेको छ त्यसको अर्थ त्यही हो ।

० दुर्गेशबाट नै तपाईंहरुको एक्सन सुरु भएको हो ?
होइन । पोहोर तीजका गीत अनुरोध गरेर परिमार्जन गराइएको थियो । ज्योति मगरलाई पनि एकपट कारबाही गरेको हो । पोहोर १३ वटा गीतलाई कारबाही गर्दा दुर्गेशजीको लगानीकर्ताले लिखित माफी मागेपछि फेरि यस्तो गीत नगर्ने सर्तमा छोडिएको हो । दुर्गेशबाट होइन पहिलादेखि नै हो ।

० प्रतिठानमै आबद्ध गायकहरुको गीतमा प्रश्न उठेको छ नि ?
कसको गीत आएको रहेछ ? मलाई त थाहा भएन । एउटा भुत्रो माया जालका कारण श्रुति आलेलाई संस्थाले ६ महिना निष्कासन गरेको संस्थाले । उहाँले लिखित माफी माग्नुभएको थियो ।

० ‘पीएन क्याम्पस…’ जस्ता गीत धेरै छन् त ?
त्यसो भए त ‘जुन खोलीमा पानी छैन त्यही खोलीमा भुती’, ‘आफ्नो पोईलाई बासी मकै नाठो पोईलाई रोटी’ त्यहाँदेखि हेर्न सकिन्छ ।

० उहाँहरुलाई कारबाही गर्न केले रोक्यो त ?
लोकदोहोरीको उत्पतिदेखि आएका विकृति हिजो बितेकालाई आज आएर कारबाही गर्ने कुरा भएन । अहिले हामीले रिक्वेस्ट गरिरहेका छौं । विगतमा दुर्गेशसँग हामीले हात जोडेर बिन्ती पनि गरेका हौं । उहाँको पहिलेका गीतका कारण प्रहरी प्रशासनले कारबाही गरेको तपाईंहरुलाई थाहा नै होला । पटक-पटक प्रयासपछि उहाँलाई भेटेर सम्झाइयो । फोनबाट अनुरोध गरियो । पत्रद्वारा अनुरोध गरियो । उहाँले लोकदोहोरीसँग लेना नि छैन देना नि छैन भनेपछि उहाँको मैलिक अधिकारलाई सम्मान गरेर, राज्यले दिएको अधिकारलाई प्रयोग गर्दै नैतिक धरातालमा टेकेर कारबाही गरेको हो ।

कलाकारहरुले समाजमा राम्रो स्थान नपाइरहेका बेला दुर्गेशलाई गरेको कारबाहीले नकारात्मक सन्देश जान सक्छ नि ?
हामीले दुर्गेशजीलाई गरेको नैतिक कालोसूचीले नकारात्मक सन्देश जान्छ कि उहाँको गीतमा प्रयोग भएको शब्दले ? हामीले दुर्गेशजीलाई यस्तो नगर्नूभन्दा नकारात्मक सन्देश जान्छ कि दुर्गेशजीले यस्ता गीत गाउँदा ? यो आफैं अनुमान गर्नुहोस् न ।

० दुर्गेशजीले प्रतिष्ठानबाट कुनै लिखित जनकारी आएको छैन भन्नुहुन्छ नि ?
हुलाकबाट पठाउने कुरा भएन । उहाँ मसँग एड हुनुहुन्छ । मैले म्यासेन्जरम एउटा पत्र पठाएँ, अनुरोध पठाएँ । उहाँसँग च्याटमा गरेका संवाद मसँग सुरक्षित छ । प्रविधिको प्रयोग गर्न पाइन्छ होला नि हैन र ? संस्थाको अध्यक्षले हस्ताक्षर गरेको पत्र आधिकारिक हैन र ? कि मन्त्रीले हस्ताक्षर गरेको पत्र पठाउनुपर्ने हो ?

० प्रतिठानले युट्युबबाट ‘खस्यास्स पुतली’ गीत हटाउने तयारी गरेको छ रे नि ?
नागरिक समाज, अधिकारकर्मी, धर्मावलम्बीहरुले चोट पुर्‍याएको ठहर गरेर हटाउनुभयो भने थाहा भएन । यस्ता टेक्निकल कुरामा आघात पुर्‍याउने काम संस्थाको नैतिक अधिकार भित्र पर्दैन । सायद हामी यो काम गर्दैनौं ।

० प्रतिष्ठानमा आबद्ध अग्रज कलाकारले दुर्गेशको स्टारडममा ईर्ष्या गरेका हुन् भन्छन् नि ?
प्रतिष्ठानमा आबद्ध कलाकारको हैसितयत के हो । उहाँहरु ईर्ष्या गर्ने अवस्थामा हुनुहुन्छ/हुनुहुन्न यो कुरा बुझ्न आवश्यक छ । समयअनुसार सबैको पालो आउँछ । हिजो अग्रजको पालो थियो । अहिले उहाँहरु विश्राममा हुनुहुन्छ । कुरा के भने चलेको कलाकारले जे पनि गर्न पाउँछ र यो समाजमा ? समाजमा नैतिकता हुन्न मिडियाको अगाडि मैले ती गीत गाउन सक्छु र ? परिवारको अगाडि यस्तो गीत गाउन सकिन्छ ? गीतको एउटा मापदण्ड त होला नि ?

० तपाईंहरुले लोकगीतका लागि किन सेन्सरबोर्ड स्थापना गर्नुहुन्न ?
यो विषयमा राज्यसँग दशकदेखि लड्दा-लड्दै हाम्रो अग्रज पुस्ताहरु जानुभयो । हामी पनि लडिरहेका छौं । राज्यले गर्दिदैन, गर्ने भएको भए यस्ता गीतका लागि हामी लड्न आवश्यक थिएन । बारम्बार अनुरोध गर्दा पनि राज्य बेखबर छ ।

प्रतिक्रिया