शुक्रबार, वैशाख १४, २०८१

‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

नेपालखोज २०७८ कार्तिक ८ गते ९:४७

प्रदेश १ को सोलुखुम्बु जिल्लाको प्रशासनिक नेतृत्व अहिले जाजरकोटका गणेशविक्रम शाहीको काँधमा छ । २०७७ कात्तिक ५ गतेदेखि सोलुखुम्बुको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शाही कुशल प्रशासकका रूपमा परिचित छन् ।
जिल्लाको शान्ति-सुरक्षा, वस्तुअवस्थिति, निजामती सेवा प्रवेशलगायत विषयमा कुराकानी गर्न प्रजिअ शाहीलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । उनले निजामती सेवामा १३ वर्ष बिताइसकेका छन् । सोलुखुम्बुका प्रजिअ शाही यसअघि गृह मन्त्रालयको विपत् व्यवस्थापन शाखामा कार्यरत थिए । निजामती सेवामै रहेर जनताको सेवा गर्न सकिन्छ भन्ने महसुस भएर आफू यतातर्फ लागेको उनी बताउँछन् । ‘जाजरकोटको दुर्गम बारेकोट गाउँपालिकामा हुर्केको हुँ । त्यहीँ स्थानीय स्तरमै शिक्षा आर्जन गरेर अगाडि बढेँ । विस्तारै निजामती सेवामै रहेर जनताको सेवा गर्न सकिन्छ भन्ने महसुस भयो । पोलिसीको काम गर्न सकिने भएकाले यो क्षेत्र रोजेँ,’ उनले नेपालखोजसँग भने, ‘म अहिले पनि भन्ने गर्छु निजामती सेवा भनेको जिम्मेवारीबोध र सेवाग्राहीप्रति उत्तरदायी भएर काम गर्नुपर्छ ।’
प्रजिअ शाही समय मिलाएर अध्ययन गरे निजामती सेवा प्रवेशका लागि गाह्रो नहुने सुझाउँछन् । ‘निजामती सेवालाई नै करिअर बनाउने भनेर जसले सोच्नुभएको छ उहाँहरूले निजामती सेवा विभिन्न सेवा समूह छ, परीक्षा दिने माध्यम छन् भन्ने बुझ्नुपर्छ । यी कुरा बुझेर कुन पदका लागि हो त्यसका आधारमा तयारी थाल्नुपर्छ । सामान्य ज्ञान हामीले दोहोर्‍याएर पढ्नुपर्छ । पढ्ने समय छुटाएर तयारी गर्नुपर्छ । एकैदिन धेरै पढ्नुपर्छ भन्ने होइन कि हामी अलि क्रियटिभ भएर पढ्नुपर्छ यसो गर्‍यो भने पढेको कुरा हामीले सजिलै ग्रहण पनि गर्न सक्छौ र परीक्षामा लागु गर्न सक्छौं,’ उनी सुझाउँछन् ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो २८औं अंक :

हाइलाइट्स :
-सेवाग्राहीको जे-जति समस्या आउँछ गहिरिएर हेर्ने, जिम्मेवारबोध र सेवाभावले काम गर्ने हिसाबले सकेसम्म समस्या समाधान गर्न खोजेको छु ।
-सेवाग्राही विभिन्न कामले डकुमेन्टहरू लिएर आउँछन् डकुमेन्ट नपुगेर सेवा प्राप्त नगर्न सक्ने अवस्थामा हुन्छ र फिर्ता गर्नुपर्ने हुन्छ यस्ता सेवाग्राहीलाई म कहाँ पठाएर मात्र फिर्ता गर्नू भनेर निर्देशन दिएको छु । किनभने हाम्रो कार्यालयबाट पनि त्रुटि हुनसक्छ । अन्तिम अवस्थामा मैले हेरेपछि मात्र निर्णय गर्ने भनेर सल्लाह गरेका छौं ।
-कोही सेवाग्राही अफिस बिदा हुने समय ५ बजे आइपुग्नुहुन्छ । हामी १ घण्टा ढिला बसेर भए पनि उहाँको काम गरिदिन्छौं सेवाग्राहीलाई काम नगरी फर्काउँदैनौं ।
-कानुनले नै यो डकुमेन्ट चाहिन्छ भनेपछि ती डकुमेन्ट पूरा गर्नुपर्छ त्योभित्र लचकता अपनाउन सक्ने ठाउँ भए अपनाउँछौं । कहिलेकाहीँ अनावश्यक ठाउँमा पनि दबाब आउँछ । हामीले धेरै मुद्दाहरू हेर्छौं त्यसमा यसो गरिदिनुपर्‍यो भन्ने खालका दबाब पनि आउँछन् । यसमा मैले के भन्छु भने प्रमुख जिल्ला अधिकारीको प्रशासनिक काममा केही लचकता आउन सक्छ । तर यो न्यायका कुरा तपाईंले भनिरहनु पर्दैन म तथ्य र प्रमाणका आधारमा काम गर्छु ।
-निजामती सेवा भनेको जिम्मेवारीबोध र सेवाग्राहीप्रति उत्तरदायी भएर काम गर्नुपर्छ ।
-अब म राज्यको नीति-निर्माण गर्ने तहमा पुग्नुपर्छ त्यहाँबाट मात्र करिअर बनाउन र सर्भिस डेलिभर गर्न सक्छु भनेर महसुस गरेँ । अनि सुर्खेतबाट निजामती सेवा प्रवेशका लागि चाहिने केही पुस्तक किनेँ । तयारी गर्न थालेँ । तयारी गरेको दुई वर्षमा सुब्बा स्तरको पदबाट म निजामती सेवामा प्रवेश गरेँ ।
-पछिल्लो पुस्तामा मध्यम वर्गीय परिवारका साथीहरूमा केही आकर्षण देखिन्छ । उच्च वर्गीय परिवारको सन्तानमा भने आकर्षण देखिँदैन ।
-पढ्ने समय छुटाएर तयारी गर्नुपर्छ । एकैदिन धेरै पढ्नुपर्छ भन्ने होइन कि हामी अलि क्रियटिभ भएर पढ्नुपर्छ यसो गर्‍यो भने पढेको कुरा हामीले सजिलै ग्रहण पनि गर्न सक्छौ र परीक्षामा लागु गर्न सक्छौं ।
-हाम्रो सरुवा प्रणाली व्यवस्थित हुन सकेको छैन । यसले सेवा प्रवाह र कार्यसम्पादनमा ठूलो असर गरेको छ । हामीले प्लान गरेको काम आफैँले सम्पादन गर्न पायौं भने नतिजा पनि राम्रो आउँछ ।
-मैले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारसँग संयोजकको काम गरिरहेको छु । मेरो भूमिका पनि बहुआयामिक रूपले विकास भएको छ ।
-हामी जनताप्रति उत्तरदायी र जिम्मेवार भएर लागिपर्‍यौं भने निजामती सेवालाई फरक ढंगले अगाडि बढाउन सक्छौं ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
म निजामती सेवामा रहेर जनताको सेवा गर्न विभिन्न जिल्ला पुगेको छु । कर्णालीको विकट डोल्पा, जाजरकोट, बर्दियालगायत जिल्ला हुँदै म अहिले सोलुखुम्बुमा छु । हामी सेवा प्रवाहको काम गर्छौं । साथै सेवाग्राहीको जे-जति समस्या आउँछ गहिरिएर हेर्ने, जिम्मेवारबोध र सेवाभावले काम गर्ने हिसाबले सकेसम्म समस्या समाधान गर्न खोजेको छु । केही समस्या समाधान गर्न नसक्ने पनि हुन्छन्, उहाँहरूलाई सम्झाएर यो समस्या समाधान हुन सक्दैन । यो कारणले हुन सकेन भनेर सम्झाइ–बुझाइ पठाउने गरेको छु ।

आफूले गरिदिएको कामबाट निकै खुसी भएको सेवाग्राही र आफूलाई पनि निकै आत्मसन्तुष्ट भएको स्मरणीय घटना छ कि ?
यस्ता घटना धेरै छन् । म अहिले सोलुखुम्बुमा कार्यरत छु । यहाँ पनि विभिन्न समस्या आउँछन् । सेवाग्राही विभिन्न कामले डकुमेन्टहरू लिएर आउँछन् डकुमेन्ट नपुगेर सेवा प्राप्त नगर्न सक्ने अवस्थामा हुन्छ र फिर्ता गर्नुपर्ने हुन्छ यस्ता सेवाग्राहीलाई म कहाँ पठाएर मात्र फिर्ता गर्नू भनेर निर्देशन दिएको छु । किनभने हाम्रो कार्यालयबाट पनि त्रुटि हुनसक्छ । अन्तिम अवस्थामा मैले हेरेपछि मात्र निर्णय गर्ने भनेर सल्लाह गरेका छौं । यही कारण मैले सेवाग्राहीको डकुमेन्ट इमेलमा मगाएर, विभिन्न ठाउँमा को-अर्डिनेसन गरेर काम गरिदिएको छु । यसरी काम गरिदिँदा उहाँहरू धेरै खुसी भएर गएको अवस्था छ । साथै, कोही सेवाग्राही अफिस बिदा हुने समय ५ बजे आइपुग्नु हुन्छ । हामी १ घण्टा ढिला बसेर भए पनि उहाँको काम गरिदिन्छौं सेवाग्राहीलाई काम नगरी फर्काउँदैनौं ।

कामका दौरान कस्ता–कस्ता दबाब आउँछन् ?
म धेरै जिल्लामा कार्यालय प्रमुख भएर काम गरेँ । सेवा पाउने अवस्था नभएपछि त्यस्ता मान्छेको काम गरिदिनुपर्‍यो भनेर दबाब आउँछ । प्रचलित नेपालको कानुनले मागेको डकुमेन्ट केही सेवाग्राहीको पुग्दैन । डकुमेन्ट नपुगेको व्यक्तिलाई पनि सेवा दिनुपर्छ भनेर दबाब आउँछ । यस्तो अवस्था म के भन्छु भने कानुनले नै यो डकुमेन्ट चाहिन्छ भनेपछि ती डकुमेन्ट पूरा गर्नुपर्छ त्योभित्र लचकता अपनाउन सक्ने ठाउँ भए अपनाउँछौं । कहिलेकाहीँ अनावश्यक ठाउँमा पनि दबाब आउँछ । हामीले धेरै मुद्दाहरू हेर्छौं त्यसमा यसो गरिदिनुपर्‍यो भन्ने खालका दबाब पनि आउँछन् । यसमा मैले के भन्छु भने प्रमुख जिल्ला अधिकारीको प्रशासनिक काममा केही लचकता आउन सक्छ । तर यो न्यायका कुरा तपाईंले भनिरहनु पर्दैन म तथ्य र प्रमाणका आधारमा काम गर्छु ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
जाजरकोटको विकट ठाउँ जहाँ गत वर्ष मात्र मोटरबाटो पुग्यो मेरो गाउँपालिकामा । जाजरकोटको बारेकोट गाउँपालिकामा हुर्केको हुँ । त्यहीँ स्थानीय स्तरमै शिक्षा आर्जन गरेर अगाडि बढेँ । विस्तारै निजामती सेवामै रहेर जनताको सेवा गर्न सकिन्छ भन्ने महसुस भयो । पोलिसीको काम गर्न सकिने भएकाले यो क्षेत्र रोजेँ । म अहिले पनि भन्ने गर्छु निजामती सेवा भनेको जिम्मेवारीबोध र सेवाग्राहीप्रति उत्तरदायी भएर काम गर्नुपर्छ ।

निजामती सेवा प्रवेशका लागि सन्दर्भ सामग्री कसरी जुटाउनुहुन्थ्यो ?
जाजरकोटमा रहँदा मैले आफैँ पढेको स्कुलमा केही समय पढाएँ । त्यसैले बेला अब म राज्यको नीति–निर्माण गर्ने तहमा पुग्नुपर्छ त्यहाँबाट मात्र करिअर बनाउन र सर्भिस डेलिभर गर्न सक्छु भनेर महसुस गरेँ । अनि सुर्खेतबाट निजामती सेवा प्रवेशका लागि चाहिने केही पुस्तक किनेँ । तयारी गर्न थालेँ । तयारी गरेको दुई वर्षमा सुब्बा स्तरको पदबाट म निजामती सेवामा प्रवेश गरेँ ।

निजामतीतर्फ अहिलेको पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
पछिल्लो पुस्तामा मध्यम वर्गीय परिवारका साथीहरूमा केही आकर्षण देखिन्छ । उच्च वर्गीय परिवारको सन्तानमा आकर्षण देखिँदैन । उहाँहरू विदेश जाने, उतै पढ्ने, उतै रोजगारमा लाग्ने अवस्था छ । ग्रामीण क्षेत्रमा र दुर्गम क्षेत्रमा निजामती सेवाको आकर्षण अझ देखिन्छ ।

निजामती सेवामा आउन कसरी पढ्नुपर्छ ?
निजामती सेवा राज्य सञ्चालनको मार्गदर्शक सेवा हो । निजामती सेवामा प्रवेश गरेर देश र जनताको सेवा गर्न सक्छौं । निजामती सेवालाई नै करिअर बनाउने भनेर जसले सोच्नुभएको छ उहाँहरूले निजामती सेवा विभिन्न सेवा समूह छ, परीक्षा दिने माध्यम छन् भन्ने बुझ्नुपर्छ । यी कुरा बुझेर कुन पदका लागि हो त्यसका आधारमा तयारी थाल्नुपर्छ । सामान्य ज्ञान हामीले दोहोर्‍याएर पढ्नुपर्छ । पढ्ने समय छुटाएर तयारी गर्नुपर्छ । एकैदिन धेरै पढ्नुपर्छ भन्ने होइन कि हामी अलि क्रियटिभ भएर पढ्नुपर्छ यसो गर्‍यो भने पढेको कुरा हामीले सजिलै ग्रहण पनि गर्न सक्छौ र परीक्षामा लागु गर्न सक्छौं ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
निजामती सेवाको ठूलो समस्या भनेकै सरुवा अनुमानित छैन । यसले ठूलो समस्या भएको छ । हाम्रो सरुवा प्रणाली व्यवस्थित हुन सकेको छैन । यसले सेवा प्रवाह र कार्यसम्पादनमा ठूलो असर गरेको छ । हामीले प्लान गरेको काम आफैँले सम्पादन गर्न पायौं भने नतिजा पनि राम्रो आउँछ । प्लान गरेको काम पूरा गर्न नपाइ सरुवा भयो भने कार्यसम्पादनमा असर देखापर्छ । समय अवधि तोकेर कर्मचारीलाई जिम्मेवारी दिनुपर्छ र निश्चित अवधिको कार्यसम्पादन सम्झौता पनि गर्नुपर्छ ।

संघीयताअघि र संघीयतापछि निजामती सेवाको कार्यसम्पादन शैलीलाई कसरी लिन सकिन्छ ?
संघीयताअगाडि जनप्रतिनिधि चयन भइसकेको अवस्था थिएन । त्यसबेला निजामती कर्मचारीले राजनीतिक अभिभावका रूपमा र कर्मचारीका रूपमा काम गर्नुपर्‍यो । दोहोरो जिम्मेवारी थियो दोहोरो भूमिका थियो । साथै कर्मचारीलाई निर्देशन गर्ने कोही नभएको हुँदा, मार्गनिर्देशन गर्ने राजनीतिक नेतृत्व नहुँदा भिजन (दृष्टिकोण) को तहमा केही समस्या थियो । अहिले संघीयतापछि सबै तहमा राजनीतिक नेतृत्व हुनुहुन्छ । राजनीतिक नेतृत्वले नीति बनाउने र कर्मचारीतन्त्रले कार्यान्वयन गर्ने एउटा सिस्टम छ । यो कुरा अगाडि बढेको छ । कर्मचारीको भूमिका आमरूपले परिवर्तन पनि भएको छ । म अहिले प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरिरहेको छु मैले को–अर्डिनेटरका रूपमा पनि काम गर्नुपर्छ । संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारसँग संयोजकको काम गरिरहेको छु । मेरो भूमिका पनि बहुआयामिक रूपले विकास भएको छ ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म निजामती सेवाप्रति एकदम सन्तुष्ट छु । म जुन निकायमा रहेर काम गरें त्यस ठाउँमा थोरै भए पनि परिवर्तनको अनुभूति हुने हिसाबले काम गरेको छु । म यसमा सफल पनि भएको छु । हामी जनताप्रति उत्तरदायी र जिम्मेवार भएर लागिपर्‍यौं भने निजामती सेवालाई फरक ढंगले अगाडि बढाउन सक्छौं ।

सोलुखुम्बुको शान्ति-सुरक्षाको अवस्था अहिले कस्तो छ ?
म यहाँ आएको एक वर्ष भयो । यहाँ शान्ति–सुरक्षाको अवस्था एकदम सामान्य रूपमा चलिरहेको छ । शान्ति–सुरक्षा कायम गर्नु प्रमुख जिल्ला अधिकारीको प्रमुख काम हो यसलाई मैले प्राथमिकतामा राखेर काम गरेको छु । शान्ति-सुरक्षाको हिसाबले जिल्लालाई चुस्तदुरुस्त हिसाबले अगाडि बढाउन सफल भएको छु । शान्ति–सुरक्षालाई टेक्नोलोजी बेसमा लैजानुपर्छ भनेर विभिन्न ठाउँमा सीसी टीभी जडान गरेको छु । व्यवस्थापन गरेको छु । निगरानीमा पहुँच बढाएको छु ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
हामी निजामती सेवामा जो–जो कार्यरत छौं । हामीले एकदम पोजेटिभ ढंगले काम गर्नुपर्छ । परिवर्तनलाई एकदम आत्मसात् गर्नुपर्छ । साथै, निजामती सेवालाई भविष्य बनाएर जो निजामती सेवामा प्रवेश गरिसक्नु भएको छ र जो प्रवेश गर्ने इच्छा गर्नुभएको छ यहाँ भविष्य उज्ज्वल छ । हामीले अब परम्परागत ढंगले होइन फरक ढंगले काम गर्नुपर्छ । जनचाहनाअनुसार काम गर्नुपर्छ भन्न चाहन्छु । यहाँको लोकप्रिय सञ्चारमाध्यमलाई पनि धन्यवाद दिन चाहन्छु ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि लुम्बिनी प्रदेशको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटासँग कुराकानी गरेका थियौं । यसपटक हामीले प्रदेश १ को सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

प्रतिक्रिया