शुक्रबार, वैशाख १४, २०८१

लघुबिमाको विकासमा मेटलाइफको प्रतिवद्धता, दाबी व्यवस्थापन प्रणालीको सुरुवात

नेपालखोज २०७८ मंसिर १३ गते १८:१५

काठमाडौं । मेटलाइफ नेपालले लघुबिमा दाबीका लागि नयाँ दाबी व्यवस्थापन प्रणालीको सुरुवात गरेको छ । यस प्रणालीले ग्राहकहरूलाई छिटो भुक्तानी गर्न म्यानुअल दाबी प्रक्रियालाई प्रतिस्थापन गर्नेछ । नयाँ प्रणालीमा दाबी आवश्यकता र डिस्चार्ज भौचरहरूका लागि स्वचालित इमेलहरूको व्यवस्थाका साथसाथै दावी पेश गर्न र भुक्तानीको समयलाई घटाउनका लागि स्वचालित दाबी मूल्याङ्कन जस्ता सुविधाहरू समावेश गरिएका छन् ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठका अनुसार मेटलाइफ आफ्ना ग्राहकहरूको थप आत्मविश्वासी भविष्य निर्माणमा मद्दत गर्न प्रतिबद्ध छ ।

साथै उनले दु्रतदाबी समाधान नै लघुबिमा ग्राहकहरूको प्राथमिकता रहेको र यसका लागि उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न मेटलाइफको नयाँ दाबी व्यवस्थापन प्रणाली कोशेढुङ्गा सावित हने बताए ।

लघुबिमा मार्फत सेवाविहीन समुदायलाई वित्तीय सुरक्षाप्रदान गर्न मेटलाइफ सन् २००९ मा लघवित्त संस्थाहरुसँग साझेदारी गर्ने नेपालको पहिलो बीमा कम्पनी हो । कम्पनीको ग्रामीण कर्जा बीमाले देशका ७७ जिल्ला भरिका लघुवित्त संस्था तथा सहकारीका ऋणीहरुलाई बीमा सुरक्षा प्रदान गर्दै आएको छ ।

ऋणीहरुको कर्जा चुक्ता क्षमातालाई प्रभाव पार्न सक्ने अप्रत्याशित घटनाहरूबाट जोगाउन बीमाले ऋणीहरुको बाँकी रहेको कर्जा चुक्ता गरि निजहरुको परिवारलाई थप आर्थिक सहयोग प्रदान गर्दछ । सन् २००९ भन्दा पहिले लघुवित्त संस्थाका ऋणीहरूको बिमा सुरक्षामा पहुँचका लागि कुनै औपचारिक माध्यम थिएन ।

मेटलाइफले स्वरोजगार र गरिबी निवारणमा सहयोग गर्ने उद्देश्यका साथ लघुवित्त उद्योगका विज्ञहरूसँग परामर्श गरि नेपालमा लघुविमा योजना सुरू गरेको थियो । तत्पश्चात मेटलाइफले यसको नियमित समिक्षा गरि प्रक्रियालाई सरल बनाउँदै, योजनाहरूको विकास र परिमार्जन गर्दै यसलाई अझ बढी ग्राहक केन्द्रित बनाउँदै आएको छ ।

मेटलाइफले हाल चौबिस लघुवित्त संस्थाहरूसँग साझेदार गरि आठ लाख ऋणीहरूको बीमा गरेको छ । हाल सम्म कम्पनीले करिब २४ हजार दावीहरू वापत एक अर्ब ३० करोड रुपैयाँ भूक्तान गरिसकेको छ । मेटलाइफ नेपालका सहायक उपाध्यक्ष तथा प्रमुखवितरण अधिकृत अरुण बहादुर बस्नेतको अनुसार यस प्रणालीको शुरुवातले दावीहरूको प्रशोधन समय उल्लेखिय रुपमा घटाउन मद्दत गर्नेछ किनकि यसमा दाबी सारांश तयारी, डिस्चार्ज भाउचर तयारी र स्वीकृतिका लागि हातबाटै तथ्याँक भर्न र प्रशोधन गर्न आवश्यक पर्दैन ।

यसले लघु ग्राहकहरूलाई उनीहरूको कठिन समयमा राहत दिनको लागि छिटो भुक्तानी प्रेषण गर्न सक्षम गराउँछ । साथै उनले आफ्ना लघु ग्राहकहरूलाई समयमै सेवाप्रदान गर्न प्रणालीलाई सुधार गर्दै डिजिटल सेवामा लैजान निरन्तर काम गर्ने बताए ।

प्रतिक्रिया