बिहीबार, वैशाख १३, २०८१

‘सानोमम्मीले टेम्पो चलाएको देख्दा मलाई पनि रहर जाग्यो’

चालक भन्छन्- सरकारले निःशुल्क तालिम दिन सके यस क्षेत्रमा महिलाको भविष्य राम्रो छ ।

नेपालखोज २०७८ चैत २ गते ११:२९

नेपालमा पहिलेको तुलनामा अहिले जुनसुकै क्षेत्रमा महिलाको पनि पुरुषसरह सहभागिता देख्न थालिएको छ । ढिलै भए पनि महिला-पुरुषको सहभागिता हरेक क्षेत्रमा हुनुपर्छ भन्ने भावनाको विकास हुँदै गएको छ । समय र राजनीतिक परिवर्तनसँगै महिलाको क्षेत्रमा विस्तारै विकास पनि हुँदै गएको पाइन्छ । तर जुन किसिमले विभिन्न क्षेत्रमा महिलाको पहुँच पुग्नुपर्ने हो, त्यो हुन भने सकेको छैन । संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिला अधिकारको सुनिश्चित गरे पनि त्यो पूरा हुन सकेको छैन ।
यसर्थ, महिलाको क्षेत्रमा भएका काम तथा अधिकारका सम्बन्धमा समाजलाई चेतना दिने उद्देश्यले हामीले ‘नेपालखोजमा नारी’ कार्यक्रमको सुरुवात गरेका छौं । ‘नेपालखोजमा नारी’ कार्यक्रममा हामीले युवा महिलाहरूले समाजमा पुर्याएको योगदानका विषयमा चर्चा-परिचर्चा गर्ने गर्छौं । यो कार्यक्रम नेपालखोज आइनलाइन टीभीनेपालखोज डटकममा एकसाथ पढ्न र हेर्न सकिन्छ ।

शौचालयको समस्या उस्तै

कार्यक्रममा आज हामीले दोलखाको बैतेश्वर गाउँपालिका घर भई हाल काठमाडौंमा टेम्पो चलाउँदै आएकी चालक मुना श्रेष्ठसँगको कुराकानी प्रस्तुत गर्दै छौं । मुना श्रेष्ठ पहिलोपटक काठमाडौं आउँदा सानीआमाले टेम्पो चलाएको देख्दा उनलाई पनि टेम्पो चलाउनुपर्छ भन्ने सोच आयो । उनले तालिम पनि लिइन् र चलाउन थालिन् । हाल उनले आफैंले टेम्पो किनेर चलाउँदै आएकी छन् । उनले दैनिक चार हजार रुपैयाँ आम्दानीसमेत गर्दै आएकी छन् । टेम्पोसँगसँगै सरकारले विभिन्न किसिमका सीपमूलक तालिमहरू पनि निःशुल्क रूपमा दिन सकेको भए महिलाहरू यस क्षेत्रमा अझ सक्षम हुने उनको बुझाइ छ ।
आज टेम्पो चालक महिला र उनीहरूका समस्याका विषयमा मुना श्रेष्ठसँग ‘नेपालखोजमा नारी’ मीरा साउँदले कुराकानी गरेकी छन् । प्रस्तुत छ श्रेष्ठसँग टेम्पो चालक महिलाहरूको समस्या र सफलताको सम्बन्धमा गरिएको कुराकानी :

हाइलाइट्स
-काठमाडौं पहिलोपटक आउँदा काकीले टेम्पो चलाएको देखेर मलाई पनि चलाउन मन लाग्यो । त्यही समयमा जेसीआई नेपालले निःशुल्क तालिम पनि दिइरहेको थियो । मैले पनि तालिम लिएँ र चलाउन सुरु गरें ।
-टेम्पो चलाउँदा सबैभन्दा बढी शौचालयको समस्या छ । भनेका बेला खानासम्म खान पाइँदैन । थोरै ट्राफिक नियम तोड्यो भने दिनभरि कमाएको पैसा जान्छ । टेम्पो चलाउन परिश्रमउत्तिकै छ आम्दानी पनि सन्तुष्ट हुनेखालकै हुन्छ ।
-दिनभरिमा आठ राउन्ड लगाउँछु । दिनमा चार हजारदेखि ४५ सयसम्म आम्दानी हुन्छ ।
-कोभिड संक्रमणका कारण लकडाउन जारी भएपछि धेरै नै समस्या भयो । पहिला जम्मा गरेर राखेको पैसाले जेनतेन गुजारा चलाइयो । अझै पनि ढुक्कसँग गाडी चलाउन सक्ने वातावरण छैन । गाह्रै छ ।
-अरूको टेम्पो भाडामा लिएर चलाउने महिलाहरूलाई कोभिडको समयमा धेरै समस्या भयो । धेरै टेम्पो चालक महिलाले त पेसा नै छाडे । अन्य केही सीप सिकेको नभएर पनि होला मलाई यो पेसा छोड्नुपर्छ भन्ने सोच आएन ।
-अहिले धेरै टेम्पो चालक महिला यो पेसाबाट पलायन भइसकेका छन् । पहिला विभिन्न संघ-संस्थाले महिलाहरूलाई निःशुल्क तालिम दिने गरेका थिए । अहिले त्यस्तो तालिमहरू छैन । महिलाहरूका लागि यस्तै खालका निःशुल्क तालिमहरू सरकारका तर्फबाट पनि दिन सकेको भए यो क्षेत्रमा महिलाहरूलाई स्वरोजगार बनाउन सकिन्थ्यो ।

‘नेपालखोजमा नारी’ का अघिल्ला अंकहरू पढ्न छुटाएको भए हेर्नुहोस् ।

‘पर्यटन क्षेत्रमा ६० प्रतिशतको रोजगारी गुम्यो, ८० प्रतिशतले तलबै पाएनन्’

‘व्यवसाय सुरु गर्नु गाह्रो होइन, निरन्तरता दिनु नै प्रमुख कुरा हो’

‘महिनावारीको विभेद सबै जात, धर्म, भाषा, संस्कृति र भूगोलमा छ’

प्रतिक्रिया