आइतबार, मंसिर ११, २०७९

‘सेवाग्राहीका गुनासालाई सहज रुपमा लिन्छु, समस्या समाधानमा समन्वय गरिदिन्छु’

नेपालखोज २०७९ वैशाख २६ गते ९:५३

प्रदेश १ को संखुवासभा जिल्लाको प्रशासनिक नेतृत्व अहिले ओखलढुंगाका नूरहरि खतिवडाको काँधमा छ । २०७८ असोज ६ गतेदेखि संखुवासभाको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खतिवडा कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, स्थानीय तह निर्वाचनको तयारी, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ खतिवडालाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा २०४४ सालदेखि क्रियाशील संखुवासभाकाका प्रजिअ खतिवडा यसअघि गृह मन्त्रालयका तर्फबाट सीसीएमसीमा कार्यरत थिए ।
कुनै पनि व्यक्तिले आफ्नो समस्याबारे सहयोग र सहजीकरण गरिदिनुपर्‍यो भनेर अपेक्षा गर्नुलाई आफूहरुले स्वाभाविक रुपमा लिएको बताउँछन् प्रजिअ खतिवडा । ‘कुनै पनि व्यक्तिले आफ्नो समस्याबारे सहयोग र सहजीकरण गरिदिनुपर्‍यो भनेर अपेक्षा गर्नुलाई हामीले स्वाभाविक रुपमा लिनुपर्छ । तर सम्बन्ध नभएको अर्को मान्छेले कसैको बारेमा यसरी गरिदिनुपर्‍यो भनेर आउँछ भने यसलाई दबाबका रुपमा लिनुपर्छ हामीले,’ प्रजिअ खतिवडाले नेपालखोजसँग भने, ‘हामी के चाहन्छौं भने मार्कामा परेको सेवाग्राही स्वयं आएर समस्या राख्दा एकदमै सहज र सहर्ष लिन्छौं पनि । दबाबका रुपमा लिँदैनौं । यो हाम्रो कर्तव्य पनि हो । सेवाग्राहीको अधिकार पनि हो ।’
सेवाग्राहीले चाहेजस्तो, अपेक्षा गरेजस्तो कर्मचारीबाट रेस्पोन्स नपाएको, कर्मचारीको व्यवहारबाट सन्तुष्ट नभएको अन्य विभिन्न कारणले ममाथि अनुचित व्यवहार भयो भनेर आए तत्काल सम्बोधन गर्न सकिने उनी बताउँछन् । जे भए पनि स्वयं सेवाग्राही आएर कुरा राख्दा आफूहरुले सकारात्मक रुपमा लिने पनि उनले बताए ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नूरहरि खतिवडासँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ५६औं शृंखला :

हाइलाइट्स :
-कानुनसम्मत, आफ्नो अधिकारमा रहेको र गर्न मिल्ने गरिदिने र कानुनले नमिल्ने अप्ठ्यारो पर्ने काम यो कारणले मिल्दैन भनेर बुझाउने गर्छौं ।
-कुनै पनि व्यक्तिले आफ्नो समस्याबारे सहयोग र सहजीकरण गरिदिनुपर्‍यो भनेर अपेक्षा गर्नुलाई हामीले स्वाभाविक रुपमा लिनुपर्छ । तर सम्बन्ध नभएको अर्को मान्छेले कसैको बारेमा यसरी गरिदिनुपर्‍यो भनेर आउँछ भने यसलाई दबाबका रुपमा लिनुपर्छ हामीले
-जे भए पनि स्वयं सेवाग्राही आएर कुरा राख्दा हामी सकारात्मक रुपमा लिन्छौं । अरु मान्छे वास्तविकता नबुझी, अनावश्यक रुपमा, सेवाग्राहीले भनेको भरमा यसरी गरिदिनुपर्‍यो भनेर आयो भने त्यसलाई दबाबका रुपमा लिनुपर्ने हुनसक्छ ।
-जिल्ला प्रशासन कार्यालयमा जुनसुकै काम लिएर आए पनि सेवाग्राही कुनै अर्को मान्छे लिएर आउनुपर्दैन । सीधा आएर हाम्रा कर्मचारीलाई भेट्दा हुन्छ । आफ्ना गुनासोहरु राखेर कागजातहरु पेस गरेर आफ्ना सेवा लिन सक्नुहुन्छ ।
-थाहा नै नपाइ म निजामती सेवामा छिरिसकेको हुँ । लोकसेवा खुल्छ जागिर खानुपर्छ आफैँ कमाएर मात्र क्याम्पस पढ्न सकिन्छ भन्ने हामीलाई थाहा थियो । दैनिकी गुजाराका लागि, क्याम्पस पढ्न, आफ्नो अभिलाषा पूरा गर्न लोकसेवाको परीक्षा दिनुपर्छ, पास गर्नुपर्छ भन्ने कुरा साथीहरुको संगतबाट थाहा भयो । अनि यता लागियो लोकसेवा पास भइयो ।
-पछिल्लो पुस्ता त्यति आकर्षित छ जस्तो लाग्दैन मलाई । केही हदसम्म त छ तर आकर्षणको कारण फरक हुन सक्छ ।
-चाँडो सरुवा हुनु भनेको कहीँ गएर पनि काम गर्न नसक्नु हो । यसमा पदअनुसार पनि हुन्छ ।
-संखुवासभामा पनि ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना’ छ । यसअनुसारै सुरक्षाकर्मी परिचालन गरिएको छ । सबै पालिकामा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धानका सबैले आ-आफ्नो क्षेत्रमा काम सुरु गरिसक्नुभएको छ ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
आफूलाई सफल नै लागेको हुन्छ । मूल कुरा सफल भइयो कि भइएन आफ्नो मूल्यांकनले भन्दा पनि सेवाग्राहीले के भन्छन् भन्ने कुराले महत्त्व राख्छ । हाम्रोमा धेरै किसिमका सेवाग्राही आउँछन् । उनीहरुको सबैको फरकफरक किसिमको समस्या हुन्छ । मेरो आफ्नो मूल्यांकनमा अधिकांश सेवाग्राहीलाई सन्तुष्ट नै पार्न सकिएको छ । कानुनसम्मत, आफ्नो अधिकारमा रहेको र गर्न मिल्ने गरिदिने र कानुनले नमिल्ने अप्ठ्यारो पर्ने काम यो कारणले मिल्दैन भनेर बुझाउने गर्छौं ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
कस्तो कुरालाई दबाब लिने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । दबाब विभिन्न किसिमका हुन्छन् । जस्तै स्वयं सेवाग्राहीले आफ्नो समस्यालाई लिएर यो समाधान गरिदिनुपर्‍यो भनेर गरेको आग्रह र अनुरोधलाई पनि हामीले कहिलेकाहीँ दबाबका रुपमा बुझ्छौं । यो दबाब होइन । कुनै पनि व्यक्तिले आफ्नो समस्याबारे सहयोग र सहजीकरण गरिदिनुपर्‍यो भनेर अपेक्षा गर्नुलाई हामीले स्वाभाविक रुपमा लिनुपर्छ । तर सम्बन्ध नभएको अर्को मान्छेले कसैको बारेमा यसरी गरिदिनुपर्‍यो भनेर आउँछ भने यसलाई दबाबका रुपमा लिनुपर्छ हामीले । हामी के चाहन्छौं भने मार्कामा परेको सेवाग्राही स्वयं आएर समस्या राख्दा एकदमै सहज र सहर्ष लिन्छौं पनि । दबाबका रुपमा लिँदैनौं । यो हाम्रो कर्तव्य पनि हो । सेवाग्राहीको अधिकार पनि हो । सेवाग्राहीले चाहेजस्तो, अपेक्षा गरेजस्तो कर्मचारीबाट रेस्पोन्स नपाएको, कर्मचारीको व्यवहारबाट सन्तुष्ट नभएको अन्य विभिन्न कारणले ममाथि अनुचित व्यवहार भयो भनेर सेवाग्राही आउन सक्छ । जे भए पनि स्वयं सेवाग्राही आएर कुरा राख्दा हामी सकारात्मक रुपमा लिन्छौं । अरु मान्छे वास्तविकता नबुझी, अनावश्यक रुपमा, सेवाग्राहीले भनेको भरमा यसरी गरिदिनुपर्‍यो भनेर आयो भने त्यसलाई दबाबका रुपमा लिनुपर्ने हुनसक्छ । उहाँहरुलाई पनि यस्तो हो यो कारणलेमिलेन भन्दा बुझेको जस्तै लाग्छ । कानुनअनुसार मिल्ने कुरा त भइहाल्छन् । ती कुरा पनि छिटो गरिदिनुपर्‍यो, गर्न नसकिने कुरा पनि मिलाएर गरिदिनुपर्‍यो भन्नेहरु आउन सक्छन् । ती कुराहरु नबुझेर अथवा सूचना नपुगेर, अलिकित प्रभाव देखाउँ न भन्ने हिसाबले आउन सक्छन् । यसलाई खासै त्यस्तो अप्ठ्यारोका रुपमा लिँदैनौं ।

‘नमिल्ने कुरा आए यसरी मिल्दैन, यो कागज ल्याउनुहोस् भनेर सहजीकरण गरिदिन्छु’

सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि कार्यालयमा कस्तो खालको संयन्त्र बनाउनुभएको छ ?
जिल्ला प्रशासन कार्यालयमा जुनसुकै काम लिएर आए पनि सेवाग्राही कुनै अर्को मान्छे लिएर आउनुपर्दैन । सीधा आएर हाम्रा कर्मचारीलाई भेट्दा हुन्छ । आफ्ना गुनासोहरु राखेर कागजातहरु पेस गरेर आफ्ना सेवा लिन सक्नुहुन्छ । कतिपय कागजातका नमुनाहरु हामीले यही उपलब्ध गराउँछौं । लेखनदास प्रयोग गरेर कोही दोस्रो मानिस प्रयोग गरेर निवेदनहरु दिनुपर्ने पनि आवश्यकता छैन । सूचना अधिकारीका रुपमा सहायक प्रमुख जिल्ला अधिकारीलाई खटाएका छौं । अरु कर्मचारीहरुलाई पनि हामीले कुनै पनि सेवाग्राहीलाई सरल र सहज तरिकाले समन्वय गरिदिनुपर्छ भनेका छौं । नमिल्ने कुरा आएको छ भने यसरी मिल्दैन, यो कागज मिलाएर ल्याउनुहोस् भनेर भन्न हामीले निर्देशन दिएका छौं । जिल्ला मातहतमा इलाका प्रशासनतिर कार्यालय छ हाम्रो चैनपुरमा त्यहाँ पनि हामीले यही किसिमका निर्देशन दिएका छौं । जिल्लाका अरु कार्यलयको हकमा कार्यलय प्रमुखको मिटिङमा सेवाप्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउने, ढिला-सुस्ती हुन नपाउने प्रबन्ध मिलाउन भनिरहेका हुन्छौं निर्देशन दिइरहेका हुन्छौं । हामी अनुगमन पनि गरिरहेका हुन्छौं । सुशासन, ऐन-नियम नियमावलीबमोजिम रिपोर्टहरु तयार गर्ने, कार्यालयहरुको निरीक्षण गर्ने, कमजोर विषयलाई फिडब्याक दिएर सुधार गर्ने, सूचना अधिकारीहरुको बैठक नियमित बस्नेलयायत पारदर्शी र सुशासन कायम गर्न हाम्रो ऐन-नियमले तोकेका जति पनि प्रक्रिया छन् तिनलाई हामीले कार्यान्वयन गरेका छौं । आफ्नो कार्यालयमा पनि हामीले कार्यान्वयन गरेका छौं । सेवाग्राहीको गुनासोलाई पनि हामीले सहज रुपमा लिएका छौं । गुनासो आएको खण्डमा सम्बन्धित कार्यालयमा पुगेर गुनासो फर्स्योट गर्ने गर्छौं । यिनै कुराले हामीले सेवाप्रवाहलाई व्यवस्थित नै बनाइहेको अवस्था छ । सेवाप्रवाहका क्रममा महसुस हुने गरी त्यस्तो ठूलो अप्ठ्यारो छैन ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
कुन कुराले आकर्षित गर्‍यो थाहा नै नपाइ म यस क्षेत्रमा छिरिसकेको हुँ । २०४४ सालदेखि म यस क्षेत्रमा प्रवेश गरेको हो । त्यतिबेला क्याम्पस पढ्दै थियौं अरु विकल्प नै थिएन हामीसँग । लोकसेवा खुल्छ जागिर खानुपर्छ आफैँ कमाएर मात्र क्याम्पस पढ्न सकिन्छ भन्ने हामीलाई थाहा थियो । दैनिकी गुजाराका लागि, क्याम्पस पढ्न, आफ्नो अभिलाषा पूरा गर्न लोकसेवाको परीक्षा दिनुपर्छ, पास गर्नुपर्छ भन्ने कुरा साथीहरुको संगतबाट थाहा भयो । अनि यता लागियो लोकसेवा पास भइयो । सेवा गर्ने कुरा त पछि आएर हामीलाई थाहा भयो । सुरुवात त केही पेसा चाहियो अरु विकल्प नभएकाले यता आइयो । आएपछि यसबारेमा सबैकुरा जानकारी हुँदै गयो ।

‘सेवाग्राहीका आग्रह र अनुरोधलाई हामीले दबाबका रुपमा बुझ्छौं, तर त्यस्तो होइन’

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
पछिल्लो पुस्ता त्यति आकर्षित छ जस्तो लाग्दैन मलाई । केही हदसम्म त छ तर आकर्षणको कारण फरक हुन सक्छ । साँच्चिकै योग्य मानिस आए/आएनन् या अन्तै विकल्प देख्छन् ? अन्तै विकल्प देख्नेहरु लोकसेवामा आउँदैनन् । त्यति हुँदाहुदै पनि स्थायित्वका लागि रोजगारी र भविष्यको सुनिश्चितताका लागि साथ-साथै करिअर डेभलपमेन्ट अवसर देखेर मान्छे आकर्षित हुन्छन् नहुनेचाहिँ होइन । वास्तवमा एकदमै ट्यालेन्ट र आफैँले स्वरोजगारी सिर्जना गर्नसक्ने, अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो क्षमता बिकाउन सक्ने मान्छेको चाहिँ आकर्षण त्यति हुन सकेको छैन । यो कुरा क्रमशः कमजोर हुँदै गएको छ । एकदमै योग्य र क्षमता भएकामा आकर्षणभन्दा विकर्षण भएकै देख्दै छु म । यस्ता व्यक्ति भरसक विकल्प खोज्ने र नभए यतै आउने गरेको पनि अवस्था छ । सबै मान्छे आकर्षित छन् जस्तो त मलाई लाग्दैन ।

फुर्सदमा कस्ता पुस्तक पढ्न रूचाउनुहुन्छ ?
आज भोलि पढाइमा कमजोरी हुन लागेको छ । फुर्सद हुँदा पहिले कहिलेकाहीँ लेख्ने गर्थें । अब सामान्य उपन्यासतिर अलिअलि ध्यान जान्छ । अरु धेरै कुरामा आजभोलि पढाइमा ध्यान कम हुन थालेको छ । फुर्सद हुँदा अलिअलि अध्ययन गर्छु । कतिपय सहित्यकर्मी साथीहरुसँग सम्बन्ध पनि छ । उहाँहरुको पुस्तक पनि कहिलेकाहीँ पाइन्छ र फुर्सद निकालेर पढ्छु ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
यसले निकै ठूलो असर पार्छ । धेरै चाँडो सरुवा हुनु भनेको कहीँ गएर पनि काम गर्न नसक्नु हो । यसमा पदअनुसार पनि हुन्छ । जस्तो अहिले म प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छु यही पदमा धेरै लामो समयसम्म यहीँ बस्नु पनि उचित हुँदैन । एक वर्ष, डेढ वर्ष यो पदका लागि उपयुक्त समय हो । अलि तल्लो पदमा चाहिँ लामै समयसम्म रहँदा पनि त्यसले कार्यसम्पादनमा राम्रो नै गर्छ । छिटो-छिटो सरुवा हुँदा वातावरण बुझ्दा-बुझ्दै समय सकिन्छ कार्यसम्पादन देखाउनै पाइँदैन ।

जिल्लामा चुनावी सरगर्मी बढेको होला, सुरक्षा संयन्त्र परिचालनको तयारी कसरी गरिरहनुभएको छ ?
एकदमै राम्रो छ । हाम्रो ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना’ छ । यसअनुसारै सुरक्षाकर्मी परिचालन गरिएको छ । सबै पालिकामा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धानका सबैले आ-आफ्नो क्षेत्रमा काम सुरु गरिसक्नुभएको छ । सूचना संकलन, अवस्था विश्लेषण मूल्यांकन गरेर आवश्यक परे सुरक्षाकर्मीको खटनपटन र सुरक्षा व्यवस्थालाई प्रभावकारी कुरामा एकदमै तदारुकता र प्रभावकारी रुपमा हामीले काम गरिसकेका छौं । निर्वाचनसम्म यो कायमै रहन्छ । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराएर मतगणनासमेत सकाएर सम्पन्न गराउनेतर्फ सुरक्षाको व्यवस्था चुस्त पारिसकेका छौं ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
हामी अहिले निर्वाचनकेन्द्रित काममा व्यस्त पनि छौं । निर्वाचनको नजिक छौं । कर्मचारी खटनपटन र अरु कुराहरु पनि छन् त्यसकारण व्यस्तता अलि बढेको छ । कुराकानीको अवसर दिनुभएकामा तपाईंलाई पनि धन्यवाद ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले प्रदेश १ को इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानासँग कुराकानी गरेका थियौं । यसपटक पनि प्रदेश १ कै संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडासँग कुराकानी गरेका हौं । आगामी सोमबार अर्थात् जेठ २ गते सोमबार भने हामीले वाग्मती प्रदेशको काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसँग कुराकानी गर्नेछौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

माधवप्रसाद ढुंगाना, प्रजिअ, इलाम – ‘हुने काम हुन्छ, नहुने काम यो कारणले हुँदैन भन्छु’

चिरञ्जीवी राना, प्रजिअ, म्याग्दी – ‘सेवाग्राही आउनेबित्तिकै गुनासो सुनेर समस्या सम्बोधन गर्छौं’

काशीराज दाहाल, प्रजिअ, मोरङ – ‘प्रभावकारी सेवाप्रवाह गर्न कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्व बिर्सिनु हुँदैन’

कृष्णबहादुर शाही, प्रजिअ, रौतहट – ‘गाउँबाट आउने शिक्षितवर्गको पहिलो रोजाइ नै निजामती सेवा’

बाबुराम अर्याल, प्रजिअ, बाजुरा – ‘एकाधबाहेक सबै समस्या समाधान गरेको छु’

प्रतिक्रिया