आइतबार, जेठ ६, २०८१

एन आई सी एशिया बैंकको बित्तीय विवरण सार्वजनिक

नेपालखोज २०७९ कार्तिक ७ गते १७:५०

काठमाडौं । मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एन आई सी एशिया बंैक लिमिटेडले चालू आ.व. २०७९/८० को प्रथम त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैंकले आ.व. २०७९/८० को प्रथम त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम दुई खर्ब ७३ अर्ब १० करोड रुपैयाँ पुर्‍याउन सफल भएको छ ।

साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन तीन खर्ब आठ अर्ब १८ करोड पुर्‍याउन बैंक सफल भएको छ । बैंकले त्रयमासमा खुद मुनाफातर्फ एक अर्ब ७५ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ, जुन वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व-पूँजीमा प्रतिफल २६ दशमलव ५५ प्रतिशत रहेको छ ।

साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी ५९ रुपैयाँ ६२ पैसा आर्जन गर्न बैंक सफल भएको छ । स्व-पूँजीमा प्रतिफल र प्रति सेयर आम्दानी २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई प्रथम त्रयमाससम्ममा शून्य दशमलव ५९ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

बैंकले आ.व. २०७९/८० को प्रथम त्रैमाससम्ममा दुई लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३४ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बंैकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । बैंकले मुलुकभर तीन सय ५९ वटा शाखा कार्यालयहरू, चार सय ७३ वटा एटिएम, एक सय तीन वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।

जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रतिक्रिया