आइतबार, वैशाख १६, २०८१

अवैधरुपमा ओमान आएका घरेलु महिला कामदारका समस्या निकै चुनौतिपूर्ण

तारा वाग्ले २०७९ फागुन ६ गते १०:३२

श्रमिक उद्दार, मानवतस्करी लगायत अत्यावश्यक कामका लागि सातै दिन चौबीसै घण्टा उठ्ने गरी चारवटा मोवाइल फोन सार्वजनिक गरिएको छ। कुनै गुनासो भयो, फोन उठेन भने गुनासो सुन्ने अधिकृत तथा प्रवक्ता तोकी मोवाइल फोन सार्वजनिक गरिएको छ र सो गर्दा पनि कुनै फोनहरू लागेन, कुनै गुनासो छ वा राजदूतलाई नै खबर गर्नु पर्ने गम्भिर विषय भएमा वेबसाइटमा राजदूतको मोवाइल नम्बर नै सार्वजनिक गरिएको छ। यस नियोगबाट रेस्पोन्स भएन, फोन उठेन, हाम्रो सेवा र काम प्रति गुनासो सायदै पाइनेछ। श्रमिक चेतना सम्बन्धी महत्वपूर्ण जानकारी नियमितरुपमा विशेष गरी फेसबुक पेज र वेबसाइटबाट दिने गरिएको छ ।

नेपाल र ओमनबीच श्रम तथा रोजगार, पर्यटन आर्थिक कूटनीति लगायतको क्षेत्रमा कस्तो सम्बन्ध रहेको छ ?

नेपाल र ओमानबीच जनवरी २१, १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। दुबै देशबीच सुमधुर र प्रगाढ सम्बन्ध रहेकोछ। नेपालले ओमानमा सेप्टेम्बर १, २०१३ मा कार्यवाहक राजदूतस्तरमा राजदूतावास खोलेको थियो। त्यसपूर्व साउदी अरबस्थित नेपाली राजदूतावास ओमानको लागि पनि सहप्रमाणीकरण भएको थियो। पछि नेपाली राजदूतको नियुक्तिसँगै सन् २०१७ मा राजदूतस्तरमा अपग्रेड गरिएको थियो।नेपाल र ओमानले कैयौं अन्तर्राष्ट्रिय मामिलाहरूमा साझा धारणा राख्छन्। दुबै देश संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन लगायत विभिन्न अन्तर्राष्ट्रिय संगठनहरूका सदस्यहरू रहेका छन् र दुबै मुलुकहरूबीच प्रचुर मात्रामा प्राकृतिक श्रोतहरू छन्। पर्यटन, लगानी, व्यापार लगायतका क्षेत्रहरूमा प्रशस्त अवसरहरू छन्।

राजदूतावासले सरोकारवाला निकाय तथा व्यक्तिसँग कसरी सहकार्य गरिरहेको छ ?

ओमानमा रहेका सबै स्थानीय संघ संस्था र राजदूतावास राम्रोसँग मिलेर काम गरेको अवस्था छ। नेपाली संघ सस्थाका प्रतिनिधिहरू समेत राखेर एक विकास कूटनीति सम्बन्धि स्थायी समिति गठन गरिएकोछ। सबै संघ संस्था र राजदूतावास मिलेर चाडवाड मनाउने, वाकाथन आयोजना गर्ने, श्रमिक सचेतना सम्बन्धी कार्यक्रम गर्ने, आर्थिक कूटनीति लगायतका कार्यहरू गरेका छौं। नेपाली संघ सस्थाहरूसँगको सहकार्य, साथ र सहयोग ओमानमा उदाहरणीय छ। विकास कूटनीति सम्बन्धी समितिको निर्णयानुसार यथासक्य बढी संचारकर्मी, ब्लगरलाई फाम ट्रिपमा नेपाल पठाउने, त्यसको लागि एक नेपाली संस्थाले एक हवाई टिकट व्यवस्था गर्ने, नेपालका पर्यटकीय सौन्दर्यता झल्किने पेन्टिङ्गहरू यहाँका महत्वपूर्ण सरकारी तथा अन्य निकायहरूमा उपहारको रुपमा दिई सबैले देख्न सकिने ठाउँमा राख्न अनुरोध गर्ने र त्यसको लागि यस आर्थिक बर्षमा सबै नेपाली संघ संस्थाहरूको तर्फबाट एक एक वटा समेत गरी करिब ३० वटा पेन्टिङ्गको व्यवस्था गर्ने, नियमित इभेन्टको रुपमा सगरमाथा दिवस र ओमानको राष्ट्रिय दिवसको अवसरमा नेपाली बाजागाजा र सांस्कृतिक कार्यक्रम तथा विभिन्न नेपाली भेषभुसासहित वाकाथन आयोजना गर्ने कार्यक्रमको शुरूवात गरिएको छ।

राजदूतावासले हालै पञ्चे बाजाको व्यवस्था गरेको छ। नेपाल पर्यटन वोर्डको सहयोगमा दुईवटा महत्वपूर्ण राष्ट्रियस्तरका पत्रिकाका पत्रकारहरू यही १७ फेब्रुअरीमा एक हप्ताको लागि नेपाल जानु भएको छ। अरु दुई टोली पठाउनको लागि अन्तिम तयारी भइरहेको छ। यस आर्थिक बर्षमा दुईवटा व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रम गर्न तयारी गरी रहेका छौं। राहदानीको निःशुल्करुपमा फाराम भरी सहयोग गर्न स्वयम् सेवक तोकिएको छ र स्वयम् सेवकको सहयोग लिन नसक्ने र फाराम भर्न नजान्नेहरूलाई राजदूतावासले आफै गरी दिने गरेकोछ। अरु अलपत्र परेका नागरिकहरूको उद्दार, राहदानी, कन्सुलर, मागपत्र प्रमाणित लगायतका कामहरू नियमित रुपमा हुन्छन नै।

कुनै नयाँ योजना पनि छन् ?

कूटनीतिक सम्बन्ध अझ प्रगाढ र फराकिलो बनाउने, पाइपलाइनमा भएका सम्झौताहरूलाई अन्तिमरुप दिने आदि कुराहरू जोसुकै यो पदमा आए पनि निरन्तरता दिनु पर्ने हुन्छ। पूर्वजहरूले गर्नु भएको काममा इटा थप्दै जाने हो। अन्य सेवा प्रवाह सम्बन्धी विषयहरू, विकास कूटनीतिका विभिन्न आयमहरू जस्तै, पर्यटन, व्यापार, लगानी, वैदेशिक रोजगारी, संस्कृति, सार्वजनिक कूटनीति प्रवर्द्धन गर्ने आदि विषयहरू र सहयोगका क्षेत्रहरू विस्तार गर्ने लगायतको विषयमा मैले संसदीय सुनुवाई समितिमा पेश गरेको कार्ययोजना समेतको आधारमा राजदूतावासले थप कार्ययोजना बनाएको छ। मैले संसदीय सुनुवाई समितिमा बाचा गरेअनुसार मैले पेश गरेको कार्ययोजना राजदूतावासको वेबसाइट मार्फत सार्वजनिक नै गरेको छु।

ओमानमा रहेका नेपाली श्रमिकका समस्या कस्ता खालका छन् ? समस्याको सम्बोधन गर्ने क्रममा के कस्ता चुनौति आएका छन् ?

ओमानको हकमा विशेष गरी श्रम स्वीकृति लिएर र विज्ञापन गर्दा तोकिएको तलब र भत्ता पाउने गरी करारमा हस्ताक्षर गरेर आउनेहरूको हकमा कम समस्याहरू छन्। विशेष गरी अवैधरुपमा विभिन्न बाटोबाट आउनु भएका घरेलु महिला कामदारहरूका समस्याहरू निकै चुनौतिपूर्ण रहेका छन्। यसरी श्रम स्वीकृति नलिई अवैध रुपमा आउने कामदारहरूको हकमा वैदेशिक रोजगार वोर्डबाट समस्यामा परेको बखत आर्थिक सहयोग प्राप्त नहुने, बीमाको व्यवस्था नहुने, पढाइलेखाइका कारण समेतले करारका सर्तहरू थाहा नहुने, घरेलु कामदार उपलब्ध गराउने एजेन्सीले स्पोन्सरबाट वैध रूपमा बिल काटेरै ठूलो रकम लिने कुराको जानकारी नहुने, कारवाहीको लागि कुनै प्रमाणहरू नहुने हालको अवस्था छ।

शुरूमा गाउँबाट कामदार खोज्नेदेखि सबै चरणमा संलग्न हुने व्यक्ति वा एजेन्टहरूले रकम असुल्ने र आखिरी मर्कामा घरेलु कामदारहरू पर्ने गरेका हुन्छन्। किन घरेलु कामदारको रूपमा विदेश जान सिफारिस गरेको छ वा सुझाव दिएको छ, भन्ने भित्री रहस्य उहाँहरूलाई थाहा नै हुँदैन। अतः यथार्थ जानकारी नहुनु नै सबैभन्दा ठूलो समस्या हो। आफू जानुपूर्व सोही देशमा गएका तीन चार जनालाई सोधियो वा एक पटक फोन गरेर नेपाली राजदूतावासमा वा वैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार बोर्डको सचिवालयमा सोधियो भने मात्र पनि धेरै समस्याको समाधान हुने थियो ।

यसको यथार्थ जानकारी वडावडा गाउँ गाउँसम्म पुर्‍याएर सचेतना जगाउन अत्यावश्यक देखिन्छ। पैसाको लोभमा आफ्नै नातेदार, छिमेकीले समेत ललाई फकाई घरेलु कामदारको रूपमा अवैध रुपमा विदेश पठाउने गरेको पाइएकोछ। यसरी नेपाल सरकारको नीतिको बर्खिलाप गरेर र गलत आश्वासन दिएर मानव तस्करिमा संलग्न हुनेहरूलाई हदैसम्मको कानूनी कारवाही गरिनु पर्छ। त्यस्तै राजदूतावासका लागि अर्को चुनौति भनेको कुनै नेपाली नागरिक अलपत्र परी तत्काल उद्दार तथा उपचार गर्नुपर्ने अवस्थामा राजदूतावासको छुट्टै उद्दार कोष वा यथेष्ट बजेट नहुनु र कर्मचारीको संख्या कम हुनु हो।

सुधारका अन्य उपाय ?

दुबै मुलकहरूबीच विभिन्न उच्चस्तरीय भ्रमणहरू सम्पन्न भएका छन्। दुई देश बीच द्विपक्षीय परामर्श संयन्त्र गठन भएकोछ। त्यस्तै कूटनीतिक, विशेष र सर्भिस राहदानीमा भिसा छूट सम्बन्धी समझदारीपत्र, हवाइ सेवा सम्बन्धी समझदारीपत्र, नेपालको उद्योग वाणिज्य महासंघ र ओमानको उद्योग बाणिज्य महासंघबीच समझदारीपत्रमा हस्ताक्षर भएकोछ। दुई देशबीच श्रम सम्झौता र पर्यटन सहयोग सम्बन्धी सम्झौता छलफलको अन्तिम क्रममा छन्। कूटनीतिक सम्वन्धलाई थप उचाइमा पुर्याउन गरिने प्रयासहरू सधै निरन्तर हुन्छन्, कहिल्यै पर्याप्त भए भन्ने हुँदैन। दुबै देशहरूमा प्रचुर अवसरहरू छन् र ती अवसरहरूलाई नेपालको अधिकतम हितमा उपयोगमा ल्याउन अविछिन्न रुपमा पहल गर्दै जानु पर्दछ र हामी त्यतै तर्फ दृढताका साथ अग्रसर छौं।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया