आइतबार, जेठ ६, २०८१

चलचित्रमै व्यस्त छन् रङ्गकर्मी

नेपालखोज २०८० वैशाख ७ गते ८:५२

काठमाडौं । रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूची लामै छ । अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपिन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धि तामाङलगायत रङ्गमञ्चमार्फत चलचित्रमा स्थापित भएका केही प्रतिनिधि नाम मात्र हुन् । लेखिएको भूमिकालाई न्याय गर्ने कलाकारको खोजी हुँदा प्रायः लेखक र निर्देशक रङ्गमञ्च धाउने गरेका छन् ।

अहिले सानो भूमिकादेखि शीर्ष भूमिकासम्म उनीहरूको उपस्थिति छ । यद्यपि चलचित्रमा स्थापित भएका रङ्गकर्मी रङ्गमञ्चमा कमै फर्किने गरेका छन् । चलचित्रको व्यस्तताले उनीहरूलाई फर्किन सहजता दिएको छैन । कतिपय अवस्थामा कलामाथि व्यापार पनि हावी भएको छ । ‘नाटकलाई समय दिनुपर्छ । अभ्यास र मञ्चन गरेर झन्डै दुईदेखि तीन महिनासम्म समय लाग्छ । त्यही कारण पनि धेरैलाई समय मिलाउन सहज नभएको हुन् सक्छ’, अभिनेता महेश त्रिपाठीले भने, ‘म भने समय मिलाएर नाटकमा अभिनय गरिरहेको हुन्छु । किनकि त्यहाँ आफूलाई महसुस गर्न पाउँछु ।’

अभिनेता त्रिपाठीले शीर्ष भूमिका निर्वाह गर्नुभएको चलचित्र ‘हल्कारा’ वैशाखको अन्तिम साता प्रदर्शन हुँदैछ । उनले यो चलचित्र रङ्गमञ्चकै कारण पाएका छन् । चलचित्रमा गाउँगाउँ पुगेर चिठी बाँड्ने पात्रलाई निर्वाह गर्ने अनुहार रङ्गमञ्चमा पाइने विश्वासले निर्देशक विक्रम सापकोटाले अडिसन गरेर अभिनेता त्रिपाठीलाई चयन गरेका थिए। अभिनेता निर्देशकसमेत रहेका रङ्गकर्मी अनुप बरालको निर्देशनमा ‘एउटा सपनाको अवसान’ मञ्चन भइरहेको छ । यो नाटक २५ वर्षअघि नयाँ दिल्लीको नेशनल स्कुल अफ ड्रामा (एनएसडी)मा विद्यार्थी हुँदा पढेर रङ्गमञ्चमा प्रस्तुत गर्ने उनको योजना बल्ल सफल भयो ।

रुचि र नाटकको कथा मिलेपछि एनएसडीबाट फर्केलगत्तै मञ्चन गर्न चाहे पनि लगानकर्ताको अभावकै कारण उनले गोविन प्रोडक्सनले निर्माणको अभिभारा लिएपछि नाटक मञ्चन गरेका हुन्। व्यावसायिक पाटोभन्दा कला महत्त्वपूर्ण हुने भएकाले स्थापित र विस्थापितको लहर चलिरहेको रङ्गकर्मीको भनाइ छ । रङ्गकर्मी भोलाराज सापकोटा नाटकलाई कलाले मात्र जीवित राखेको बताउछन् । ‘रङ्गकर्मी गरिरहेकालाई यसैबाट जीविकोपार्जन गर्न सहज छैन । अहिले चलचित्रमा महँगो अभिनेतामा पर्ने केहीले यहीँबाट सुरूआत नगरेको भने होइनन् । तर यो अभिनय बुझ्ने र सिक्ने मञ्चमात्र बनिरहेको छ’, रङ्गकर्मी सापकोटाले भने । पछिल्लो समय नाम चलेका कलाकार रङ्गमञ्चभन्दा पनि चलचित्रमा व्यस्त छन् ।

आर्थिक पक्षलाई सवाल बनाउन भए पनि चलचित्रमा काम गर्नेक्रम बढेको छ । चलचित्र अभिनेताका रूपमा स्थापित भएका अभिनेता कार्म रङ्गमञ्चलाई समय छुट्याउछन् । उनले भने, ‘चलचित्रमा धेरै व्यावसायिक पाटो हुन्छन् । रङ्गमञ्चमा भने कला मात्र केन्द्रित हुन्छ । त्यसैले मभित्र कलाकारलाई जीवित राख्न रङ्गमञ्चमार्फत प्रस्तुत हुन्छु ।’ रङ्गमञ्चमार्फत कलाकारिता सुरू गरेका अनुहार चलचित्रमा मात्र देखिनु दुःखद् रहेको अभिनेता कमलमणि नेपालले बताए । ‘रङ्गमञ्चमार्फत मेरो जीविका चल्थ्यो भने सायद म त्यहीँ हुन्थे । तर हामीकहाँ नाटक हेर्ने संस्कार निकै कम छ । यहाँ मात्र नभई विदेशमा कमै सङ्ख्यामा नाटक जाने गर्छ । यस्तै कारणले रङ्गकर्मी चलचित्रमा बढी व्यस्त हुनुहुन्छ होला’, अभिनेता नेपालले भने, ‘अन्य रङ्गकर्मीसँगै म पनि नाटकमा फर्किन ढिलाइ गर्न हुँदैन । हामीले आफ्नो उपस्थिति रङ्गमञ्चमा पनि राख्नुपर्छ । चलचित्रमा मात्र केन्द्रित भएर रङ्गमञ्च भुल्याँै भने कलाकारिता पनि जीवित रहन सक्दैन ।’

आर्थिक हिसाबले समृद्ध भएका रङ्गकर्मी वर्षका एक/दुई पटक रङ्गमञ्चमा देखिए टेवा पुग्ने विश्वास उनको छ । नेपालमा रङ्गमञ्च शिक्षालाई विद्यालय तहबाट नै जोड्नुपर्ने चर्चा पनि बेलाबखतमा हुने गरेका छन् । रङ्गकर्मी अनुप बरालले सरकारले रङ्गमञ्चलाई अगाडि बढाउन सरकारी सहयोग चाहिने बताए। ‘विदेशी नाट्यकर्मी भेट्दा उहाँहरू अचम्मित भएको पाउँछु । हामीले नेपालमा सरकारी सहयोगविना नै नाटक घर बनाएका छौँ । नाटक मञ्चन गरिरहेका छौँ । एक जना विदेशी नाट्यकर्मीले यी सब देखेर अब म पनि नाटकघर बनाउँछु भन्नुभएको थियो’, रङ्गकर्मी बरालले भने। रङ्गमञ्चमा आफ्नो कला देखाएर चलचित्रसम्मको यात्रा तय गरेका रङ्गकर्मीलाई रङ्गमञ्चमै अहिले विरलै देख्न पाइन्छ ।

प्रतिक्रिया