आइतबार, जेठ ६, २०८१

फिल्मको क्रेज असी नब्बेको दशकको

सुनिल उलक २०८० वैशाख २६ गते ७:५९

काठमाडौं । एउटा समय त्यो पनि थियो, फिल्म हलको टिकट काउन्टरको सानो झ्यालमा हात पुर्याउनका लागि घण्टौँ लाम बस्न पर्दथ्यो । कहिले काहीँ भिडले लाइन होइन धक्कम धक्का रोज्दथ्यो ।

एकले अर्कोलाई घचेट्दै काउन्टरको झ्याल सम्म पुग्न एक अर्कोलाई धकेल्न थाल्दथ्यो । कोही बाठो भिडको कुम चढ्दै काउन्टर सामु पुग्दथ्यो । टिकट हातमा बोकेर आउन सक्ने फिल्म कै हिरो झैँ शान देखाउँथ्यो ।

कोही सम्पन्न गोजी भरि पैसा भएकाहरू गेटको छेउमा उभ्भिएर ब्लाकियालाई इशारा गर्दथ्यो । १० को टिकट ५० तिरेर तुरुन्तै प्राप्त गर्दथ्यो र भिडको धक्कम धक्का हेरेर आनन्द लिन्थ्यो ।

पहिलो दिनको पहिलो सो हेर्ने रहर होस वा शनिवारको सो मा धक्का खाने पुग्नेहरू होस । फिल्मको क्रेज एकदम धेरै हुन्थ्यो । अझ भारतीय सीमा नजिकै बस्नेहरूको शनिवारको दिनचर्या भारतीय फिल्म हलमा फिल्म हेर्ने हुन्थ्यो ।

बुटवल, भैरहवा बस्नेहरू नौटनवा मात्र होइन फिल्म हेर्न गोरखपुर सम्म पनि पुग्दथे । वीरगन्ज, कलैया बस्नेहरू रक्सौल पुग्दथे । त्यस्तै सिलिगुडी, जोगबनी, मधुबनी, सीतामढी, रुपडिया आदि सिमामा वा सीमा नजिकै रहेका भारतीय सहरहरूमा पुग्दथे ।

कतिलाई ती दिनका मिठा नमिठा सम्झनाहरू होलान् । कतिका फिल्म हलकै कारणले प्रेम बसेर विवाह पनि भए होलान् ।

चलचित्रको क्रेज भनेको एउटा fantasy हो । मध्यम वर्ग र निम्न वर्गका मानिसहरूलाई प्रमुख लक्ष राखेर काल्पनिक उडानमा लाने र आफूलाई चलचित्रका नायक वा नायिकाको कल्पना गर्दै तीन घण्टा बिताउन नै चलचित्रको निर्माण गरिएको हुन्छ । चलचित्र सुपर हिट हुनु वा नहुनुको पछाडि यही वर्गले रुचाइनु र नरुचाइनुमा निर्भर गर्दछ ।

भारतीय चलचित्र अचेल दक्षिण भारतीय चलचित्रका बजारले बिस्तारै ओगट्न थालेको छ । दक्षिण भारतीय चलचित्रमा हुने अस्वाभाविक ढिसुम ढासुम नै दर्शकको सबैभन्दा मन पर्ने fantasy हुन पुगेको छ । अचेल कथानक slow movie हरू खासै रुचाइँदैनन् ।

फिल्म हलमा गएर चलचित्र हेर्नेहरूको सङ्ख्या निकै कम भइसक्यो । क्युएफएक्स (QFX ) मा केही दर्शक केही दिनका लागि हुन्छन् । युट्युबमा चलचित्र हेर्नेहरूको सङ्ख्या बढिसक्यो । अब त टिकटका लागि हलमा लाइन बस्न र धक्कम धक्का खाने त एकादेशको कथा भइसक्यो ।

प्रतिक्रिया